मानिसको जीवनमा दुःख छ । अभाव छ । समस्या छ । त्यसमा पनि दक्षिण एसियामा जन्मनु दुःख र अभाव बोकेर जन्मिनु हो । अझ महिला भएर गरिब देशमा जन्मनु भनेको दुःखैदुःखको भारी बोकेर दौडन खोज्नु नै हो । आर्थिक रूपमा कमजोर हुँदा मानसिक र शारीरिक रूपमा विक्षिप्त हुनुको विकल्प छैन ।
सिङ्गो देश रेमिट्यान्स बढेकोमा मख्ख छ । शासकहरू बढेको रेमिट्यान्समा अर्थतन्त्र उकास्ने दिवासपनामा मग्न छन् । तर, देशका युवा शक्ति दिनप्रतिदिन विदेशिने मात्र होइन, विदेशमा पुगेर थप विक्षिप्त र असुरक्षित बन्ने गरेका छन् । हरेक दिन सयौँ नेपाली विदेशिन्छन् र हरेक दिन तीनभन्दा बढी युवा काठको बाकसमा बन्द भएर स्वदेश फर्किरहेका छन् । यस्तो टिढलाग्दो अवस्थामा पनि देशको सत्ता हातमा लिएकाहरूले विदेशिनुपर्ने नेपालीको बाध्यतालाई सम्बोधन गर्न सकिरहेका छैनन् ।
यी र यस्तै बाध्यता र समस्याको कथा हो ‘ओइली झरेछ सयपत्री’ । सयपत्री फूलहरूमा विशिष्ट हो । यसभित्रका सयौँपत्रले सयौँ सम्भावना र सपनाको कुरा गर्छ । बालक गुरुङको उपन्यास ओइली झरेछ सयपत्रीले पनि नेपाली युवा मनस्थितिका सयौँ पत्रको कुरा गरेको छ । युवा मानसिकता र अभावले थपेको विविध समस्यालाई उपन्यासमा सरल र सहज रूपमा राखिएको छ ।
घरेलु कामदारका रूपमा खाडी मुलुक पुगेका नेपाली नारीहरूको दुर्दान्त जीवनकथामा आधारित यस उपन्यासमा जीवनको दुःखद् र पीडादायी घटनाहरूलाई समेटेको छ । मानिसले भोग्ने दुःखको सीमान्त क्षणहरू यसमा उल्लेख छ । बालक आफैँ रोजगारीका लागि खाडी मुलुक पुगेका मानिस हुन् । यस मानेमा उनले त्यहाँको नेपालीको जीवन र नेपालीका पीडालाई नजिकबाट नियालेका छन् । रोजगारीका लागि खाडी मुलुकमा रहँदा उनी प्रवासी नेपालीको हकहितका निम्ति क्रियाशील रहेका थिए । यसकारणले पनि त्यहाँका नेपालीको पीडा र समस्या उनले राम्ररी अध्ययन गर्न पाए । आफूले भोगेका, देखेका र सुनेका कुरालाई उनले कथानक रूपमा उपन्यासमा प्रस्तुत गरेका छन् । उपन्यासमा वैदेशिक रोजगारीका अप्ठ्यारा पाटाहरूलाई सहज रूपमा उतारिएको छ ।
थाहा छैन बालक कुन स्तरका लेखक हुन् । तर, उनी मानवीय संवेदनालाई उन्न खप्पिस छन् । उनी प्रतिबद्ध लेखक हुन् कि होइनन् त्यो पनि थाहा छैन । तर, उनी जीवनवादी लेखक हुन् । मानिसका दुःखहरू कम हुनुपर्छ भनेर सोच्ने लेखक हुन् र लेखेर थोरै भए पनि समाज र मान्छेको पक्षमा वकालत गर्नुपर्छ भन्ने चेतनाले भरिएका लेखक हुन् । चलनचल्तीमा आउन सस्तो र सामान्य कुरा लेख्ने लेखकहरूभन्दा पक्कै पनि उनी भिन्न छन् । मिडियाको आँखामा उनी नपर्न पनि सक्छन् । किनभने मिडियाले सधैँ चर्चा र सस्तो लोकप्रियता मात्र खोज्छ । बालक सस्तो लोकप्रियताका लागि लेख्ने लेखक भने पक्कै पनि होइनन् । उनले आफूले भोगेका नेपाली नारीको पीडालाई लेखेका छन् । यो सस्तो विषय होइन । गम्भीर विषय हो । देशले र देशका शासकहरूले सोच्नुपर्ने विषय हो । विदेशिने नेपालीले भोगेका पीडा र अप्ठ्यारालाई कथानक रूपमा प्रस्तुत गर्नु चानचुने कुरा होइन ।
