खोटाङ पुगेर डा. भट्टराईले भने– मध्यपहाडी लोकमार्गका जग्गाधनीले मुआब्जा पाउँछन्

खोटाङ पुगेर डा. भट्टराईले भने– मध्यपहाडी लोकमार्गका जग्गाधनीले मुआब्जा पाउँछन्


नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मध्यपहाडी लोकमार्गका जग्गाधनीले मुआब्जा पाउने बताएका छन् । ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद’ अभियानका क्रममा खोटाङ आएका डा. भट्टराईले सो कुरा बताएका हुन् ।

विकास जनताको लागि भएकाले विकास निर्माणका क्रममा जनतालाई उठिबास गराउन नहुने उनको तर्क थियो । ‘मध्यपहाडी लोकमार्गमा पर्ने सबै जग्गाधनीले मुआब्जा पाउनुपर्छ,’ दिक्तेलस्थित रत्नपार्कमा सोमबार आयोजना गरिएको जनतासँगको भेटघाट कार्यक्रमममा डा. भट्टराईले भने, ‘जल, जमिन र जंगल स्थानीय जनताको अधीनमा रहने संविधानमै व्यवस्था छ । जनताको अधीनमा रहेको जग्गामा निर्माण गरिने सडकले मिच्ने जग्गाको मुआब्जा दिलाउन म आफैँ पहल गर्नेछु ।’

पहाडमै समृद्धिको सम्भाव्यता अध्ययन र पहिचानका लागि गत माघ १५ गते चिवाभञ्ज्याङबाट जनसंवाद थालेका डा. भट्टराईले निर्माणाधीन अवस्थामा रहेको मध्यपहाडी लोकमार्गको कामलाई तीव्रता दिन र गुणस्तर निर्धारण गराउन आफ्नो अभियान रहेको बताए ।

जल, जमिन र जंगल स्थानीय जनताको अधीनमा रहने संविधानमै व्यवस्था छ, जनताको अधीनमा रहेको जग्गामा निर्माण गरिने सडकले मिच्ने जग्गाको मुआब्जा दिलाउन म आफैँ पहल गर्नेछु

मध्यपहाडी लोकमार्गमा सबै जातजातिको बसोवास रहेकाले उनीहरूको आर्थिक विकासका लागि शहरीकरण, उद्योग तथा कलकारखाना स्थापनालगायतका कामलाई सरकारले तीव्र गतिमा अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

०६५ मा आफ्नै सरकारको पालामा विनियोजित बजेटबाट काम थालिएको एक हजार ८७९ किलोमिटर लामो मध्यपहाडी लोकमार्ग केही ठाउँमा ढिलो भएको पाइएकाले ठेकेदारलाई भेटेर तोकिएको समयमा सम्पन्न गर्न निर्देशन दिएको उनले बताए ।

आगामी फागुन १५ गते पश्चिमको झुलाघाट पुगेर सम्पन्न हुने यात्राका क्रममा सबै ठाउँमा भइरहेको कामको प्रगति निरीक्षण गरिने उनको भनाइ छ । अभियान लिएर हिँडेको सातौँ दिनमा दिक्तेल आइपुगेका डा भट्टराईले अहिलेको सरकारले जनताले चाहेअनुसारको विकास गर्न नसकेको आरोप पनि लगाए ।

निर्वाचित जनप्रतिनिधि कुनै एउटा पार्टीको होइन, सबै तहका जनप्रतिनिधिले पार्टीभन्दा माथि उठेर जनताको काम गर्नुपर्छ

‘देशमा पहिलेको जस्तो विकास भएको छैन, जनताले छलाङ हान्ने खालको विकास चाहेका छन्,’ उनले भने, ‘यो पार्टी, त्यो पार्टीभन्दा पनि अहिले जनताले विकास चाहेका छन्, विकासका लागि जनता सबल भएर सरकारलाई खबरदारी गर्नुपर्छ ।’

देशमा विकास निर्माणलाई तीव्रता दिन र भ्रष्टाचारलाई न्यूनीकरण गर्न स्थानीय तह बलियो हुनुपर्नेमा उनले जोड दिए । ‘निर्वाचित जनप्रतिनिधि कुनै एउटा पार्टीको होइन, सबै तहका जनप्रतिनिधिले पार्टीभन्दा माथि उठेर जनताको काम गर्नुपर्छ,’ उनले भने, ‘स्थानीय तह जनतासँग प्रत्यक्ष सहकार्यमा रहने भएकाले यसलाई थप अधिकार दिएर कार्यक्षेत्र फराकिलो पार्नुपर्छ ।’

गएराति दिक्तेलस्थित शुभम् फाउन्डेसनमा वास बसेका डा. भट्टराई नेतृत्वको अभियान टोली सोमबार नै हलेसी हुँदै घुर्मीतर्फ प्रस्थान गरेको छ । भोजपुर हुँदै आइतबार साँझ खोटाङ आएका भट्टराईले हिजो नै मध्यपहाडी लोकमार्गमा पर्ने सेखुवा, पेलुङ, वानाचुङ र सन्सारीडाँडाका स्थानीयसँग संवाद गरेका थिए ।