पारा ओलम्पिकमा स्वर्ण पदक जित्नु हाम्रो लक्ष्य

पारा ओलम्पिकमा स्वर्ण पदक जित्नु हाम्रो लक्ष्य


sportखेलकुद लेख – जनार्जन ढुङ्गेल (अध्यक्ष, पारा तेक्वान्दो सङ्घ)
विश्वमा तेक्वान्दो खेलले शिखर चुम्दा सन् २००९ मा विश्व तेक्वान्दो महासङ्घ (डब्लूटीएफ) ले नौलो सोचको विकास गरेको थियो । सोहीअनुरूप पारा तेक्वान्दो सङ्घको जन्म भएको थियो । जुन डिसेबल तेक्वान्दो खेलाडीहरूको समग्र विकास र विस्तारमा केन्द्रित थियो । शुभारम्भमा विश्वका केही मुलुकहरूमा मात्र सीमित पारा तेक्वान्दोले आफ्नो हाँगालाई विश्वव्यापी गर्ने क्रममा नेपालले पनि यसमा समाहित हुने अवसर पाएको थियो । सन् २०१२ मा नेपालमा पारा तेक्वान्दो भित्रिएको थियो । नेपालमा पारा तेक्वान्दोलाई भित्याउन पूर्वचर्चित तेक्वान्दो खेलाडी तथा तेक्वान्दोका ‘थ्री डान’ जनार्जन ढुङ्गेलले विशेष भूमिका निर्वाह गरेका थिए । उनकै अथक प्रयास र लगानीका बाबजुद नेपालमा पारा तेक्वान्दोले मौलाउने अवसर पाएको थियो भने अन्तराष्ट्रमा पदक जितेर मुलुकको गौरव बढाउन सफल भएको थियो । छोटो समयमा विश्व पारा च्याम्पियनसिपमा नेपाललाई कास्य र रजत पदक दिलाएर चर्चामा आएका उनै नेपालमा पाराका जन्मदाताको उपनामले समेत चिनिने पारा तेक्वान्दो सङ्घका अध्यक्ष जनार्जन ढुङ्गेलसँग घटना र विचारले गरेको कुराकानी :
० अहिले नेपालमा छुट्टै नेपाल पारा तेक्वान्दो सङ्घ गठन भएको छ, भविष्यमा सङ्घले औचित्य पुष्टि गर्ने कुरामा कत्तिको विश्वस्त हुनुहुन्छ ?
– सर्वप्रथम गाउँगाउँमा छरिएर रहेका डिसेबल (अपाङ्ग) व्यक्तिहरूलाई खेलकुदको माध्यमबाट राष्ट्रको गहना बनाउने उद्देश्यअनुरूप नेपाल पारा तेक्वान्दो सङ्घको स्थापना भएको हो । कोसिस गर्नुपर्छ, कार्यलाई निरन्तरता दिनुपर्छ, मलाई लाग्छ संसारमा असम्भव भन्ने कुरा केही छैन । अझ पारा तेक्वान्दोले सङ्घ गठनअघि नै अन्तर्राष्ट्रियस्तरमा सफलताको झन्डा गाडिसकेकाले पाराले औचित्य पुष्टि गर्नुपर्ला जस्तो मलाई लाग्दैन । यसमा हाम्रो टीम निकै विश्वस्त र ढुक्क छ ।
० पारा तेक्वान्दो सङ्घ गठनअघि नै अन्तर्राष्ट्रियस्तरमा सफलता पाएको चर्चा गर्नु भो, यसअघि पारा कहाँबाट सञ्चालन भएको थियो ?
– यो अत्यन्त सामयिक प्रश्न भएकाले यसबारे आमखेलप्रेमी र खेलाडीलाई जानकारी हुन आवश्यक छ । योभन्दा अघि पाराको सम्पूर्ण गतिविधि नेपाल तेक्वान्दो सङ्घमार्फत हुँदै आएको थियो । पछि अन्तर्राष्ट्रियस्तरमा छोटो समयमा पाराले पाएको सफलतालाई मध्यनजर गर्दै नेपाल तेक्वान्दो सङ्घकै पहल र अगुवाइमा पारा सङ्घको गठन भएको हो । यसलाई अझ सरल र सहज तरिकाले सञ्चालन गर्न अहिले विश्व तेक्वान्दो महासङ्घ (डब्लूटिएफ) अन्तर्गत रहेर पाराको छुट्टै सङ्घ गठन गरिएको हो ।
० नेपालमा पारा तेक्वान्दोको सम्भावना र भविष्य कस्तो देख्नुभएको छ ?
