ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते


मकवानपुरको बागमती गाउँपालिका–४ पाँचपाण्डवमा शनिबार साँझ भएको ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

फापरवारीबाट सिन्धुलीतर्फ निर्माण सामग्री लिएर जाँदै गरेको ना६त ४४२ नंको ट्याक्टर दुर्घटनामा अन्य चार जना गम्भीर घाइते भएको स्थानीयवासी निर्मल तिमल्सिनाले जानकारी दिए । दुर्घटनामा सिन्धुली हरिहरपुर गाउँपालिकाका ५० वर्षीय हेमकुमार श्रेष्ठको घटनास्थलमा र सोही स्थानका ५० वर्षीय बखत राईकोे उपचारका लागि हेटौँडातर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते जनकल्याण आधारभूत विद्यालय लमकन्नाकी शिक्षिका शिवमाया मगर, शक्ति राई, मोहन राई , कृष्ण राई र तिलक राईलाई उपचारका लागि हेटौँडा ल्याइएको छ भने उनीहरुको अवस्था गम्भीर रहेको जनाइएको छ ।

निर्माणाधीन धरान–चतरा राजमार्गअन्तर्गत मकवानपुर र सिन्धुली जोड्ने पुलको करीब दुई किलोमिटर नजिकै ट्याक्टर दुर्घटना भएको हो । ट्याक्टर अनियन्त्रित भई पल्टिएको अनुमान गरिएको छ । ट्याक्टर निकाल्न जेसिबी नै प्रयोग गर्नुपर्ने अवस्था रहेको शिक्षिका राईले बताए ।

यस्तै, चितवनमा मिनीबसको ठक्करबाट आज बिहान ६ः१५ बजे एक वृद्धाको मृत्यु भएको छ । पूर्वी चितवनको टाँडीबाट लोथरतर्फ जाँदै गरेको बा३ख २५६५ नंको स्थानीय रुटमा चल्ने मिनीबसले पैदलयात्री राप्ती नगरपालिका–४ डुडुवा चोककी करीब ७५ वर्षीया लीलामाया हुमागाईंलाई ठक्कर दिएको हो ।

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ठक्कर दिने बस प्रहरी निन्त्रणमा रहेको र चालक फरार रहे पनि प्रहरीको सम्पर्कमा रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जानकारी दिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।