त्रिभुवन आर्मी क्लबका सुशील थापा र नेपाल पुलिस क्लबकी दिवान शर्मा तेस्रो वीर गणेशमान राष्ट्रिय बक्सिङ प्रतियोगिता २०७५ को क्वार्टरफाइनलमा पुगेका छन् ।
पुरुष ४९ केजी समूहमा त्रिभुवन आर्मी क्लबका सुशील थापाले प्रदेश ४ का सुरज गुरुङलाई हराए । त्यस्तै नेपाल पुलिस क्लबकी दिवान शर्माले प्रदेश ४ की आकृति गुरुङलाई पहिलो राउन्डमा नै पराजित गरिन् ।
प्रतियोगिताको पहिलो खेलमा पुरुष ४९ केजीमा प्रदेश २ का पवन श्रेष्ठले प्रदेश १ का धर्मेन्द्र राईलाई पराजित गरे । पुरुष ५६ केजी तौल समूहमा प्रदेश १ का सुरेन्द्र राईले प्रदेश ४ का दुथबहादुर परियारलाई पहिलो राउन्डमा नै पाखा लगाए । महिलातर्फ ४६ देखि ४८ केजी तौल समूहमा प्रदेश ५ की सुशीला थापाले प्रदेश २ की सपना गुरुङलाई हराइन् । पुरुष ६० केजी तौल समूहमा प्रदेश ३ का सनिल शाही र प्रदेश ८ का भारत चन्दले जित हासिल गरे ।
सनिलले प्रदेश ६ का सागर श्रेष्ठलाई पहिलो राउन्डमा हराए भने भरतले प्रदेश १ का रोविन प्रधानलाई पराजित गरे । दिनको अन्तिम खेलमा पुरुष ६४ केजीतर्फ प्रदेश २ का किशोर शर्माले प्रदेश ७ का विक्रम चौधरीलाई हराए । सबै विजेता खेलाडीले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।
त्यसअघि उदघाटन समारोहमा बक्सिङका पूर्वखेलाडी एवं प्रशिक्षक सुरेश आलेमगरलाई १ लाख १ हजार नगदसहिद सम्मान गरियो । कार्यक्रमका प्रमुख अतिथि गणेशमान सिंह फाउन्डेसनका अध्यक्ष माननीय प्रकाशमान सिंहले मगरलाई प्रशंसापत्रसहित सम्मान गरेका हुन् । माघ २६ सम्म चल्ने प्रतियोगितामा सातै प्रदेशबाट छनोट भएका उत्कृष्ट खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतिक्रिया