दमौलीमा पाँच करोडमा पार्क बन्दै

दमौलीमा पाँच करोडमा पार्क बन्दै


तनहुँको सदरमुकाम दमौलीस्थित खुला मैदानमा रु. पाँच करोडको लागतमा पार्क निर्माण गरिने भएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित व्यास नगरपालिकाले वडा नं. ३ स्थित खुला मैदानमा पार्क निर्माण गर्न लागेको हो । काठमाडौंस्थित जिओ कन्सर्न प्रालिले पार्कको नमुना तयार गरेको छ ।

यसअघि फुटबल मैदानका रूपमा रहेको व्यास नगरपालिका वडा नं. ३ को उक्त ठाउँलाई नगरपालिकाले पार्कको रूपमा विकास गर्न लागेको वडा नं. ३ का सदस्य रविन पौडेलले जानकारी दिए । उनले भने, ‘नगरपालिकाले जिल्ला प्रशासन कार्यालयअगाडिको मैदानलाई खेलमैदान बनाएर उक्त ठाउँमा पार्क निर्माणको योजना बनाएको हो ।’

पार्क निर्माणका लागि रु. पाँच करोड अनुमान गरिए पनि विस्तृत अध्ययन गर्दा यसको लागत परिवर्तन हुन सक्ने उनले बताए ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले विस्तृत अध्ययन भएपछि पार्क निर्माण गर्ने जानकारी दिँदै भने, ‘यसले समग्र व्यास नगरपालिकाकै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिएका छौँ ।’