मन्थली मेयर कपमा एक नम्बर प्रदेशको विजयी शुरुवात

मन्थली मेयर कपमा एक नम्बर प्रदेशको विजयी शुरुवात


मन्थली मेयर कप रामेछाप सिभिल भलिबल च्याम्पियनसीपमा प्रदेश नम्बर १ ले विजयी शुरुवात गरेको छ । माघ २२ गते मंगलबार भएको प्रतियोगिताको उदघाटन खेलमा १ नम्बर प्रदेशले कर्णाली प्रदेशलाई २५–१८, २५–२१, २५–२२ ले पराजित ग¥यो । विजयी टोली समूहमा पहिलो भएको छ ।

यसअघि प्रमुख अतिथि संघीय सांसद श्यामकुमार श्रेष्ठले प्रतियोगिताको उदघाटन गरेका थिए । उदघाटन समारोहमा पूर्वसांसद देवशंकर पौडेल र तारानारायण श्रेष्ठका साथै प्रदेश सभा सदस्य शान्तिप्रसाद पौडेल र मुख्य सहआयोजक मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेत विशिष्ट अतिथिको रूपमा उपस्थित थिए ।

रामेछाप जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालित प्रतियोगिता माघ २६ गते शनिबार सम्पन्न हुनेछ । प्रतियोगितामा मन्थली नगरपालिका मुख्य प्रायोजक तथा मुख्य सहआयोजक रहेको छ । यसैगरी रामेछाप नगरपालिका, सुनापती गाउँपालिका, खाँडादेवी गाउँपालिका, लिखु तामाकोसी गाउँपालिका, उमाकुण्ड गाउँपालिका, गोकुलगंगा गाउँपालिका र दोरम्बा गाउँपालिका सहआयोजक रहेका छन् ।

कुल ७ लाख २५ हजार पुरस्कार राशि रहेको प्रतियोगितामा ६ प्रादेशिक टोलीसहित रामेछापका तीन टोलीको सहभागिता रहेको छ । रामेछापका नमुनादीप युवा क्लब, शान्तिदीप युवा क्लब र प्याराडाइज युवा क्लबको सहभागिता रहेको छ । प्रायः सबै टोलीमा राष्ट्रिय स्तरमा परिचित खेलाडीहरू रहेका छन् । गत संस्करणमा सुदूरपश्चिमको टोलीले उपाधि जितेको थियो भने शान्तिदीप युवा क्लब उपविजयी भएको थियो ।