– हाम्रो देशमा जन्मँदै र द्वन्द्वकालमा डिसेबल भएका व्यक्तिहरू थुपै्र छन् । तिनीहरूको उचित व्यवस्थापन र उज्ज्वल भविष्यका लागि पारा तेक्वान्दोे सेतु बन्ने मेरो विश्वास छ । विश्व मानचित्रमा डिसेबल व्यक्तिहरूले खेलकुदको माध्यमबाट राष्ट्रको मान, सम्मान र प्रतिष्ठा बढाएको कसैबाट छिपेको छैन । विगतमा नेपालले पारा खेलमा छोटो समयमा पाएको विश्वस्तरीय सफलतालाई मध्यनजर गर्दा मैले पाराको भविष्य निकै उज्ज्वल देखेको छु ।
० पारामा नेपालले कास्य र रजतपदक जितिसकेको अवस्था छ, स्वर्ण पदक जित्नका लागि आगामी दिनमा सङ्घको भूमिका कस्तो हुनुपर्छ जस्तो लाग्छ ?
– मलाई पाराको इतिहास राम्रोसँग थाहा छ, यसैले मैले हरेक कदमलाई चुनौतीपूर्ण रूपमा हेरेको छु । कास्य र रजत पदक जितिसकेको अवस्था भएकाले स्वर्ण पदक सङ्घको पहिलोे लक्ष्य बनेको छ । हिजो सङ्घ थिएन, आज पाराको सङ्घ छ । त्यसैले सन् २०२० मा जापानमा आयोजना हुने पारा ओलम्पिकमा नेपाललाई स्वर्ण पदक दिलाउने प्रयासमा हामी लागेका छौँ । जसका लागि अहिले उत्कृष्ट खेलाडीको खोजी र प्रशिक्षणको उचित व्यवस्थामा लागेका छौँ ।
० वर्तमान अवस्थामा नेपालमा पारा खेलाडी अस्तित्वमा देखिएका छैनन्, तपाईंले के आधारमा यस्तो देख्नुभएको हो ?
– हिजोसम्म नेपालमा औंलाले गन्न सकिने पारा खेलाडी भए पनि अहिलेको अवस्था त्यस्तो छैन । पारा सङ्घको गठनसँगै खेलाडीहरूमा पनि उल्लेख्य वृद्धि भएको छ । अहिले काठमाडौंमा सोह्र, काभ्रेमा चार, हेटौँडामा तीन, चितवनमा दुई र अन्य जिल्लामा २८ गरी कुल ५३ जना पारा तेक्वान्दो खेलाडीले प्रशिक्षण लिइरहेका छन् । जसमा महिला, बालबालिका, द्वन्द्वपीडित र सेनाका खेलाडीहरू रहेका छन् । यिनै खेलाडीबाट उत्कृष्ट खेलाडीको छनोट गरी निकट भविष्यमै सञ्चालन हुन गइरहेको छैटौँ विश्व पारा तेक्वान्दो च्याम्पियनसिपको विशेष प्रशिक्षणको कोरिया पठाउने तयारी भइरहेको छ । जसमा एक महिला र दुई पुरुष खेलाडीको सहभागिता रहनेछ ।
० नेपालमा पारा तेक्वान्दो सङ्घ अस्तित्वमा देखिए पनि यसको भविष्यको बारेमा थुप्रै प्रश्नचिह्न लागेका छन्, यसबारे तपाईंको राय के छ ?
– नेपालमा पारा तेक्वान्दोको जसरी र जुन रूपमा शुभारम्भ भयो त्यतिबेला त्यसको जानकारी कसैलाई थिएन । मैले जापान र कोरियाको भ्रमणको क्रममा पारा तेक्वान्दोको बारेमा जान्ने मौका पाएको थिएँ । त्यसपछि पारा तेक्वान्दोले पनि देशको नाम अन्तराष्ट्रमा राख्न सक्ने ठानी नेपालमा पारा तेक्वान्दो गठन गरेको हुँ । जुन नेपालको अन्तराष्ट्रमा पदक जित्ने सम्भावित खेलको सूचीमा प्रमुखमा पर्छ । जसको अहिले वैधानिक रूपमा छुट्टै सङ्घ दर्ता भएकाले यसको भविष्य मैले सुनिश्चित देखेको छु ।
० तपाईंकै नेतृत्वमा नेपालले चौथो र पाँचौँ विश्व पारा च्याम्पियनसिपमा सहभागिता जनाउने अवसर पाएको थियो, त्यसका लागि आर्थिक जोहो कसरी जुटाउनुभयो ?
