सम्झना कप टेटेमा स्यान्टु र नविता च्याम्पियन

सम्झना कप टेटेमा स्यान्टु र नविता च्याम्पियन


नेपाल प्रहरीका द्वय स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठ दोस्रो सम्झना कप राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन् । पुरुष सिंगल्समा स्यान्टु र महिलामा नविता च्याम्पियन बनेका हुन् ।

राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौरमा भएको पुरुष फाइनलमा स्यान्टुले आफ्नै क्लबका विनेश खनियाँलाई ११–६, १३–११, ११–५ र ११–६ को सोझो सेटमा पराजित गरे । नेपाल आर्मीका कृष्ण थापामगर एपीएमका सुनील महर्जनलाई ४–१ ले हराउँदै तेस्रो बने ।

ललितपुर जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला उपाधि भिडन्तमा नविताले आर्मीकी दीक्षा तामाङको चुनौती ११–३, ११–७, ११–८ र ११–६ को सीधा सेटमा समाप्त पारिन् । आर्मीकी स्वेच्छा नेम्वाङले आर्मीकै रविना महर्जनलाई ४–२ ले निराश पार्दै तेस्रो भइन् ।

दुवै सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १२ हजार ५ सयका दर नगद पुरस्कार पाए । विजेतालाई प्रतिनिधिसभाका सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, कलाकार मदनकृष्ण श्रेष्ठ, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य, टेबलटेनिसका मुख्य प्रशिक्षक विनोद शाक्यलगायतले पुरस्कृत गरेका थिए । तीनदिने प्रतियोगितामा विभिन्न १० स्पर्धामा ३ सय ५० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।