ब्वाइज युनियनको मुख्य प्रायोजक डिभाइन वाइन

ब्वाइज युनियनको मुख्य प्रायोजक डिभाइन वाइन


चर्चित ‘बी’ डिभिजन क्लब ब्वाइज युनियनलाई श्री महाकाली वाइन प्रालिको मुख्य उत्पादन ‘डिभाइन वाइन’ले मुख्य प्रायोजन गरेको छ । माघ २१ गते सोमबार आयोजित एक कार्यक्रममा दुवै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सो कार्यक्रममा अखिल नेपाल फुटबल संघका अध्यक्ष छिरिङ शेर्पा, उपाध्यक्ष कृष्ण थापा र महासचिव इन्द्रमान तुलाधरको उपस्थिति रहेको थियो ।


एक वर्षको लागि भएको उक्त सम्झौतामा ब्वाइज युनियन क्लबका अध्यक्ष नीरजबहादुर राउत र श्री महाकाली वाइनका प्रबन्ध निर्देशक सन्तोष खड्काले हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार डिभाइन वाइनले ब्वाइज युनियन क्लबलाई १० लाख प्रदान गर्नेछ । डिभाइन वाइनले गत वर्ष पनि ब्वाइज युनियनलाई प्रायोजन गरेको थियो । ‘बी’ डिभिजन लिग शुभारम्भ हुनुअघि ब्वाइज युनियनले पाएको यो सबैभन्दा ठूलो प्रायोजन हो ।

शहिद स्मारक ‘बी’ डिभिजन लिग केही समयपश्चात् सुरु हुँदै छ । अब ब्वाइज युनियनले उक्त लिग फुटबल प्रतियोगितामा डिभाइन वाइनको जर्सी लगाएर खेल्नेछ । साथै ब्वाइज युनियन क्लबका पदाधिकारीले ‘बी’ डिभिजनमा उत्कृष्ट प्रदर्शन गरेर उपाधि जित्ने बताएका थिए । त्यस्तै एन्फा अध्यक्ष शेर्पाले ब्वाइज युनियनको सफलताको कामना गर्दै ‘ए’ डिभिजनमा उक्लनको लागि शुभकामना दिनुको साथै एन्फाले गर्नुपर्ने कुनै पनि सहयोग पछि नपर्ने बताए ।