सरकारी कामकाजमा नेपाली हाते कागजको प्रयोग घट्यो

सरकारी कामकाजमा नेपाली हाते कागजको प्रयोग घट्यो


–छविलाल बगाले
काठमाडौंको जोरपाटीस्थित मकलबारीका पसबहादुर धिताललाई नेपाली हाते कागज उत्पादन गर्न भ्याई–नभ्याई छ । तर, बजार घट्दै गएकोमा भने उनि निरास छन् ।

लोक्ता र अर्गेली बिरुवाको बोक्रा भिजाएर तयार हुने लेदोबाट नेपाली कागज बनाइन्छ । लोक्ता खोज्ने, भिजाउने, पकाउने र कुट्नेदेखि मेशिनले मसिनो पार्नेसम्मको झन्झटिलो प्रक्रियापछि मात्रै कागज तयार हुन्छ । वनक्षेत्र मासिँदै गएपछि कच्चा पदार्थको अभावका कारण यस्ता कागज उद्योग फस्टाउन भने नसकेकोमा उद्यमी धितालको चिन्ता छ । ‘कुनै बेला सरकारी कामकाजका लागि अनिवार्यजस्तै रहेको ‘नेपाली कागज’को प्रयोग पछिल्लो समय घटेको छ ।’ धितालले भने, ‘सरकारी कार्यालय ‘डिजिटल’ प्रविधि उन्मुख भएपछि नेपाली कागजको प्रयोग घटेको हो ।’

सरकारी कार्यालय ‘पेपर लेस’ भएपछि विस्थापन

प्रविधिले मौलिक उत्पादनलाई विस्थापित गर्छ भन्ने एक उदाहरण पनि हो नेपाली कागज । सरकारले आफ्ना कार्यालय ‘पेपर लेस’ बनाउन थालेपछि यस्तो कागजको प्रयोग निकै घटेको छ । जसको मार उद्योगीमा पर्न थालेको छ । मालपोतसहित अधिकांश कार्यालय ‘डिजिटल’ प्रविधिमा रुपान्तरण हुँदै गर्दा उद्योगी मार बढ्दै गएको बताउँछन् । यसबाहेक कच्चा पदार्थको अभाव, सामुदायिक वनको मनोमानी र जनशक्ति कम हुँदै जानुले पनि यस्ता उद्योग संकटमा धकेलिएका हुन् ।

विदेशमा भने नेपाली कागजको माग उच्च
आन्तरिक बजार घटेपनि विदेशमा भने नेपाली कागजको माग उच्च छ । तर, उत्पादन ह्रास, आफैं बजार खोज्नुपर्ने बाध्यता र नीतिगत समस्याका कारण उद्योगी–व्यापारी निरास छन् । प्रविधिको प्रयोग निरुत्सहित गरी कागजकै भरमा पर्नुपर्छ भन्ने तर्क समय सापेक्ष नभए पनि यस्ता कागज प्रयोग गर्ने वैकल्पिक क्षेत्रको खोजी गर्न भने जरुरी छ । ‘विगतमा बजारमा नेपाली कागजको माग उच्च थियो । तर, यसमा एकातिर दक्ष कामदार पाउन मुस्किल छ भने अर्कोतिर ‘पेपर लेस’ सरकारी कार्यालयका कारण उद्योग धारासायी बन्न थालेको छ ।’ उद्योगी धिताल भन्छन्, ‘गुणस्तरीय नेपाली कागज नेपाल बाहिर बढि जान्छ, नेपालमै पनि खपत हुन्छ । तर सरकारी बेवास्ताका कारण उदोगमा समस्या शुरु भएको छ ।’

नेपाली कागज बिशेष गरेर लामो समयसम्म राख्नु पर्ने दस्ताबेज निर्माणका लागि तयार पारिन्छ । सरकारी अड्डा अदालतदेखि गाउँघरमा तमसुक, बकसपत्र लगायतका काममा प्रयोग गरिन्छ नेपाली कागज । पहिले पहिले नेपाली कागजमा हातले लेखिएकोलाई मात्र आधिकारिक मानिन्थ्यो । तर, प्रविधिको विकाससँगै आजभोली नेपाली कागज कम्प्युटरमा प्रिन्ट गर्न मिल्ने खालका उत्पादन हुन थालेका छन् । नेपाली कागज बलियो र किराले नखाने खालको भएकाले सरकारी कामकाजमा यसलाई बढि प्रयोग गरिन्छ । कागजको माग नेपाल बाहिर भारत हुँदै बिश्वका धेरै मुलुकमा छ ।