आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उदघाटन हुने मुख्य रंगशाला ‘नेपालगञ्ज रंगशाला’मा माघ १८ गतेदेखि दुबो बिछ्याउने कार्य शुभारम्भ भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले निर्माणाधीन रंगशालामा दुबो लगाएर कार्यको शुभारम्भ गरेका हुन् ।
नेपालगञ्ज रंगशालामा दुबो बिछ्याउन उक्त दुबो भारतको कोलकोताको बर्मुडाबाट ल्याएको सदस्यसचिव विष्टले बताए । कोलकोताबाट ६ दिन लगाएर ल्याएको उक्त दुबो माघ १८ गतेदेखि रंगशालामा बिछ्याउन शुरु गरिएको हो । रंगशालामा दुबो लगाउन ३६ लाख खर्च हुने विष्टले बताएका छन् । दुबो लगाएपछि मुख्य रंगशाला नेपालगञ्ज रंगशालाको ९० प्रतिशत काम सकिने विष्टले दाबी गरे ।

नेपालगञ्ज रंगशालामा दुबो बिछ्याउन कार्य शुभारम्भ भएपछि क्षेत्रीय खेलकुद विकास समिति प्रदेश ५ का अध्यक्ष भीम ओलीले निकै उत्साहित भएका छन् । दुबो बिछ्याउन कार्यको थालनी भएपछि आठौँ राष्ट्रिय प्रतियोगिता हुने कुरामा आफू ढुक्क भएको बताए । मुख्य रंगशाला नेपालगञ्ज रंगशाला निर्माणमा भएको ढिलाइका कारण आठौँको बारेमा विभिन्न टिका–टिप्पणी भइरहेको अवस्थामा दुबो बिछ्याउने कार्य प्रतियोगिताको लागि सकारात्मक पक्ष भएको बताए ।
वर्तमान अवस्थामा पनि सरकारले प्रतियोगिता आयोजना र भौतिक पूर्वाधारको निर्माणको लागि बजेट उपलब्ध गराएको छैन । यस्तो अवस्थामा नेपालगञ्ज रंगशालामा दुबो बिछ्याउने कार्यले खेलाडीहरूमा नौलो उत्साह र विश्वास पलाएको छ । सरकारले भौतिक पूर्वाधारलाई कारण बनाउँदै अहिलेसम्म आठौँको मिति तोक्न सकेको छैन । तर, राखेपका सदस्यसचिव केशवकुमार विष्टले आठौँ राष्ट्रिय प्रतियोगिता फागुन २५ गतेदेखि शुरु हुने दाबी गरेका छन् ।
प्रतिक्रिया