माउन्ट ग्लोरीले चौथो नेफ–साइपाल अन्तरविद्यालय सिक्स ए साइड छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको छ । उत्तरभेगीय शैक्षिक मञ्च (नेफ) को आयोजना तथा साइपाल एकेडेमीको प्रायोजनामा भएको प्रतियोगिताको फाइनलमा डिफेन्डिङ च्याम्पियन माउन्ट ग्लोरीले विनायकलाई २–० गोलले हराउँदै उपाधि रक्षा गरेको हो ।
विजेताका प्रितम तामाङ र चन्दन दासले गोल गरे । माउन्ट ग्लोरीका आयुश गुरुङ ‘म्यान अफ द म्याच’ घोषित भए । चाबहिलस्थित गणेशस्थान फुटबल मैदानमा तेसे स्थानका लागि भएको खेलमा हिमरश्मीले नोब्सलाई टाइब्रेकरमा ३–२ गोलले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । माउन्ट ग्लोरीका चन्दन दास उत्कृष्ट खेलाडी तथा हिमरश्मीका ईश्वर गुरुङ उत्कृष्ट गोलरक्षक चुनिए । फ्लोरोसेन्ट ‘इमर्जिङ टिम’ ठहरियो ।
विजेतालाई काठमाडौं प्याब्सनका वरिष्ठ उपाध्यक्ष राम केसी, नेफका अध्यक्ष नारायण रोका, टोखा प्याब्सनका अध्यक्ष टंककुमार चापागाईं, साइपालका प्रिन्सिपल सुमन नगरकोटीलगायतले पुरस्कृत गरे । माघ १० गतेदेखि शुरु प्रतियोगितामा ६४ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
समापनका अवसरमा उत्कृष्ट ३० खेलाडीलाई साइपालले कुल १८ लाख रुपैयाँबराबरको छात्रवृत्ति प्रदान गरेको थियो । जनही ६० हजारका दरले प्लस टु अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिएको हो । प्रिन्सिपल नगरकोटीले सम्बन्धितलाई छात्रवृत्तिको पत्र हस्तान्तरण गरे । त्यस्तै फिलिपिन्समा मार्चमा हुने प्रतियोगिताका लागि २७ खेलाडीको पनि प्रारम्भिक छनोट गरिएको छ । २७ खेलाडीबाट २० खेलाडीको अन्तिम छनोट गरी फिलिपिन्स लाने नेफका अध्यक्ष रोकाले जनाएका छन् ।
प्रतिक्रिया