भेनेजुएला प्रकरणमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो अडान दोहोऱ्याउँदै आएको छ । नेकपाले कुनै पनि देशमा बाह्य हस्तक्षेप हुन नहुने प्रष्ट पारेको छ । यसअघि अध्यक्ष पुष्पकमल दाहालद्वारा जारी वक्तव्यमा विवाद भएपछि नेकपाको सोमबार बसेको सचिवालय बैठकले भेनेजुएलाको राजनीतिक समस्या त्यहीँका जनताले शान्तिपूर्णरुपमा समाधान गर्नुपर्ने भन्दै आफ्नो दृष्टिकोण प्रष्ट पारेको हो ।
दाहालले यसअघि अमेरिकामाथि आरोप लगाउँदै वक्तव्य जारी गरेका थिए । बैठकले कुनै मुलुकलाई इंगित नगरी हरेक देशको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मान गर्नुपर्ने बताएको छ । संयुक्त राष्ट्रसंघको वडापत्र र पञ्चशीलका सिद्धान्तप्रति नेकपा प्रतिवद्ध रहेको भन्दै बैठकपछि सञ्चारकर्मीसंग नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले विदेश नीति र अन्तराष्ट्रिय सम्बन्धका प्रश्नमा पार्टीमा कुनै अन्योल र द्विविधा नरहेको पनि प्रष्ट पारे ।
यस्तै, नेकपाले एकता प्रक्रिया टुंग्याउन गठित कार्यदललाई आजसम्म प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । पुस मसान्तभित्र काम सक्ने ‘म्याण्डेट’सहित रामबहादुर थापा नेतृत्वमा गठित कार्यदलले माघको तेस्रो साता हुँदासम्म जिम्मेवारी पूरा नगर्दा सचिवालय बैठकले जस्तो अवस्थामा छ, त्यस्तै प्रतिवेदन बुझाउन भनेको हो । प्रतिवेदनका आधारमा स्थायी समितिले थप निर्णय लिने जानकारी पनि प्रवक्ता श्रेष्ठले दिए ।
अध्यक्षद्वयले प्रदेश कमिटी नचलाउन निर्देशन दिएपछि समूहगत स्वार्थ बाझिदा कार्यदलले जिम्मेवारी पूरा गर्न नसकेको बुझिएको छ । पूर्व एमालेको केपी ओली पक्षीय नेताले प्रदेश कमिटी गठनको निर्णय फेरबदल नगर्ने अडान राखेपछि माघ ६ गते यता कार्यदलको बैठक बसेको छैन । पूर्व एमालेका माधव नेपाल पक्षीय नेता भने मापदण्ड विपरित सदस्य मनोनित गरिएको भन्दै प्रदेश कमिटी पुनःगठन गर्नुपर्ने पक्षमा छन् ।
प्रतिक्रिया