अन्तरविचारहरू

अन्तरविचारहरू


antarbicharअन्तरविचार
कम्युनिस्ट एकता बाध्यकारी देखियो– मणि थापा (महासचिव, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी)
० माओवादी कम्युनिस्टहरू एक हुने कुरा गर्न थाले नि, किन होला ?
– देशको राजनीतिक परिस्थिति नै यस्तो हिसाबले अघि बढ्न थाल्यो कि माओवादी कम्युनिस्टहरू एक हुनैपर्ने देखियो । हाम्रो चाहनाभन्दा पनि आवश्यकताले जन्मायो यो परिवेश ।
० तपाईंहरूबीच विवाद र मतभिन्नता त व्यापक थियो, छ, अनि कसरी हुन्छ त एकता ?
– विवाद र मतभिन्नता भएको कुरा अस्वीकार गर्न मिल्दैन, तर आपसी विवादभन्दा देशको समस्या अहम् भएकाले विवाद र मतभिन्नतालाई उपेक्षा गर्दै मिलेर अघि बढ्नु अपरिहार्य देखियो । हृदयदेखि नै देशको चिन्ता गर्ने हो भने यतिबेला आफ्ना विवादका मामिलालाई थाती राखेर मेलमिलाप र एकताको बाटोबाट अघि बढ्नुको विकल्प छैन ।
० तपाईंहरूले गर्न खोजेको पार्टी एकता नै हो कि कार्यगत एकता मात्रै नि ?
– अहिले कार्यगत एकताकै चरणमा छौँ, संयुक्त आन्दोलनको प्रक्रियामा छौँ । तर, हाम्रो उद्देश्य माओवादी धारका सबै राजनीतिक दललाई एउटै केन्द्रमा उभ्याउने हो । सशक्त क्रान्तिकारी केन्द्र बनाउने नै हो । त्यसका लागि रातारात परिस्थितिको विकास हुन नसक्ला, तर अभीष्ट त त्यही नै हो ।
० अनि यस्तो कम्युनिस्ट केन्द्रको नेतृत्व कसले गर्ने, प्रचण्डले त होला नि होइन ?
– जनयुद्धको नेतृत्व कमरेड प्रचण्डले नै गर्नुभएकोले सायद हामीले भनेजस्तो ध्रुवीकरणको नेतृत्व पनि सम्भवतः उहाँले नै गर्नुहुनेछ । उहाँलगायतका नेताहरूले नै त हो नेतृत्व गर्ने ।
० सर्वोच्च अदालतको एउटै फैसलाले यस्तरी हल्लाइदियो हो कि तपाईंहरूलाई ?
– सर्वोच्चको फैसलाको कुरा होइन विस्तृत शान्तिसम्झौतालाई अहिलेको सरकार र प्रमुख राजनीतिक दलहरूले आत्माबाट स्वीकार गर्न नसकेको प्रस्टै अनुभूति गरियो । त्यो ऐतिहासिक सम्झौतालाई दलहरूले स्वीकार गरून् भन्ने हाम्रो मान्यता हो, ध्येय हो ।
० तपाईंहरूले पार्टी एकताको छलफलका लागि सातबुँदे एजेण्डा अघि सार्नुभएको छ, त्यसमा सहमति जुट्ने सम्भावना छैन पनि भन्छन् नि ?
– केही मतभिन्नताका बाबजुद हिजो पनि हामी एकै ठाउँमा थियौँ । समय र परिस्थितिले हाम्रा असमझदारी तथा मतभिन्नताहरूलाई कम गर्दै ल्याएको हुनाले हिजो हामी एक थियौँ भने भोलि पनि किन एक हुन सक्दैनौँ र भन्ने सोच वा तर्क उठेको छ । यो तर्क उचित हो भन्ने मलाई लाग्छ । तसर्थ, छलफलमा ल्याइएका प्रस्तावमा सहमति जुट्नै नसक्ने भन्ने कुरा छैन ।
० कम्युनिस्टहरू फुट्दा–फुट्दा अत्यन्त कमजोर भएकाले अब नमिलीकन अघि बढ्नै सकिन्न भन्ने धारणा विकसित भएको तपाईंको कुराबाट बुझ्न सकिन्छ, टुटफुटको कम्युनिस्ट–प्रवृत्तिले निरन्तरता पाउँदैन भन्ने के आधार छ र ?
