आयातीत विकृतिहरू– विनोद त्रिपाठी

आयातीत विकृतिहरू– विनोद त्रिपाठी


nice phortoहामी करिब ५० लाख नेपाली कुनै न कुनै रूपमा भारतमा बस्छौँ । यसको कुनै आधिकारिक तथ्याङ्क नभए पनि विभिन्न संस्थाको अनुमानमा यही सङ्ख्या सार्वजनिक हुँदै आएको छ । हाम्रो करिब–करिब सम्पूर्ण व्यापार–व्यवसाय भारतसँग निर्भर छ । भूपरिवेष्ठित मुलुक भएकाले समुद्रपारको व्यापारमा पनि भारतकै सहयोगमा चल्नुपर्ने अवस्था छ । हाम्रा अधिकांश दैनिक आवश्यकताका वस्तुहरू दाल, चामल, नुन, चिनी, अरू खाद्यान्न वस्तुहरू पनि भारतबाट ल्याउनुपर्ने अवस्था छ । यीबाहेक धेरै प्रत्यक्ष र अप्रत्यक्ष सहयोग र सहकार्यबाट भारतसँगको हाम्रो सम्बन्ध अन्य देशको भन्दा अति विशिष्ट खालको रहँदै आएको छ । तर, यति हुँदाहुँदै पनि हामीले भारतबाट डरलाग्दो गरी भित्रिएका विकृतिलाई न नागरिक तहबाट आँकलन ग-यौँ न राज्य तहबाट गम्भीर बनेर अनुसन्धान गरियो । यो लापरबाहीकै कारण सानो, तर सार्वभौम हाम्रो मुलुक त्यहाँको खराब समाजकै आधारमा अघि बढिरहेको छ । यसको चासो, अध्ययन र निराकरण तुरुन्त गर्न सकिएन भने कुनै दिन भौतिक रूपमा नेपाल शक्तिशाली बने पनि सामाजिक उत्पीडनमा झन्झन् कमजोर बन्नेछ । त्यसैले सीमापारीको समाजका कतिपय विकृत पक्ष कसरी नेपाल भित्रिरहेका छन् यसबारे नागरिक तहमा जानकारीको आवश्यक देखिएको छ ।
२८ राज्यमध्ये हिमाञ्चल प्रदेश, उत्तर प्रदेश, बिहार, झारखण्ड भारतका सामाजिकस्तरमा कमजोर राज्य मानिन्छन् । यी राज्य विश्वमै राज्यतहमा धेरै जनसङ्ख्या मात्र भएका क्षेत्रमा पर्दैनन्, हत्या, हिंसा, उत्पीडन, गरिबी, भोकमरी, दरिद्रता, महिला हिंसा, अशान्त, युद्ध, रोगको महामारी, प्राकृतिक विपत्ति पनि उति नै अघि छन् । नेपालबाट टाढा हैदरावाद, गुजरात, चेन्नई, उडिसा, केरालालगायतका राज्य विश्वमै उत्कृष्ट क्षेत्रमा पर्छन् । केरालामा त ९९ प्रतिशत शिक्षित मानिस बसोबास गर्छन् । त्यसैले छिमेकी हुनुको नाताले सिमाना जोडिएका राज्यको खराब र हिंसात्मक प्रभाव सोझै हाम्रो मुलुकमा प्रवेश भएका छन् । यसका खराब पक्षका विश्लेषण तुरुन्तै गर्न सकिएन भने नेपालभित्र विकृति प्रवेश गर्ने मात्र होइन, अपराधको थलो पनि बन्न सक्छ । नकारात्मक प्रभावको असर भारतीय सिमाना गाउँमा एक रात बस्यो भने सबै स्पष्ट हुन्छ । अन्धविश्वास, कुरीति, महिलामाथि चरम दमन, सामन्ती प्रथा, ठाकुरराम शैली, आधुनिक सञ्चार अभाव, भारतबाट भित्रिने जङ्गली हात्तीको आतङ्कलगायतका गम्भीर समस्याले सिमानाका नेपालीलाई पीडित बनाइदिएको छ ।
दिल्ली, बम्बैजस्ता शहरका केही निकायहरू जस्तै– टेलिभिजन क्षेत्र, फिल्मी क्षेत्र, राजनीति क्षेत्रबाहेक अन्य ठाउँमा महिला उपस्थिति न्यून रहेको पाइन्छ । आधुनिक जीवनशैली पछ्याउन त्यहाँका महिला सक्दैनन् । यो आधुनिक जीवनयापन कुनै एक पेसा फिल्मी क्षेत्रभन्दा हुन्छ, त्यसबाहेक अन्य ठाउँमा अनुहार नै ढाकिने कपडा लगाएर महिला हिँड्नुपर्ने बाध्यता छ । बिहार, झारखण्ड र उत्तर प्रदेशमा त सारीकै फेरोले अनुहार छोपेर हिँड्ने महिला र कुर्तासलवारको सलले मुख छोपेर हिँडेका छोरीहरू भेटिन्छन् । त्यो पनि एकाध आफ्ना अभिभावकसँग मात्र । अझै पनि छोरी पढाउने अभियान जारी छ । छोरीलाई पढाउनुपर्छ भन्ने ज्ञान कतिपय घरमा छैन । बिहेमा दाइजोको नाममा हुने अपराध कहालीलाग्दो छ । स्वतन्त्र रूपमा आत्मनिर्भर बनेका छोरीहरू यस्ता क्षेत्रमा जीवन व्यतीत गर्नै सक्दैनन् । कि उनीहरू दिल्ली, बम्बैजस्ता ठूला शहर पस्छन् कि युरोप–अमेरिकामा हराउँछन् ।
हामीले सोच्नुपर्छ भारतबाट जीवन बचाउने नुन मात्र आउँदैन, मानिसलाई अपाङ्ग बनाउने एसिड पनि भित्रिन्छ । चिनी मात्र आउँदैन, विष पनि आउँछ । विश्वमा धेरै मुलुकले सिमाना जोडिएका मुलुकमा दुवैतर्फका नागरिकका लागि भिसा प्रणालीमा खुकुलो बनाएका छन् । अमेरिका–क्यानाडा प्रवेशाज्ञामा निकै खुकुलो छ । तर, त्यही अमेरिकाले आफ्नो सिमानामा जोडिएका मेक्सिको, पेरूलगायतका नागरिक र त्यो बाटो भएर भित्रिने अन्य मुलुकका व्यक्तिलाई सजिलै भिसा दिँदैन । रुसले हिजो सोभियत सङ्घअन्तर्गतका मुलुकमा आउजाउमा सजिलो बनाइदिएको छ । युरोपका सेन्जनअन्तर्गतका २७ मुलुकमा सबै मानिसलाई घुमफिरमा समस्या छैन । यसरी विश्वका अन्य देशबीच भिसा नभईकन ओहोरदोहोर गर्न पाइने प्रणाली नभएको होइन, तर ती देशको अवस्था र सामाजिकस्तर समान छन् । सिमाना जोडिएका भएर पनि सामाजिक अवस्था खराब भएका देशसँग विकसित मुलुकले कडाइ गर्र्दै आएका छन् ।