संविधान निर्माणकार्य अवरुद्ध भएपछि भित्रभित्रै सरकार बदल्ने कसरत सुरु भएको छ । प्रधानमन्त्री सुशील कोइराला कम्तीमा काङ्गे्रसको महाधिवेशनसम्म सत्तामै रहिरहन इच्छुक हुनुभएपछि उहाँलाई पदमुक्त गर्न विभिन्न शक्तिकेन्द्रहरू सक्रिय भएका हुन् । कोइरालालाई हटाउन वरिष्ठ नेता शेरबहादुर देउवाको अग्रसरता होस् भन्ने चाहना शक्तिकेन्द्रहरूले राखेको भए पनि देउवा अगाडि बढ्न नसकेपछि वैकल्पिक उपायको खोजी भएको छ । अब नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेर भए पनि सुशील कोइरालालाई विस्थापित गर्ने विकल्पमा जाने योजना बनेको बुझिएको छ । आगामी वैशाखभित्रै सरकार बदल्न एमाओवादी नेतृत्वको तीसदलीय मोर्चाले सङ्घर्षको जटिल कार्यक्रम घोषणा गरिसकेको छ । बहुमतीय प्रक्रियाद्वारा संविधान जारी गर्न पुनः प्रयास भए सङ्घर्ष थप कठोर बन्ने र सङ्घर्षकै बलमा कोइरालालाई हटाइने तयारी भएको छ । प्रक्रियाद्वारा संविधान जारी गर्न प्रयास भएमा सङ्घर्ष चर्किने सम्भावना जति छ प्रक्रिया अघि नबढाइएमा एमालेले सरकार छाड्ने सम्भावना पनि त्यति नै प्रबल छ । वैशाखसम्ममा प्रक्रिया अघि नबढाइए एमाले सरकारबाट बाहिरिने सोचमा रहेको देखिन्छ । प्रधानमन्त्री सुशील कोइरालाबाट सहमतिमा संविधान जारी गर्ने प्रतिबद्धतासहित प्रक्रिया रोकिएको घोषणा भएमा तीसदलीय मोर्चाको सङ्घर्ष फिर्ता लिइने या शिथिल तुल्याइने स्थिति छ । तर, एमालेको विश्वास नलिईकन त्यसो गरेमा कोइरालाको साथ छोडेर एमाले बाहिरिने निश्चित छ । त्यसर्थ यतिबेला प्रधानमन्त्री कोइराला निकै अप्ठ्यारोमा पर्नुभएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सङ्घीयताका बारेमा लिनुभएको अडानले तीसदलीय मोर्चा र अन्तर्राष्ट्रिय क्षेत्रका हितैषीहरूलाई समेत अप्ठ्यारोमा पारेको छ । प्रधानमन्त्री बन्ने कुरालाई भन्दा संविधान निर्माणलाई प्राथमिकता दिँदै आउनुभएका ओली अहिलेसम्म सरकार बदल्ने पक्षमा हुनुहुन्न । सरकार बदल्नेतिर लाग्दा काङ्गे्रससँगको समझदारी बिग्रने र संविधान निर्माणकार्य ओझेलमा पर्ने भएकाले ओली ज्यादा सचेत हुनुभएको हो । तर, सुशील कोइरालाकै कारण संविधान निर्माण प्रक्रियाले गति नलिने अवस्था कायम रह्यो भने ओली सरकार बदल्न र नयाँ सरकारको नेतृत्व लिन तयार हुनुहुने निश्चित छ । ओलीले कोइरालालाई अब कति समय पर्खनुहुने हो प्रतीक्षा त्यसैको हुँदै छ ।
केपी ओलीलाई प्रधानमन्त्री बनाएर वर्तमान सरकारलाई विस्थापित गर्ने योजना बनेको भए पनि उक्त कार्य सहजै सम्पन्न हुने देखिँदैन । एमालेका कारण सरकार छोड्नुपर्ने स्थिति आएमा सुशील कोइरालाले एमालेको नेतृत्वमा सरकार गठन गर्न सहयोग पु-याउने विश्वास गर्न सकिन्न । त्यस्तो अवस्थामा कोइराला काङ्गे्रस वा एमालेबाहेक अरू कसैको नेतृत्वमा सरकार गठनको पक्षमा उभिनुहुने सम्भावना बढी छ । कोइरालाको स्वभावलाई बुझ्नेहरूको भनाइ छ– ‘जसका कारणले पद जान्छ त्यसलाई कोइरालाले दागा धर्ने निश्चित छ ।’ कोइरालाको स्वभावलाई चिनेकै कारण शेरबहादुर देउवा चुपचाप बस्नुभएको बताइन्छ । एमालेका अर्का नेता माधवकुमार नेपाल पनि वर्तमान सरकार विस्थापनको पक्षमा हुनुहुन्छ । सुशील कोइरालालाई हटाएपछि केपी ओलीलाई प्रधानमन्त्री बनाउने पक्षमा भने नेपाल हुनुहुन्न । नेपालले काङ्गे्रसका वरिष्ठ नेता शेरबहादुर देउवासँग पटक–पटक गुप्त बैठक गर्दै आउनुभएको छ । त्यसैले कोइराला हटे पनि नेपालकै कारण ओली प्रधानमन्त्री बन्न कठिन देखिन्छ । त्यस्तो अवस्थामा घुमफिरी पुनः शेरबहादुर नै प्रधानमन्त्री बन्ने स्थिति आयो भने पनि कुनै आश्चर्य हुनेछैन । तर, कोइराला परिवारको राजनीतिक संरक्षणका निम्ति देउवाभन्दा रामचन्द्र पौडेल उपयुक्त हुने निष्कर्षमा कोइराला पुग्नुभएमा पौडेल प्रधानमन्त्री बन्नुहुने सम्भावना रहने छ । यद्यपि पौडेल यतिबेला प्रधानमन्त्री बन्ने खेलमा सामेल हुन इच्छुक हुनुहुन्न । उहाँको जोड पार्टी सङ्गठनमा रहँदै आएको छ र काङ्गे्रसको आगामी महाधिवेशनबाट सभापति बन्ने तयारी पौडेलबाट भइरहेको छ ।
प्रतिक्रिया