– हामीबीच एउटा ऐतिहासिक मोडमा फुट उत्पन्न भएको थियो, अब फेरि त्यस्तै अर्को ऐतिहासिक मोडले एकता हुनैपर्ने देखायो । यसरी एकता हुँदै गर्दा जनताको चाहना र राष्ट्रको आवश्यकतालाई पनि हामीले महसुस गर्नुपर्छ र गरेका छौँ । कुनै पनि प्रवृत्ति परम्पराकै रूपमा कायम रहन्छ भन्ने छैन, त्यसमाथि पार्टी फुट्ने र जुट्ने कुरालाई कुनै जड प्रवृत्तिकै रूपमा चित्रित गरिहाल्न पनि मिल्दैन होला । यो सबै समय र परिस्थितिको उपज हो, अनि कम्युनिस्ट पार्टी मात्रै फुट्छन् भन्ने कुरा पनि सही होइन, यहाँका अरू दलमा पनि व्यापक टुटफुट त चल्दै आएकै छ ।
० यतिबेलाको आवश्यकता संविधानलेखनका लागि एकताबद्ध हुने हो कि त्यो प्रक्रिया नै अवरुद्ध तुल्याएर सडकमा आन्दोलन गर्ने हो ?
– शान्तिसम्झौताको पालना गर, त्यो व्यवहारमा लागू गर भन्ने उद्देश्य राखेर गरिएको आन्दोलनको निहितार्थ त आखिर संविधान लेख्नकै लागि हो नि । जनताको संविधान जो देशले चाहिरहेको छ, त्यसकै लागि हामी यो गरिरहेका छौँ । हिजोका सहमति–सम्झौताहरूको पालना सबै पक्षबाट बराबरी रूपले नै हुनुप-यो नि, होइन र ? हाम्रो कदमलाई राज्यले, प्रमुख दलहरूले सकारात्मक रूपमा लिइदिनुप-यो नि ! हामी मुलुक र जनताका लागि राम्रो सोच्दै जाने तर शासकहरूले त्यसलाई उल्ट्याएर, बङ्ग्याएर व्याख्या गर्दै भ्रम छर्ने हो भने त मुलुकले शान्ति कहिले पाउने ?
० देशको सर्वोच्च अदालतको निर्णय पनि नमान्ने तपाईंहरू कस्ता नागरिक त ?
– अदालतको निर्णय नमान्ने भन्ने कुरा होइन, तर रक्तरञ्जित आन्दोलनका म्यान्डेटहरूको परिपालना सरकारलगायत सबै संवैधानिक निकायबाट हुनुपर्दैन र ? हाम्रो माग या चाहना त्यत्ति मात्र हो । जनयुद्ध र जनआन्दोलनको म्यान्डेटमाथि हस्तक्षेप गर्ने अधिकार नेपालमा कसैलाई पनि छैन भन्ने मान्यता हो हाम्रो । यो मान्यतालाई गलत व्याख्या गरेर कम्युनिस्ट पार्टीको बदनाम गर्न खोज्दा हित त कसैको पनि हुँदैन होला । परिवर्तनलाई सबैले स्वीकार गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । अदालतले यस्तो खालका निर्णय नगरोस् भन्ने हाम्रो कामना हो ।
० अदालतले निर्णय त गरिसकेको छ, अब के गर्ने ?
– निर्णय गरे पनि त्यसमा पुनर्विचार गर्न सकिन्छ भन्ने हामीलाई लागिरहेको छ । किनकि यो त ज्वलन्त राष्ट्रिय समस्या हो । कुनै कानुनी समस्या मात्र यो नभई राजनीतिक समस्या भएकाले राजनीतिक तहबाटै समाधान गर्नुपर्छ भन्ने हाम्रो तर्क हो । कानुनी राज्य हुनुपर्छ, तर कानुनलाई पनि यो सङ्क्रमणकालमा शक्ति सन्तुलनको आधार बनाउनुपर्छ भन्नेमा हामी दृढ छौँ ।
० अब कम्युनिस्ट दलहरूबीच एकताचाहिँ कहिले हुन्छ त, केही खाका छ कि ?
