युएईसँग नेपाल चार विकेटले विजयी

युएईसँग नेपाल चार विकेटले विजयी


संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको दोस्रो टी–२० क्रिकेटमा नेपाल चार विकेटले विजयी भएको छ । दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस जितेर युएइले ब्याटिङ रोजेको थियो ।

शुक्रबार भएको प्रतियोगितामा युएईले १९ दशमलव दुई ओभरमा सबै विकेट गुमाई १०७ रन बनाएको थियो भने नेपालले १०८ रनको लक्ष्य १९ दशमलव तीन ओभरमै ६ विकेट गुमाएर पूरा गऱ्यो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले विजयी रन बटुलेका थिए । अन्तिम ओभरमा ऐरीले लगातार एक छक्का र एक चौका प्रहार गरे । उनले अविजित ४७ रन जोडे । यस्तै करन केसीले २० तथा पवन सर्राफले १८ रन बनाए ।

बलिङतर्फ युएईका सुलतान अहमदले दुई तथा मोहमद नाभिद, अमिर हयात, इमरान हैदर र जाहुर खानले एक÷एक विकेट लिए ।

यसअघि ब्याटिङ गर्ने क्रममा युएईका लागि सिपी रिजवानले सर्वाधिक ४४ रन जोडे । यस्तै शाईमन अनवरले १४ तथा मोहमद बोताले ११ रन बनाए । युएईका ६ ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

बलिङतर्फ नेपालका लागि अविनाश बोहराले तीन तथा सन्दीप लामिछाने, करण केसी र सोमपाल कामीले दुई/दुई विकेट लिए । तीन खेलको सिरिज १–१ को बराबरी भएको छ । नेपाल पहिलो खेलमा युएईसँग २१ रनले पराजित भएको थियो । सिरिजको अन्तिम खेल आइबार हुनेछ ।