– साँचो रूपमा भन्नुपर्दा त्यसबेला नयाँ खेल भएकाले कसैले यो खेलप्रति चासो नै राखेका थिएनन् । पदक जितेर ल्याएपछि मात्रै सबैका आँखा र चेत खुलेका थिए । स्विट्जरल्यान्डमा भएको चौथो विश्व पारा च्याम्पियनसिपको सम्पूर्ण खर्च खुद मैले व्यक्तिगत रूपमा व्यहोरेको थिएँ । निजी खर्च र पहिलो सहभागिता भए पनि विश्व च्याम्पियनसिपमा कास्य पदक जितेर देशको गौरव बढाउन पाउँदा निकै खुसी लागेको थियो । उक्त प्रतियोगितामा मैले प्रशिक्षकको भूमिका निभाएको थिएँ । त्यस्तै मस्कोमा भएको छैटौँ विश्व च्याम्पियनसिपमा पनि एकजना खेलाडीसहित तीनजनाले सहभागिता जनाए पनि एउटा टिकटबाहेक सम्पूर्ण खर्च मैले हालेको थिएँ । उक्त प्रतियोगितामा रजत पदक जिते पनि सम्बन्धित निकाय राखेप र नेपाल तेक्वान्दो सङ्घले सुको पनि सहयोग गरेको थिएन ।
० विश्व च्याम्पियनसिपमा दुई–दुईपटक पदक जित्दा निकै सम्मान र स्यावासी पाउनुभएको होला नि ?
– ‘कुरो ग-यो कुरैको पिर’ यसबारेमा चर्चा नगर्दैमा राम्रो होला । यसर्थमा कि मैले निजी लगानीमा राष्ट्रलाई अन्तर्राष्ट्रियस्तरका दुईवटा महत्वपूर्ण पदक दिलाए पनि त्यसको सरकार र सम्बन्धित निकायबाट उचित मूल्याङ्कन भएको पाएन । यसले मलाई निकै कुठाराघात भएको छ, तथापि म आफ्नो कर्तव्यवाट पछि हटेको छैन । तर, विडम्बना, यो राम्रो काम गर्नेको भलो हुँदैन भन्ने मैले सुनेको थिएँ । त्यो अहिले ममाथि पनि लागू भएको छ । अहिले ममाथि षड्यन्त्र भएको छ । मलाई विभिन्न आरोप लगाइएको छ । र पनि मैले यसलाई चुनौतीको रूपमा लिएको छु । यसको डटेर सामना गर्ने साहस हाम्रो टिममा छ । जुन भविष्यमा हाम्रो उत्कृष्ट कार्यले जवाफ दिनेछ ।
० हालै पाराको नयाँ कार्यसमिति गठन भएको छ, उक्त समितिमा नाम चलेका व्यक्तिको अनुहार खासै देखिँदैन नि ?
– पाराको नयाँ कार्यसमितिमा शिक्षाविद्देखि राजनीतिज्ञ, तेक्वान्दो खेलाडी र डिसेबल खेलाडीहरूको समूहलाई समेटेर नयाँ कार्यसमितिको निर्माण भएको छ । मलाई विश्वास छ, यो कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरूले पारा तेक्वान्दोको उच्च मूल्याङ्कनगरी निस्वार्थ भावनाले पारालाई शिखरमा पु-याउने कार्य गर्नेछन् । जहाँसम्म नाम चलेका अनुहारको चर्चा गर्नु भो हाम्रो सङ्घमा नाम चलेका व्यक्तिहरूको नै बाहुल्य छ ।
० डिसेबल व्यक्तिहरू जुन गरिब छन्, खेल्नको साथै पढ्न पनि चाहन्छन् त्यस्ता व्यक्तिहरूका लागि सङ्घले कुनै दूरगामी योजना बनाएको छ ?
