आधुनिक सिङ्गापुरका निर्माता पूर्वराष्ट्रपति ली क्वान यीको गएको मार्च २३ तारिखका दिन निधन भयो भने एक साता लामो शोक मनाएर गत आइतबार उनको अन्त्येष्टि गरिएको छ । १६ सेप्टेम्बर १९२३ मा जन्मिएका लीले एक सामान्य गरिब मुलुकलाई विश्वकै समृद्ध तथा प्रभावशाली मुलुक निर्माण गर्न योगदान गरेका थिए । जसलाई विश्वका अल्पविकसित तथा विकासशील मुलुकहरूले उदाहरणको रूपमा दिने गर्दछन् ।
सिङ्गापुरका पहिलो प्रधानमन्त्री ली सन् १९६५ मा प्रधानमन्त्री भएका थिए । पहिले बेलायत र पछि मलेसियाबाट स्वतन्त्र भएको सिङ्गापुर एक टापु राष्ट्र भएको नाताले आन्तरिक व्यवस्थापन गर्न कम्ती अप्ठ्यारो थिएन । लीको आत्मकथामा समेत प्रधानमन्त्री भएको सुरुका वर्षमा विश्वका केही तत्कालीन प्रभावशाली राष्ट्र एवम् नेताहरूसँग सहयोगको आग्रह गर्दा रुखो जवाफ फर्काएको उल्लेख गरेका छन् । त्यसले पनि उनलाई मुलुकको हितमा गम्भीर भएर सोच्न बाध्य पा-यो ।
ली एक दूरदर्शी र चामत्कारिक व्यक्तित्वका धनी थिए । सानो टापु सिङ्गापुरका अप्ठ्यारा, बाध्यता र आवश्यतालाई गम्भीर भएर अध्ययन गरी स्थानीय विज्ञहरूसँग समेत छलफल गरी सिङ्गापुरका लागि उचित राष्ट्रिय नीति निर्माण गरे । सन् १९६८ मा जारी गरिएको उक्त नीति सिङ्गापुर मोडेलको नामले चर्चित छ । लीका योजना स्पष्ट थिए । सरकारी संयन्त्रहरूलाई अति चुस्त बनाई जनतालाई छरितो सेवा–सुविधा प्रदान गर्ने र सरकारी निकायहरूलाई विश्व प्रतिस्पर्धी बनाउने, खुला अर्थतन्त्र, अमेरिका र चीनसहितका मुलुकहरूसँग सघन सम्बन्ध, सिङ्गापुरको जलक्षेत्रलाई विश्व व्यापारको केन्द्रको रूपमा विकास गर्ने, नियन्त्रित स्वतन्त्रताको व्यवस्थालगायतका नीतिहरू उनले कार्यान्वयन गरे । जसलाई लीले ‘एसियन मान्यता’को मोडल बताएका थिए ।
सिङ्गापुरमा चिनियाँ, मलया र भारतीय गरी तीन राष्ट्रियताका मानिसहरू बसोबास गर्दछन् । सिङ्गापुरलाई विश्वको केन्द्र निर्माण गरेका लीका भनाइ बहुजातीय मुलकले राष्ट्रिय एकता कायम गर्न र स्वतन्त्रतालाई बलियो बनाउन जनताका केही लोकतान्त्रिक अधिकारहरूमाथि बन्देज लगाउनुपर्दछ । आर्थिक र समाजिक स्वतन्त्रतामा अग्रणी मुलुक सिङ्गापुरमा राजनीतिक स्वतन्त्रतामा भने केही बन्देज लगाइएको छ ।
आलोचकहरू लीलाई नरम तानाशाही वा उदार लोकतान्त्रिक सर्वसत्तावादी भनी आलोचना गर्दछन् । करिब ३१ वर्ष देशको प्रमुख कार्यकारी भएका लीले उक्त पद त्यागेको ११ वर्षसम्म पनि मन्त्रिपरिषद्मा विशेष पद सिर्जना गरी राजनीतिको केन्द्रमा रहिरहे । उनको आर्थिक मोडल मात्र होइन कूटनीतिक रूपमा देशलाई विश्व समुदायमाझ बलियो ढङ्गले उपस्थित गराउन सक्नुलाई पनि विज्ञहरू असामान्य ठान्दछन् । लीका शब्दमा चीनका उदार अर्थतन्त्रका अगुवा पूर्वराष्ट्रपति देङ सियायो पिङ विश्वका अति चामत्कारिक नेतामध्येका हुन् । हुन पनि देङले लीको खुवै प्रशंसा गर्दथे । विज्ञहरूका अनुसार लीबाट प्रभावित देङले लीको आर्थिक मोडललाई अनुशरण गरेका थिए ।
ली वास्तवमा सिङ्गापुरका मात्र नभई विश्वले सदा सम्झिरहने एक महान् नेता हुन् । उनको विकासनीति नेपालजस्ता गरिब मुलुकहरूका लागि उदाहरणीय छ । भन्ने गरिन्छ– पूर्वी एसियन देशहरूले सिङ्गापुरको मोडलबाट नै आर्थिक रूपमा नयाँ उचाइ लिएका थिए । अन्तर्राष्ट्रिय राजनीतिका विज्ञहरू कुनै पनि देशको इतिहासमा लीजस्ता नेताहरू जन्मनु विरलै घटना र विश्वकै लागि उदाहरणीय भएको टिप्पणी गर्छन् । प्राकृतिक सम्पदामा कमजोर सिङ्गापुरले गरेको विकासबाट नेपाल जस्तो प्राकृतिक रूपमा विश्वकै धनी मुलुकले सिक्नुपर्ने कुरा धेरै छ । तर, विडम्बना ! गतिलो नेतृत्व नपाएको नेपालले अझै कहिलेसम्म दूषित राजनीति र नेताहरूको पीडा सहनुपर्ने हो अझै निश्चित छैन ।
प्रतिक्रिया