धुर्मुस सुन्तली फाउण्डेशनको अगुवाईमा चितवनमा निर्माण हुने घोषणा गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको डिपिआर निर्माणको काम शुरु भएको छ ।
उक्त रंगशाला निर्माणको घोषणा गरेका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)लाई आज रामपुर (चितवन)मा भब्य स्वागत पनि गरिएको छ ।
भरतपुर विमानस्थलबाट बाजागाजासहित स्वागत गरी ¥यालीका साथ उनीहरुलाई निर्माणस्थल रामपुर पुऱ्याइएको थियो ।
रङ्गशाला निर्माणस्थलमा आयोजित रङ्गशालासम्बन्धी गृहजिल्ला घोषणा एवं डिपिआर निर्माण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै फाउण्डेशनका अध्यक्ष सीतारामले जिल्लामा बन्ने रङ्गशाला नेपालको गौरव हुने बताए। उनले चितवन र समग्र नेपाललाई नै विश्वसामु चिनाउन रङ्गशाला महत्वपूर्ण हुने दाबी गरे।
तोकेकै समयमा रङ्गशाला निर्माण सम्पन्न गरिने जानकारी दिँदै फाउण्डेशनका उपाध्यक्ष कुञ्जनाले सबैको साथ र सहयोगका लागि आह्वान गरिन् । सरकारले यो महान् अभियानमा आफूहरुलाई सहभागी गराएको भन्दै उनले सबैको साथ र सहयोगबाट रङ्गशाला बन्ने बताइन् ।
सो अवसरमा नेकपाका नेता नारायण दाहालले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न जिल्लाका राजनीतिक दल सक्रियताका साथ लाग्ने बताए । उनले देशमा विकास निर्माणको युग शुरु भएको भन्दै त्यसमा हातेमालो गर्न सबैलाई आह्वान गरे ।
नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले रङ्गशाला निर्माणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै काङ्ग्रेस प्रतिपक्ष दल भए पनि विकास निर्माणमा सधैँ हातेमालो गर्दै जाने प्रतिबद्धता जनाए ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले रङ्गशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनसँग सम्झौता भएपछि उत्साहित भएको बताइन् भने रङ्गशाला निर्माणका लागि सरकारी तवरबाट हुने सबै काम महानगरले गर्ने प्रतिबद्धता पनि उनले जनाइन् ।
विभिन्न दाताहरुले एक करोडभन्दा बढी सहयोगको घोषणा गरेको जानकारी महानगरका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले गराए ।
धुर्मुस सुन्तलीलाई स्थानीयवासीले घरअगाडिका सडक किनारामा घडा राखेर र ठाउँठाउँमा स्वागतद्वारसहित स्वागत गरेका थिए ।
दुई वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको रङ्गशाला निर्माण गर्न तीन अर्बभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । रङ्गशालामा क्रिकेटका अतिरिक्त अन्य खेलहरु खेल्न सकिनेछ । रङ्गशालालाई एकेडेमीका रुपमा विकास गर्ने लक्ष्य लिइएको छ । भरतपुर महानगरपालिका–१५ मा त्रिभुवन विश्वविद्यालयको नाममा रहेको २० बिगाहा ६ कट्ठा जग्गामा रङ्गशाला निर्माण गर्न लागिएको हो । रङ्गशाला निर्माणको प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा यसअघि नै काठमाडौँमा घोषणा भइसकेको छ ।
तस्बिर रासस
प्रतिक्रिया