ललितपुरको रिमिक्स ब्याडमिन्टन क्लबका रदीप महर्जन र भुवन श्रेष्ठको जोडी नवौँ बबिन स्मृति खुला ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ ।
किङ कम स्पोर्टस क्लब, भीमसेनगोलाको आयोजनामा भएको प्रतियोगिताको क्वाटरफाइलनमा महर्जन र श्रेष्ठको जोडीले आयोजकका राजु रायमाझी र विजय थापाको जोडीलाई २१–१३, २१–१३ को समान अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
अर्को खेलमा तिनचुली ब्याडमिन्टन क्लबका अभिशेष गुरुङ र आकाश छन्त्यालको जोडीले योङ स्टार ललितपुरका सुमन शाक्य र सुनील शाक्यको जोडीलाई २१–१९, २१–११ को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेशका लागि रिमिक्सका रदीप र भुवनको जोडीसँग सामना गर्ने भएको छ ।
यसका साथै सेमिफाइनल समीकरण पूरा भएको छ । मंगलबार सम्पन्न खेलबाट कम्प्लिट हेल्थ क्लब, बानेश्वरका पेम्बा शेर्पा र लोक लामाको जोडी तथा देउराली क्लबका हिमांशु श्रेष्ठ र थम रानाको जोडी पनि सेमिफाइनल प्रवेश गरिसकेका छन् ।
प्रतिक्रिया