खप्तडको जंगल हिउँले ढाकेपछि जंगली जनावर गाउँ पसे

खप्तडको जंगल हिउँले ढाकेपछि जंगली जनावर गाउँ पसे


सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड राष्ट्रिय निकुञ्जका पूरै जंगल हिउँले ढाकेपछि आहारा र न्यानोका लागि वन्यजन्तु गाउँ पस्न थालेका छन् ।

निकुञ्जसँगै जोडिएका डोटीका झिग्राना, गोलादेउ, भल्मा, बग्लेक, स्वाँणा, मछिन्तोलालगायतका गाउँका बस्तीमा वन्यजन्तु आउन थालेको स्थानीयवासीले बताएका छन् । अहिले यहाँका गाउँमा बँदेल, रतुवा, जरायो, चितुवा, कालिज, डाँफेलगायतका वन्यजन्तु र पक्षी देखिन थालेका छन् ।

वन्यजन्तुले स्थानीयले लगाएका तरकारीलगायतका फलफूलसमेत खान थालेको बग्लेगका स्थानीय रमेश विष्टले बताए । उनले भने, ‘निकुञ्मा भएको घाँसपात सबै हिउँले ढाकेको छ, वन्यजन्तु आएर हामीले लगाएको बालीनाली खान थालेका छन्, धपाउँदा पनि जाँदैनन् ।’

हिंस्रक जनावर गाउँ पसे मानिस र घरपालुवा जनावरलाई जोखिम हुने तथा चोरी सिकारका कारण वन्यजन्तुलाई पनि खतरा हुन सक्ने स्थिति बढेको निकुञ्जको मध्यवर्ती व्यवस्थापन समिति अध्यक्ष रामप्रसाद उपाध्यायले बताए । हिमपातले हाल खप्तडमा दिउँसोको तापक्रम २ देखि ३ डिग्री सेल्सियस मात्रै हुने र राति तापक्रम घटेर माइनस १५ डिग्री सेल्सियससम्म पुग्ने गरेको त्यहाँ तैनाथ नेपाली सेनाले जनाएको छ ।

नेपालको संरक्षित सूचीमा रहेका कस्तुरी, मृग, ध्वाँसे चितुवा, ब्वाँसो र हिमाली कालो भालु, चितुवा, बँदेल, मृग, हरिणसहित ३० प्रजातिका अन्य स्तनधारी पनि निकुञ्जमा पाइने गरेको निकुञ्जले जनाएको छ । निकुञ्ज प्रदेशका पहाडी जिल्ला अछाम, बझाङ, बाजुरा र डोटी गरी ४ जिल्लामा फैलिएको छ ।

वन्यजन्तु संरक्षणको लागि खप्तडस्थित नेपाली सेना र निकुञ्ज कार्यालयले काम गरिरहेको भए पनि संरक्षणमा मध्यवर्ती क्षेत्रका जनता पनि जिम्मेवार भएर लाग्नुपर्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत चन्द्रबहादुर चन्दले बताए । चोरी सिकार न्यून गर्न नेपाली सेनाले गस्ती गर्ने गरेको भए पनि वन्यजन्तुको सिकार र काठ चोरी नरोकिएको निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाशबहादुर शाहले जानकारी दिए ।