भेनेजुएलाका विषयमा मेरो, पार्टीको र देशकै भनाइ एउटै : प्रचण्ड

भेनेजुएलाका विषयमा मेरो, पार्टीको र देशकै भनाइ एउटै : प्रचण्ड


पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेनेजुएलाका विषयमा आफूले जारी गरेको विज्ञप्तिमा अडिग रहेको बताएका छन् ।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर चितवनले बिहीबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले त्यो वक्तव्य एउटा राजनीतिक वक्तव्य भएको स्पष्ट पारे । एउटा स्वतन्त्र, सार्वभौमसत्तासम्पन्न राष्ट्रको राजनीतिक घटनाक्रममा बाहिर कतैबाट हस्तक्षेप नहोस् भन्ने उद्देश्यले विज्ञप्ति जारी गरेको उल्लेख गर्दै प्रचण्डले भने, ‘परराष्ट्र मन्त्रालयबाट जो स्टेटमेन्ट जारी भयो त्यो पनि मूलतः त्यही स्प्रिटमा नै आयो ।’

मंगलबार प्रधानमन्त्रीसमेतको सचिवालयको बैठक बसेर पनि हस्तक्षेपको विरोधमा नै विज्ञप्ति जारी भएकाले अब अरू कुराको अर्थ केही नलाग्ने उनले बताए । आफूले विज्ञप्ति जारी गरिसकेपछि केही मिडियामा फसाइयो भनेर आएपछि पुनः स्पष्टसमेत पारिएको उनले बताए ।

अर्को एक सन्दर्भमा प्रधानमन्त्री र परराष्ट्रमन्त्री देशबाहिर भएका बेला विभिन्न देशका राजदूतहरूले शान्तिप्रक्रियाका विषयमा जारी गरेको विज्ञप्तिलाई नेपालको मामिलामाथिको अनावश्यक चासोको अभिव्यक्ति भएको दाहालले टिप्पणी गरे ।

दाहालले सरकारले जनताको पक्षमा नयाँ–नयाँ काम गरिरहेको बताए । उनले भने, ‘सरकारले लगातार गति पक्रन थालेको छ । तपाईं हेर्दै जानुस् केही समयपछि अझै तीव्रता पाउँछ ।’ पत्रकारको अर्को एक प्रश्नमा दाहालले सकेसम्म यही महिनाभित्र नभए फागुनको पहिलो साताभित्र पार्टीको तल्लो तहसम्म एकता भइसक्ने बताए । आज कार्यदलले रिपोर्ट दिएपछि एकता टुंग्याएर अभियानमा लाग्ने उनको भनाइ छ । फागुन र चैतमा पार्टीले गरेका कामसमेतलाई जानकारी गराउँदै गाउँगाउँमा अभियान गरिने उनले बताए ।

आफ्नो क्षेत्रमा धेरै काम भएको भन्ने प्रश्नमा प्रचण्डले सबै योजना अहिलेको नभएर पूर्ववर्ती सरकारको पालाको भएको प्रस्ट पारे । आफ्नै निर्वाचन क्षेत्रमा पर्ने माडीवासीको समस्याको विषयमा प्रधानमन्त्रीसमेत सकारात्मक भएको बताउँदैै उनले माडीको विकास, जनताको सुरक्षा र निकुञ्जको विषयमा ठोस कदम चाल्न लागिएको उल्लेख गरे ।