मकवानपुर खुला तेक्वान्दोमा ‘टीएनसी डोजाङ’ टिम च्याम्पियन

मकवानपुर खुला तेक्वान्दोमा ‘टीएनसी डोजाङ’ टिम च्याम्पियन


मकवानपुर जिल्ला खुला तेक्वान्दो प्रतियोगिता–२०७५ सम्पन्न भएको छ । उक्त प्रतियोगितामा टीएनसी तेक्वान्दो डोजाङ हेटौँडाले प्रथम स्थान हासिल गर्दै टिम च्याम्पियन बनेको छ । टीएनसीले ५ स्वर्ण, ३ रजत र ५ कांस्य पदक जित्दै टिम च्याम्पियन बनेको हो ।

त्यस्तै दोस्रो स्थान हासिल गरेको क्रियटिभ तेक्वान्दो एकेडेमी हाटियाले ४ स्वर्ण, ८ रजत र ९ कांस्य पदक जितेको थियो । प्रतियोगितामा पुरुषतर्फ अमृत घलान (सनराइज तेक्वान्दो डोजाङ) र महिलातर्फ विविका थापामगर (पशुपतिनगर तेक्वान्दो डोजाङ) बेस्ट फाइटर घोषित भएका थिए । विजयी खेलाडीलाई समापन समारोहका प्रमुख अतिथि एवं प्रदेश सभासद माननीय इन्द्रबहादुर बानियाँ र सभापति सविन भट्टाचार्य ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतियोगितमा मकवानपुर जिल्लाका १२ वटा तेक्वान्दो डोजाङका १ सय ७० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । उनीहरूबीच २४ स्वर्ण, २४ रजत र ४८ कांस्यको लागि भिडन्त भएको नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरका अध्यक्ष सविन भट्टराईले जानकारी गराएका छन् । त्यस्तै, प्रतियोगिताको संयोजक राष्ट्रिय तेक्वान्दो संघ नेपालका जिल्ला कार्यसमितिका उपाध्यक्ष मानबहादुर वाइवाले गरेका थिए । प्रतियोगितालाई १३ जना रेफ्रीले सञ्चालन गरेका थिए ?

माघ १८ र १९ गते मकवानपुरमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि तथा नेपाली काङ्ग्रेस केन्द्रीय समितिकी सदस्य डिना उपाध्यायले गरेकी थिइन् । त्यस्तै विशिष्ट अतिथिमा नेपाली काङ्ग्रेस जिल्ला समितिका सचिव बुद्ध लामा, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य पवन यादव, नेकाका जिल्ला सदस्य सुनील अधिकारी रहेका थिए । यसैगरी प्रतियोगितामा शुभेच्छा प्रकट गर्न राष्ट्रिय तेक्वान्दो संघ– नेपालका उपाध्यक्ष तथा राखेपका वरिष्ठ तेक्वान्दो प्रशिक्षक ध्रुवबहादुर गुरुङ, महासचिव राजकुमार कार्की, सचिव राकेशकुमार राई र राखेप कानुन शाखाका अधिकृत नारायणराज अर्यालको वरिष्ठ अतिथिको उपस्थिति जनाएका थिए । प्रतियोगिताको उद्घाटन र समापन समारोहको सभापति सविन भट्टराई रहेका थिए ।