नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारविरुद्धको प्रदर्शनका क्रममा आज (मंगलबार) मीनभवन अगाडिबाट महरलगायतका विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
झुटो मुद्दा लगाएर थुनामा राखिएका पोखराका विद्यार्थी नेताहरुलाई विना सर्त रिहाइको माग गर्दै नेवि संघले आज र्याली निकालेको थियो । सो क्रममा अध्यक्ष महर, उपाध्यक्ष नवीन राईसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको नेवि संघले जनाएको छ ।अध्यक्ष महरका अलावा पक्राउ पर्नेमा नेविसङ्घका उपाध्यक्ष नवीन राई, नेविसङ्घ नेता डम्बर सुनार, सञ्जीव ढकाल, सञ्जिव खड्का, सागर पाण्डे र शङ्कर खड्का रहेका छन् । संघका केन्द्रीय सदस्य सुशील भट्टका अनुसार पक्राउ गरिएका विद्यार्थी नेताहरुलाई नेपाल पुलिस क्लबमा राखिएको छ ।
ज्ञातव्य छ, माघ १९ गते शनिबार सरकारी सवारी साधनको आवतजावतमा अवरोध पुर्याउने नेविसंघको आन्दोलनका क्रममा गाडीमा आगजनी भएपछि कास्की प्रहरीले केही विद्यार्थीलाई पक्राउ गरेका थियो । उक्त घटनामा नियन्त्रणमा लिइएकाहरु निर्दोष रहेको र सरकारको ठाडो आदेशमा प्रहरीले झुटा मुद्दा लगाएर फसाउन खोजेको दाबी नेवि संघले गर्दै आएको छ । यसको विरोधमा संघले माघ २५ गते शुक्रबार देशभर सरकारी सवारी साधन चल्न नदिने घोषणा गरेको छ ।
प्रतिक्रिया