तीन करोडको लागतमा फेवातालजस्तै कृत्रिम ताल निर्माण गरिने

तीन करोडको लागतमा फेवातालजस्तै कृत्रिम ताल निर्माण गरिने


तनहुँ घिरिङमा तीन करोड रुपैयाँको लागतमा कृत्रिम तालको निर्माण गरिने भएको छ ।

पचास रोपनी क्षेत्रफलमा निर्माण हुने सो तालका लागि आवश्यक जग्गा अधिग्रहण गरिनेछ । घुमाउने ताल नामकरण गरिएको सो तालका बीचमा मन्दिर बनाउने योजनासमेत बनाइएको छ ।

सो ताल निर्माणका लागि घिरिङ गाउँपालिकाले चालू आर्थिक वर्षमा रु ३० लाख बजेट विनियोजन गरेको छ । गाउँपालिका एक्लैको बजेटले ताल निर्माण पूरा नहुने भएकाले प्रदेश र संघीय सरकारसँग आर्थिक सहयोग गर्न अनुरोध गरिएको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले बताए । उनले कृत्रिम ताल निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) समेत तयार भइसकेको जानकारी दिए ।

‘घिरिङलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित कृत्रिम तालको अवधारणा ल्याइएको छ,’ अध्यक्ष रानाले भने, ‘ताल निर्माण शुरु भएको तीन वर्षभित्र सक्ने लक्ष्य राखिएको छ ।’

अध्यक्ष रानाले भने, ‘डुंगा चढेर तालको बीचमा रहने मन्दिरमा सर्वसाधारणले दर्शन गर्न सक्नेछन् । उक्त ताललाई पोखराको फेवातालजस्तै गरी विकास गरिनेछ ।’ ताल वरपरका क्षेत्रमा रेस्टुराँ, पिकनिकस्थलसमेत सञ्चालन गर्ने योजना बनाइएको उनको भनाइ छ ।

पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले वडा नं ३ मा गोफाखोला थुनेर बनाउन लागेको कृत्रिम तालको शुक्रबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले स्थलगत अवलोकन गरे ।

सो अवसरमा मन्त्री लम्सालले गण्डकी प्रदेश पर्यटनमा उत्कृष्ट प्रदेश रहेको भन्दै स्थानीय तहले पर्यटन प्रवद्र्धनका लागि चाल्ने हरेक गतिविधिमा प्रदेश सरकारको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, ‘पर्यटनबाटै प्रदेशलाई समृद्ध बनाउने सरकारको योजना छ, हरेक स्थानीय तहले यो लक्ष्यलाई पूरा गराउन सहयोग गर्नुपर्छ ।’