– पुनः दोहो-याउन चाहन्छु कि एकता अहिलेको आवश्यकता हो, राष्ट्रको निम्ति, जनताका निम्ति । यस तथ्यका आधारमा एकताको प्रयास निरपेक्ष ढङ्गमा हुनुपर्छ । यो पहलकदमी भइरहँदा ठ्याक्कै यतिबेला नै पार्टीहरूबीच एकीकरण हुन्छ भनेर अहिले नै किटान गर्न सकिन्न, मिल्दैन । यथाशक्य चाँडो गर्ने प्रयास भने हुनुपर्छ । समयले यही माग गरेको छ ।

अन्तरविचार–२

थकित नेताहरू प्रतिबद्ध देखिए– डा. सूर्य ढुङ्गेल (राष्ट्रपतिका कानुनी सल्लाहकार)
० राष्ट्रपति रामवरण यादवले दलका शीर्ष नेताहरूलाई बोलाएर छलफल गर्नुको उद्देश्य के होला ?
– नेपालका राष्ट्रप्रमुखले चीनको भ्रमण नगरेको निकै वर्ष भइसक्यो । यस्तो परिवेशमा राष्ट्रपति डा. रामवरण यादव ‘बोआओ’ सम्मेलनमा सहभागी हुन मित्रराष्ट्र चीनको उच्चस्तरीय निमन्त्रणामा यसै साता साताव्यापी भ्रमणमा जाँदै हुनुहुन्छ । त्यसक्रममा हुने दुई राष्ट्राध्यक्षबीचको भेटघाट तथा साइडलाइनमा हुने अन्य मुलुकका नेतासँगको कुराकानीका क्रममा दुईवटा प्रश्न उहाँसमक्ष पक्कै आउन सक्छन्– एक, दुई मित्रदेशबीचको सम्बन्धलाई आर्थिक, राजनीतिक, सामाजिक तथा अन्य कोणबाट अझ कसरी कसिलो तुल्याउने ? अर्को, नेपालको संविधान निर्माण प्रक्रिया के भइरहेको छ ? हो, यी दुई सवालमा राजनीतिक दलहरूको के धारणा वा सुझाव छ भनी बुझ्ने ध्येय नै दलका शीर्ष नेताहरूसँग राष्ट्रपतिले गर्नुभएको भेटघाटको मूल आशय हो ।
० परराष्ट्रमन्त्रीले हालैको चीन भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति, प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको बुझिएको छ, तर चिनियाँ राष्ट्रपतिले त नेपालमा संविधान नबनेसम्म आफू नेपाल भ्रमणमा नआउने बताउनुभएको कुरा छ नि, यसबारे तपाईं के भन्नुहुन्छ ?
– पक्कै पनि चिनियाँ राष्ट्रपति चाहनुहुन्छ कि आफ्नो नजिकको मित्रदेश नेपालमा चाँडो संविधान बनोस् र नेपालले विकासको एउटा निश्चित कोर्स अवलम्बन गरोस् । यस्तो सकारात्मक सोचबाट अभिप्रेरित भई सन्दर्भ–विशेषमा उहाँले आफ्नो कामना व्यक्त गर्नु अस्वाभाविक होइन । तर, जहाँसम्म संविधान नबनेसम्म नेपालको भ्रमण नै गर्दिनँ भनी भन्नुभयो भन्ने कुरा छ, यो कुनै आधिकारिक कुरा होजस्तो मलाई लाग्दैन । उहाँको मुखबाट यो कुरा प्रकट भएको मलाई त अहिलेसम्म कुनै जानकारी छैन । विश्लेषकहरूले यस्तो टिप्पणी कतै गरिदिएको भरमा प्रसारित कुरा हो जस्तो लाग्छ । यसमा थप भन्नुपर्दा, संविधान बनेर कानुनी एवम् सबै हिसाबले एउटा निश्चित कोर्स लिएको मुलुकमा आउँदा छुट्टै महत्व र खुसीको अवस्था हुन सक्छ । चीनका महामहिम राष्ट्रपतिले पनि यही आसयमा कुनै सन्दर्भमा कुरा गर्नुभएको हुनसक्छ । चिनियाँ राष्ट्रपति मात्र होइन विश्वका कुनै पनि नेपालका शुभचिन्तक देश वा नेता नेपालमा छिटो संविधान बनेर आर्थिक विकास तथा राजनीतिक स्थायित्व भएको हेर्न चाहन्छन् । संविधान नबन्दैमा नेपाल आउँदैन आउने भन्ने कुरा एउटा सतही विश्लेषण मात्रै हो भन्ने मलाई लाग्छ ।
० राष्ट्रपतिसँगको भेटमा कुनै पनि नेताले संविधान कहिले आउँछ भन्नेमा ठोस कुरा गर्न सकेनन्, तपाईंलाई कस्तो लाग्यो ?