– वास्तविक रूपमा भन्नुपर्दा पारा तेक्वान्दोको उद्देश्य नै यस्ता गरिब–निमुखाहरूलाई समेटेर खेलकुदमार्फत सहयोग गर्नु हो । सोही उद्देश्यअनुरूप सङ्घले पारा तेक्वान्दो खेल्न चाहने डिसेबल व्यक्तिहरूलाई गाउँका विकट ठाउँबाट खोजी गरी खेल्ने र पढ्ने वातावरण बनाएको छ । अहिले पारा तेक्वान्दो खेल्न पढ्न चाहने व्यक्तिहरूका लागि सङ्घले स्कुलदेखि कलेजसम्म अध्ययन, प्रशिक्षण र बसोबासको समेत उचित व्यवस्था गर्दै आएको छ । भविष्यमा यसलाई अझ फराकिलो बनाएर लैजाने योजना छ ।
० त्यसका लागि आर्थिक खर्च कहाँबाट जुटाउनुहुन्छ नि ?
– यही कुरालाई मध्यनजर गर्दै हामीले सङ्घका धेरै पदाधिकारीहरू शिक्षाविद् राखेका छौँ । उहाँहरूको आफ्नै स्कुल र कलेज छ । उहाँहरूले डिसेबल पारा तेक्वान्दो खेलाडीलाई सहयोग गर्ने वचनबद्धता गर्नुभएको छ । यो हाम्रा लागि निकै सकारात्मक पाटो बनेको छ । अर्को महत्वपूर्ण कुरा सम्पूर्ण पदाधिकारीहरूले आफ्नो गच्छेअनुसारको सङ्घ र खेलाडीलाई आर्थिक सहयोग गर्दै आउनुभएको छ । अहिलेको हाम्रो आर्थिक सहयोग यसरी नै जुटिरहेको छ, भोलि अन्यले पनि गर्ने कुरामा हामी विश्वस्त छौँ ।
० यसरी कति दिनसम्म चल्छ त सङ्घ ?
– आफूमा आँट र साहस हुनुपर्छ सङ्घ आफैँ चल्छ । खेलले गतिशीलता त्यसै पाउँछ । हामीले राखेपमा दर्ता भएका अन्य राष्ट्रिय सङ्घ कसरी चलेका छन् त्यो राम्रोसँग देखेका छौँ । तीभन्दा निकै राम्रोसँग आत्मनिर्भर भएर हामी सङ्घ चलाउँछौँ ।
० तेक्वान्दो र पारा तेक्वान्दोलाई एउटै खेल भन्छन्, वास्तविकता के हो ?
– यो निकै महत्वपूर्ण प्रश्न सोध्नुभो, त्यसका लागि धन्यवाद । साँचो रूपमा भन्नुपर्दा तेक्वान्दो र पारा तेक्वान्दो खेल्ने नियम एउटै हुन् । जुन विश्व तेक्वान्दो महासङ्घ (डब्लूटीएफ) नियमअन्तर्गत पर्छ । तर, डिसेबल खेल्ने सिस्टमचाहिँ फरक छ । तेक्वान्दो हातखुट्टा चल्ने खेलाडीले खेल्छन् भने पारा तेक्वान्दोमा हात नभएका खेलाडी मात्र खेल्न पाउँछन् । तेक्वान्दोमा फेसमा हानेर प्वाइन्ट आउँछ भने यसमा फेसमा हान्न पाइँदैन । तेक्वान्दोमा पुन्सेको विधा हुन्छ भने पारामा हुँदैन । दुवै खेलको समयमा पनि एक मिनेटको फरक हुन्छ । पारामा वेटभन्दा पनि समूहमा रहेर खेलिन्छ । यसअन्तर्गत दुई विधा पर्दछन् । जस्तै नाडीभन्दा अङ्ग नभएका, एक हात नभएका, दुवै हात नभएका र दुवै कुहिनाभन्दा मुनि नभएका डिसेबल खेलाडीले मात्र पारामा सहभागिता जनाउन पाउँछन् ।
० तेक्वान्दो सङ्घसँग मिलेर जान सकिन्छ कि सकिँदैन ?
