सरकारको अधिनायकवादी चरित्रको विरोध, भ्रष्टाचार, संसदीय सर्वोच्चता कायम गर्नका साथै संसदीय मर्यादा पालनाको माग, राज्य आतङ्क बन्दको माग, हत्याहिंसा बन्द गर्न माग, वाइडबडी भ्रष्टाचारीलाई कार्वाको माग, गोविन्द केसीसंग भएका सम्झौता पूरा गर्न माग, निर्मला पन्तका बलात्कारी र हत्यारालाई कार्वाहीको माग लिएर आज सोमबार प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले देशभर विरोध सभा तथा प्रदर्शनको आयोजना गर्दैछ ।
चर्को मुल्यवृद्धि फिर्ता हुनुपर्ने, तेत्तीस किलो सुनकाण्डका गिरोहलाई कार्वाही गर्नुपर्ने, अनियमित बुढीगण्डकी ठेक्का बदर गर्नुपर्ने, विधिको शासनको पूर्ण पालना गरिनुपर्ने जस्ता माग समेत आजको विरोधसभाका एजेण्डा रहेको काङ्ग्रेसका नेताहरूले जनाएका छन् ।
सरकारले प्रतिपक्षीलाई देख्नै नचाहेको र संसदमा अत्यन्त असहिष्णु रवैया अवलम्बन गरेर सडकमा उत्रिन बाध्य पारेको आरोप पनि काङ्ग्रेसले ओली सरकारमाथि लगाएको छ ।
यसरी प्रमुख प्रतिपक्षीलाई देखेको नदेख्यै गरेर सरकार अघि बढ्न लागेकोले प्रतिपक्षको रूपमा आफ्नो शक्ति देखाउन बाध्य हुनुपरेको प्रष्टोक्ति काङ्ग्रेस नेता गगन थापाले संसदमा दिएका थिए । यसै पेरिफेरिमा काङ्ग्रेसले आफ्नो शक्ति प्रदर्शन गर्न लागेको हो ।
७७ वटै जिल्लामा छुट्टाछुट्टै विरोध सभा गर्नका लागि काङ्ग्रेसका केन्द्रीय सदस्य तथा अन्य नेताहरू विभिन्न जिल्लामा पुगिसकेका छन् । उनीहरू स्वस्फूर्त रूपमा आफूलाई अनुकुल पर्ने या आफैले रोजेको जिल्लामा विरोध सभाका लागि पुगेका काङ्ग्रेस केन्द्रिय कार्यालयका मुख्यसचिवले जानकारी दिए ।
विरोधसभामा सहभागिताको लागि वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ र महामन्त्री शशाङ्क कोइरालाले नवलपुरमा हुने विरोध प्रदर्शनको नेतृत्व गर्ने बुझिएको छ भने उपसभापति विमलेन्द्र निधिले पनि गृहजिल्ला धनुषामा सम्बोधन गर्दैछन् ।
यस्तै अन्य प्रमुख नेतामध्येका पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले चितवन र प्रभावशाली नेता डा शेखर कोइरालाले मोरङको प्रदर्शन तथा विरोध सभामा सहभागिता जनाउँदै छन् ।
यस्तै, कृष्ण सिटौलाले झापा र गगन थापाले पोखरामा आयोजिना हुने विरोधसभालाई सम्बोधन गर्ने बताइएको छ ।
केन्द्रिय राजधानी काठमाडौंमा हुने विरोध प्रदर्शन चाहिँ सहरका विभिन्न स्थानबाट निस्केर रत्नपार्कस्थित शान्ति बाटिकामा पुगी सभामा टुंगिने र सो सभालाई केन्द्रीय नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।
काङ्ग्रेसले आजको विरोध प्रदर्शनलाई आफ्नो शक्ति प्रदर्शनको रूपमा लिए पनि विरोधसभाको तयारी भने सोअनुरुप नभएको एक नेताले गुनासो गरे ।
प्रतिक्रिया