हिसान खेलकुद सप्ताहमा सुरु, पाँच खेलमा भिडन्त हुने

हिसान खेलकुद सप्ताहमा सुरु, पाँच खेलमा भिडन्त हुने


उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को संयोजन तथा हिसान काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा चौथो हिसान उपत्यकाव्यापी खेलकुद सप्ताह माघ २४ गते बिहीबारदेखि शुरु भएको छ ।

प्रतियोगितामा फुटसल, बास्केटबल, भलिबल, टेबलटेनिस र टग अफ वारमा प्रतिस्पर्धा हुने खेलकुद सप्ताहका संयोजक रामहरि सिलवालले आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

माकलबारीमा हुने फुटसलको छात्रमा २५ र छात्रामा ७ टिम सहभागी हुनेछन् । बसुन्धरास्थित ऋत एकेडेमीमा हुने बास्केटबलको छात्रमा २५ र छात्रामा ८ तथा नेसनल मावि, बालकुमारीमा हुने भलिबलको छात्रमा १८ र छात्रामा १० टिमको सहभागिता रहनेछ ।

नयाँ बानेश्वरको प्रिमियर कलेजमा हुने टेबलटेनिसमा ४० प्रतिस्पर्धीले भाग लिने बताइएको छ । टेबलटेनिसमा छात्र–छात्रा सिंगल्स र डबल्स स्पर्धा समावेश छन् । प्रिमियरमै हुने टग अफ वारमा २२ टिमले सहभागिताका लागि नाम दर्ता गराएका छन् ।

खेलकुद सप्ताह सञ्चालनका लागि करिब १५ लाख रुपैयाँ खर्च हुने हिसानका केन्द्रीय अध्यक्ष रमेश सिलवालले जानकारी गराए । ‘पहिलो मित्रता अनि प्रतिस्पर्धा’ भन्ने नाराका साथ हुन लागेको खेलकुद सप्ताहकै दौरान कविता, वक्तृत्वकला र हाजिरीजवाफ पनि हुने आयोजकले जनाएको छ ।