– हामीले नेपाल तेक्वान्दो सङ्घका पदाधिकारीसँगको सल्लाह सुझावपछि मात्रै पारा तेक्वान्दो सङ्घ दर्ता गरेका हौँ । उहाँहरूको शुभेच्छाअनुरूप नै पारा तेक्वान्दो यो स्वरूपमा आएको हो । हाल पाराको समग्र विकास र विस्तारका लागि तेक्वान्दो सङ्घसँग मिलेर अगाडि बढने कुरामा प्रयासरत छौँ । मलाई विश्वास छ, तेक्वान्दो सङ्घले पाराको विकासमा हरेक पक्षबाट सघाउँदै अहम् भूमिका खेल्नेछ ।

खेल समाचार
ताराद्वारा राष्ट्रिय कीर्तिमानमा सुधार
नेपाल प्रहरीकी तारादेवी पुनले चौथो ग्रान्डप्रिक्स क्लालिफाइङ राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको सिनियर महिलातर्फ ७५ केजीमाथि तीन नयाँ राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी छिन् । सातदोबाटोस्थित नेपाल खेलकुद विज्ञान प्रतिष्ठान परिसरमा ताराले स्न्याचमा ६८ केजी र क्लिन एन्ड जर्कमा ९४ केजी गरी कुल एक सय ६२ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी हुन् । ताराको नाममा स्न्याचमा ६७, क्लिन एन्ड जर्कमा ९३ र कुलमा १ सय ६० केजीको कीर्तिमान थियो । उक्त कीर्तिमान ताराले दक्षिण कोरियाको इन्चोनमा भएको १७औँ एसियाली खेलकुदमा बनाएकी थिइन् ।
सिनियरको पुरुषमा आठ र महिलामा सात तथा जुनियर पुरुषमा नौ गरी जम्मा २४ स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको छ । ५४ पुरुष र १६ महिला गरी जम्मा ७० खेलाडी सहभागी छन् । प्रतियोगिता साउन ६ देखि १५ गतेसम्म लगनखेलमा हुने सिनियर पुरुष तथा महिला एसियाली भारोत्तोलन प्रतियोगितामा सहभागी हुने खेलाडीको प्रारम्भिक छनोटका रूपमा समेत रहेको आयोजक नेपाल भारोत्तोलन सङ्घले जनाएको छ । सङ्घका अनुसार यसै प्रतियोगिताबाट राष्ट्रिय टिमको छनोटसमेत गरिनेछ ।

विप्लक राष्ट्रिय च्याम्पियन
विप्लक श्रेष्ठले रेसमान्डुको तेस्रो शृङ्खलाअन्तर्गत राष्ट्रिय बाइकर्स च्याम्पियनसिपको उपाधि जितेका छन् । विप्लकले क्याटोगरी ‘ए’अन्तर्गत २ सय सीसीसम्मको प्रतिस्पर्धामा पनि पहिलो स्थान हात पारेका थिए । तेस्रो पर्वतीय खेलकुद महोत्सवअन्तर्गत नेपाल पर्वतीय खेलकुद महासङ्घको तत्वावधानमा नेपाल अटोमोबाइल खेलकुद सङ्घ (नासा) द्वारा आयोजित रेसमान्डुको क्याटगोरी ‘बी’को २ सय ५० सीसीसम्म सेनविल्सन मोक्तान पहिलो, प्रवीण कार्की दोस्रो तथा नितेश खड्गी तेस्रो भए । सातदोबाटोस्थित नेपाल खेलकुद विज्ञान प्रतिष्ठान परिसरमा भएको महिला बाइकर्स च्याम्पियनसिपमा दीप श्रेष्ठ पहिलो, रोजी गुरुङ दोस्रो तथा वर्षा बस्नेत तेस्रो भएका थिए । कुल पुरस्कार राशि दुई लाख ४० हजार रुपैयाँ रहेको थियो । चारै स्पर्धामा पहिलो हुनेले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजारका दरले नगद पुरस्कार हात पारेका थिए ।

दक्षिण एसियाली ट्रायथलनमा भारत प्रथम