जिन्दगीको लामो समय बालकले खाडी मुलुकमा नै बिताए । त्यहाँ उनले हरेक महिना पैसा मात्र थापेनन्, नेपालीका दुःख र पीडाहरूलाई पनि देखे, भोगे र आफूले सकेजति सरसहयोग गरे पनि । यसले उनीभित्रको संवेदनशील लेखकलाई जगाइदियो । अनि उनले लेखे ओइली झरेछ सयपत्री । यो नेपाली नारीहरूको पीडाको ज्वलन्त तस्बिर हो । यसभित्र रहेका प्रमुख पात्रहरू पूर्णिमा, सरु र शर्मिलाको जीवन सामान्य मानिसले कल्पना गरेभन्दा बेग्लै छ । विदेशिनु र शारीरिक, मानसिक यातना पनि भोग्नु कम मर्मस्पर्शी छैन । कम दुःखदायी छैन । मानिसको जीवनको रक्षा र सम्मान सबैको खोजी र चाहना हो । तर, त्यही जीवन पनि जोखिममा पर्दा र अपमानित भएर बाँच्दा कस्तो हुन्छ लेखकले अनुभूत गरेका छन् र त्यही अनुभूतिलाई उपन्यासमा पोखेका छन् ।
उपन्यास ओइली झरेछ सयपत्रीमा नेपाली नारीहरू खाडी मुलुकमा कुन स्तरमा छन् । र, कस्तो मनोदशामा छन् भन्ने प्रस्टसँग उल्लेख छ । यो नेपाली शासकहरूले र नीतिनिर्माण तहमा रहेकाहरूले पढ्नैपर्ने उपन्यास हो । विदेशिन चाहने हरेक नेपालीले पढ्नैपर्ने उपन्यास हो । यस उपन्यासले विदेशको पीडा र त्यहाँ हुने घटनाक्रमलाई देखाएको छ । यो सन्देशमूलक उपन्यास पनि हो । विदेशिने क्रममा हतारिनुहुँदैन र विदेश गए पनि आफ्नो अवस्था र भूमिकालाई गम्भीर रूपमा बुझ्नुपर्छ भन्ने कुरा उपन्यासमा समेटिएको छ ।
उपन्यासको विषय संवेदनशील छ । गम्भीर छ । पात्रहरूको संवाद र मनोदशा दुःखदायी छ । तर, लेखकले भाषा र प्रस्तुति अझ सुन्दर बनाउन सक्ने ठाउँहरू प्रशस्तै थिए । राम्रो र क्षमताशील लेखकबाट यो उपन्यास सम्पादन गरिएको भए अझ विशिष्ट बन्न सक्थ्यो भन्ने मेरो ठम्याइ छ । उपन्यासलेखनका क्रममा बालक हतारिएका छन् । र, उपन्यास कतिखेर सकिएलाझैँ गरेर दौडिएका छन् । यो गम्भीर विषयमा लेखिएको उपन्यास भएकाले यसको सम्पादन हुनैपथ्र्यो । हो, सम्पादन भएको भए यसको आकार केही घट्थ्यो होला । तर, अझ गहन र ओजपूर्ण हुन्थ्यो भन्ने मलाई लाग्छ ।
तर, आमपाठकले यो कुरालाई अनुभूत गर्ने छैनन् । आमपाठकले उपन्यासमा दुःख भेट्ने छ । मानिसका सपना र आर्थिक अभावमा सपना देख्न बर्जित आँखाहरू मात्र देख्नेछ । सपना देख्न पनि नपाएर विदेशिएका नेपाली नारीको दर्दनाक कहानी मात्र पढ्ने छ । आमपाठकका लागि यो आँसु ल्याउने उपन्यास हो । यस मानेमा लेखक बालक सफल भएका छन् । दुःखको चित्रण हुबहु भएको छ ।
प्रतिक्रिया