राजदूतले लिए नियुक्तिसँगै शपथ

राजदूतले लिए नियुक्तिसँगै शपथ


राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंका नीलाम्बर आचार्यलाई गणतन्त्र भारतको राजदूतमा नियुक्त गरेकी छिन् । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले आचार्यलाई उक्त पदमा नियुक्त गरेकी हुन् ।

आजै राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त राजदूत आचार्यलाई पद तथा गोपनीयताको शपथ पनि गराइन् ।

मन्त्रिपरिषदको हालैको निर्णयअनुसार राष्ट्राध्यक्षबाट राजदूत आचार्यले शपथ लिएका हुन् । नेपालको इतिहासमा राष्ट्रप्रमुखबाट राजदूतलाई पहिलोपटक शपथ गराइएको हो । राष्ट्रपतिबाट शपथ लिने आचार्य पहिलो नेपाली राजदूत हुन् ।

समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, राष्ट्रपति कार्यालयका सचिव विनोद केसी, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी तथा राष्ट्रपति कार्यालयका उच्च अधिकारीको उपस्थिति थियो ।