नेपाल ट्रायथलन सङ्घद्वारा आयोजित तेस्रो दक्षिण एसियाली ट्रायथलन तथा राष्ट्रिय ट्रायथलन प्रतियोगितामा दक्षिण एसियाली खेलअन्र्तगत स्ट्यान्डर्डतर्फको खेलमा भारतका आईएल महेश प्रथम भएका छन् । उनले १५०० मिटर पौडी, ४० किमि बाइक र १० किमि दौड दुई घन्टा ४० मिनट २२ सेकेन्डमा पूरा गरेका थिए । नेपाली खेलाडी टीकाराम थापा २:४२:२० का साथ दोस्रो र रुद्र कटुवाल २:४८:१४ का साथ तेस्रो भएका छन् ।
महिलाको स्पिन्टतर्फ भारतकी गतसालकी विजेता पूजा चौरसिया प्रथम भइन् । उनले ७५० मिटर पौडी, २० किमि बाइक र ५ किमि दौड दुई घन्टा ३८ मिनेट ४७ सेकेन्डका साथ पूरा गरेकी थिइन् । द्वितीय स्थानमा भारतकी एमसी लिन्थोनगाम्बी र तेस्रो स्थानमा नेपालकी केशरी थापा भइन् ।
राष्ट्रिय प्रतियोगिताको पुरुष स्ट्यान्डर्डमा टीकाराम थापा २:४२:२० का साथ पहिलो भए भने रुद्र कटुवाल दोस्रो र मनीष श्रेष्ठ तेस्रो भएका थिए ।
स्ट्यान्डर्डको टिममा तीनै स्थान नेपाली सेनाको पोल्टामा गयो । स्पिन्टतर्फ पनि नेपाली सेनाले तिनै स्थानमा कब्जा गरेको थियो । ७५० मिटर पौडी, २० किमि बाइक र ५ किमि दौड वसन्त थारूले २:२१:१९ ले पूरा गर्दै पहिलो भए । दोस्रो स्थानमा हिमाल टमाटा र तेस्रो स्थानमा खेलबहादुर कुमाल भए ।
डुवाथलनको महिलातर्फ ४० किमि बाइक र १० किमि दौड २:३८:३९ का साथ पूरा गर्दै पुष्पाकुमारी भण्डारी पहिलो भएकी थिइन् भने लक्ष्मी मगरले दोस्रो स्थानमा चित्त बुझाउनुपरेको थियो । पुरुषतर्फ २:०२:३८ का साथ मनबहादुर थापामगर पहिलो र रामशरण कार्की दोस्रो र दीपक कठायत तेस्रो भएका थिए ।

राष्ट्रिय फुलकन्ट्याक्ट कराते हुँदै
नेपाल क्योकुसिन कराते डो सङ्घको आयोजनामा १८औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता अर्को साता हुने भएको छ । प्रतियोगिता चैत २० र २१ गते हुने आयोजक सङ्घका अध्यक्ष सिहान जगतप्रसाद गौचनले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । पुरुषतर्फ खुला तौल समूह तथा महिलामा ५५ केजीमुनि र ५५ केजीमाथि तौल समूह गरी जम्मा ३ स्वर्णका लागि भिडन्त हुने आयोजक सङ्घका महासचिव एवम् ब्रान्च चिफ रामजीप्रसाद बज्राचार्यले जानकारी दिए । ५ विकास क्षेत्रबाट ८० पुरुष र ६५ महिला गरी कुल १ सय ४५ खेलाडी सहभागी हुनेछन् ।
पुरुषतर्फ पहिलो हुनेले ३० हजार, दोस्रोले १५ हजार, तेस्रोले सात हजार पाँच सय र चौथोले तीन हजार पाँच सय नगद पुरस्कार हात पार्नेछन् । महिलाको दुवै स्पर्धामा शीर्ष चार स्थान हात पार्ने खेलाडीले क्रमशः ६ हजार, तीन हजार, एक हजार पाँच सय र सात सय ५० का दरले नगद पुरस्कार जित्नेछन् । प्रतियोगता सञ्चालन गर्न करिब १४ लाख ५० हजार खर्च हुने अध्यक्ष गौचनले बताए । खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।

जिल्ला सङ्घलाई अनुमोदन
नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेपाल लोकतान्त्रिक खेलकुद सङ्घको चैत ६ गते बसेको बैठकले गठित विभिन्न जिल्ला सङ्घलाई अनुमोदन गरेको छ । लोकतान्त्रिक खेलकुद सङ्घका अध्यक्ष देवेन्द्रकुमार शेरचनको अध्यक्षतामा बसेको बैठकले १७ लोकतान्त्रिक जिल्ला सङ्घलाई अनुमोदन गरेको सचिव सुबोध प्रधानद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । लोकतन्त्रको माध्यमले खेलकुदलाई एकीकृत गर्ने र खेलकुदको विकास गर्ने उद्देश्यले गठित लोकतान्त्रिक खेलकुद सङ्घले जिल्ला गठनलाई अघि बढाएको थियो ।
गठित जिल्ला सङ्घहरूमा केशभक्त गुरुङको अध्यक्षतामा स्याङ्जा जिल्ला, रमेश पौडेलको अध्यक्षतामा बर्दिया जिल्ला, गोर्खबहादुर शाहीको अध्यक्षतामा हुम्ला जिल्ला, दिलीप पतङ्वा ‘लिङखिम’को अध्यक्षतामा ताप्लेजुङ, भरत यादवको अध्यक्षतामा महोत्तरी, जयन्द्र खड्काको अध्यक्षतामा भक्तपुर, मंगल श्रेष्ठको अध्यक्षतामा सुर्खेत र नेपाल कार्कीको अध्यक्षतामा रौतहट रहेका छन् । यस्तै, तनहुँको अध्यक्षमा तुलसीराम सापकोटा, मनाङको अध्यक्षमा लालबहादुर गुरुङ, दाङको अध्यक्षमा कुमार घिमिरे, खोटाङको अध्यक्षमा महन्त राई, सल्यानको अध्यक्षमा सन्तोष शाह, सुनसरीको अध्यक्षमा देवेन्द्र बास्तोला, दोलखाको अध्यक्षमा हेमराज रिमाल, उदयपुरको अध्यक्षमा आनन्ददेव चौधरी र सर्लाहीको अध्यक्षमा दिलीपराज भण्डारी रहेका छन् ।
नेपाल लोकतान्त्रिक खेलकुद सङ्घले जिल्ला सङ्घ गठन गर्नका लागि आफ्ना केन्द्रीय सदस्यहरूलाई जिल्ला प्रतिनिधिको रूपमा खटाएको थियो । ४२ जिल्ला सङ्घ गठन भएकोमा जिल्ला प्रतिनिधिहरूको प्रतिवेदन केन्द्रमा नआइसकेको कारण १७ बाहेकका अन्य जिल्ला सङ्घलाई अनुमोदन गर्न नसकेको जारी विज्ञप्तिमा जनाइएको छ ।

हङकङमा नेपाललाई तीन कास्य
हङकङ तेक्वान्दो सङ्घद्वारा आयोजित १९औँ एसियन सिरिज तेक्वान्दो प्रतियोगितामा नेपालले तीन कास्य पदक जितेको छ । प्रतियोगितामा मनिता शाही, अस्मिता खड्का र रेखमाया गुरुङले उत्कृष्ट प्रदर्शन गर्दै पदक जितेका हुन् । प्रतियोगितामा आयोजक हङकङलगायत चीन, मकाउ, ताइपेई, मलेसिया, भारत, नेपाल र चीनका अन्य टिम गरी १९ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता सहभागी तिनै नेपाली खेलाडी सेमिफाइनलमा प्रवेश गरेका थिए । सेमिफाइनलमा अस्मिता ताइपेई, रेखमाया र मनिता हङकङका खेलाडीसँग पराजित भएका थिए । एक मात्र स्वर्ण पदकको आशा गरिएकी मनिता शाहीको यात्रा पनि सेमिफाइनलमै टुङ्गिएको थियो ।
नेपाल तेक्वान्दो सङ्घको अनुरोधमा टप माउन्टेन तेक्वान्दो एसोसिएसन हङकङका अध्यक्ष मास्टर गणेश गुरुङले सहभागी खेलाडीका लागि खान, बस्न र अन्य गरी विशेष सहयोग गरेका थिए । त्यस्तै कास्य पदक विजेता खेलाडीको हौसला बढाउन मकाउमा बस्दै आएका नेपालका विभिन्न खेलका पूर्वखेलाडी तथा मकाउ एनआरएनका अध्यक्ष सुदर्शन थापाले एक लाख नगद प्रदान गरेका थिए । उक्त टोलीको नेतृत्व नेपाल तेक्वान्दो सङ्घका केन्द्रीय सदस्य नोर्बु लामाले गरेका थिए । यसैगरी टिम कोचमा कुमार लामा घिसिङ र म्यानेजरमा मनोज खड्गी रहेका थिए ।