– यति लामो समयदेखि दलका शीर्ष नेताहरूबीच वार्तासमेत हुन नसकिरहेको अवस्थामा राष्ट्रपतिनिवासमा भेटघाट र छलफल हुनु मात्र पनि ठूलो खुसीको कुरो हो । यसलाई सकारात्मक रूपमा लिनुपर्छ । संविधान किन बन्न सकिरहेको छैन, कहिलेसम्ममा बन्छ, के भइरहेको छ भन्ने प्रश्न राष्ट्रपतिज्यूसमक्ष अवश्य नै आउने सम्भावनाका आधारमा नेताहरूले ‘काम भइरहेको छ, राजनीतिक दलहरू प्रयासरत छन्, विवादका विषयहरू कम भइसकेका छन्, संविधानसभाबाटै संविधान आउँछ’ भन्ने जवाफ दिन सुझाव दिएका छन् । यसलाई सकारात्मक र फलदायी रूपमै लिनुपर्छ ।
० त्यसो भए चार वर्षपछि मात्र संविधान पाउने भयो मुलुकले होइन त ?
– दलका नेताहरूको कुरा सुन्दा त आगामी जेठ १५ मै पनि आउन सक्छ, अर्को ६ महिना या एक वर्ष लाग्न पनि सक्छ । जे होस्, यही संविधानसभाबाटै संविधान आउने कुरा प्रस्ट बुझ्न सकिन्छ । कुरा यत्ति हो कि पहिलेको कार्यतालिका फेल भइसकेकाले संविधानसभाले छिट्टै अर्को क्यालेन्डर बनाउनुपर्छ । त्यो क्यालेन्डरमा उहाँहरूले कहिलेसम्ममा संविधान बनाउने भन्ने सीमा स्पष्ट तोक्नुपर्ने हुन्छ र तोक्नेछन् पनि ।
० यसको मतलब बाँकी तीन वर्ष बिताएर मात्र संविधान आओस् भन्ने राष्ट्रपतिको चाहना हो ?
– होइन–होइन, उहाँ त यथाशीघ्र संविधान बनेर लागू भएको हेर्न चाहनुहुन्छ, दलका नेताहरूसमक्ष उहाँको आग्रह पनि यस्तै चिन्ता र चिन्तनबाट अभिप्रेरित रहेको पाउँछु म ।
० नेताहरू बारम्बार चुकेको अवस्था छ, यस्तोमा उहाँहरूको अनुहारमा कत्तिको ऊर्जा–उत्साह वा चिन्ता–पश्चात्ताप पाउनुभयो तपाईंले ?
– हो, नेताहरूको अनुहारमा मैले उत्साहभन्दा चिन्ता, थकान र पश्चात्तापको भाव नै बढी पाएँ । सायद राष्ट्रपतिज्यूले पनि यस्तै महसुस गर्नुभएको हुँदो हो । तथापि, यही संविधानसभाबाट संविधान बनाउन उहाँहरू प्रतिबद्ध पनि देखिनुभयो, जो खुसीको कुरा हो ।