एक्सेल्सियर कपअन्तर्गत रेडिअन्ट पब्लिकले बास्केटबलमा दोहोरो उपाधि जितेको छ । रेडिअन्ट सिनियर र जुनियर ब्वाइजमा पहिलो भएको हो । सिनियर फाइनलमा रेडिअन्टले एलआरआईलाई ६२–५८ ले पराजित गऱ्यो । रेडिअन्टका स्वयं कार्कीले २४ अंक जोडे । जुनियर फाइनलमा रेडिअन्टले ग्रिनफिल्डलाई ३१–१४ ले हरायो । विजेताका प्रस्तुत पौडेलले १२ स्कोर गरे ।
सिनियर छात्राको उपाधि भिडन्तमा स्वर्णिमले स्किब्सलाई ३५–१८ ले पाखा लगाउँदै उपाधिमाथि कब्जा जमायो । स्वर्णिमकी मोहनी लोप्चनले ८ अंक जोडिन् । सिनियरको ब्वाइजमा रेडिअन्टका स्वयं कार्की र गल्र्समा स्वर्णिमकी मोहनी लोप्चन तथा जुनियर ब्वाइजमा रेडिअन्टका राज रोका ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियरको ब्वाइजमा मोक्सदा र छात्रामा रुपिज तथा जुनियर ब्वाइजमा एभीएमले अनुशासित टिमको ट्रफी हात पारे ।
विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, डीएसपी सुधीरराज शाही, एक्सेल्सियरका प्रबन्ध निर्देशक राम बस्नेत, एक्सेल्सियरकी प्रिन्सिपल शितल राणालगायतले पुरस्कृत गरेका थिए । माघ ९ गतेदेखि सुरु प्रतियोगिताको फुटबलतर्फ सिनियर र जुनियरमा समान १६–१६ टिम सहभागी थिए । बास्केटबलको सिनियर ब्वाइजमा १३ तथा सिनियर छात्रा र जुनियर ब्वाइजमा समान १२–१२ टिमले भाग लिएका थिए ।
प्रतिक्रिया