रामेछाप सिभिल भलिबल च्याम्पियनसिपको चौथो संस्करण माघ २२ गते मंगलबारबाट सुरु हुने भएको छ । आयोजक रामेछाप जिल्ला खेलकुद विकास समितिले हालै पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएको हो ।
माघ २२ गते मंगलबारदेखि शनिबारसम्म रामेछाप सदरमुकाम मन्थलीमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको पनि आयोजकले जनाएको छ । ‘प्रतियोगिताको अन्तिम तयारी भइसकेको छ,’ रामेछाप जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पुरुषोत्तम कडेरियाले भने, ‘प्रतियोगितामा सहभागी हुने टोलीदेखि प्रतियोगिता सञ्चालन गर्ने प्राविधिक र आवश्यक खेलमैदान सबैको तयारी भइसकेको छ ।’
प्रतियोगितामा सात प्रदेश र अन्य पाँच टोली गरी १२ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा सात प्रदेशबाहेक शान्तिदीप युवा क्लब, मन्थली युनाइटेड युवा समाज, लोकतान्त्रिक खेलकुद संघ, नमुनादीप युवा क्लब र प्याराडाइज युथ क्लबको सहभागिता रहनेछ ।
जिल्लाकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताको पुरस्कारमै सात लाख २५ हजार खर्च हुनेछ । जसमध्ये प्रतियोगिताको प्रथम हुने टोलीले तीन लाख, दोस्रो हुने टोलीले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो हुने टोलीले ५० हजार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वाेत्कृष्ट घोषित हुने एक खेलाडीले १५ हजार र विधागततर्फ उत्कृष्ट ठहरिने सर्भर, स्पाइकर, ब्लकर, रक्षक, सेटर र प्रशिक्षकले पनि जनही १० हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा विभागीय टोलीले सहभागिता जनाउन पाउनेछैन, विभागीय टोलीका खेलाडीले अन्य टोलीबाट भने खेल्न पाउनेछन् । यद्यपि एउटा टोलीमा विभागीय टोलीबाट तीनजनाभन्दा बढी खेलाडीले खेल्न पाउनेछैन ।
सहभागी कुनै पनि टोलीले विदेशी वा विभागीय टोलीका खेलाडी अनुबन्ध गर्दा चौथो आरबीबी–एनभीए राष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिप खेलेकोमध्ये चार खेलाडीलाई मात्रै सहभागी गराउन पाउनेछन् । आयोजक रामेछाप जिल्ला खेलकुद विकास समितिले सहभागी टोलीका खेलाडीका लागि यातायातका साथै दैनिक भत्ताको समेत व्यवस्था गरेको छ ।
प्रतिक्रिया