विश्व पारा तेक्वान्दोमा नेपाललाई कांस्य

विश्व पारा तेक्वान्दोमा नेपाललाई कांस्य


टर्कीको एन्टाल्यामा आयोजना भएको आठौँ विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडी विक्रम श्रेष्ठले कांस्य पदक जितेका छन् । माघ २३ गते बुधबार पी–३२ एकल पुम्सेमा प्रतिस्पर्धा गरेका विक्रम सेमिफाइनलमा रुसका एन्ड्रेई ग्राभोस्कीसँग २०–७ अंकले पराजित हुँदै कांस्य मा सीमित भएका हुन् ।

पहिलो खेलमा बाई पाएका विक्रमले त्यसपछि भएको भिडन्तमा मोरक्कोका विलाल खट्टावीलाई ६–५ अंकले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको नेपाली टोलीका प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिए ।

च्याम्पियनसिपको यू–३० स्पर्धामा रुसका एन्ड्रेई ग्राभोस्किट पहिलो, क्रोएसियाका दामाजोव भुसिस दोस्रो, नेपालका विक्रम श्रेष्ठ र इटालीका रिकार्डो जिम्मरम्यान संयुक्त रूपमा तेस्रो भएका थिए ।

पारा पुम्सेमा नेपालले पहिलो अन्तर्राष्ट्रिय पदक जितेको प्रशिक्षक लामाले जनाएका छन् । विक्रमले पहिलो सहभागितामै कांस्य पदक जितेका हुन् । ग्यारोगीतर्फ नेपालकी पलेसा गोवद्र्धनले ब्राजिलकी डेबोरा मेनेजेजसँग प्रतिस्पर्धा गर्नेछिन् । उनले के–४४ क्याटगोरीको ४९ केजीमुनि प्रतिस्पर्धा गर्नेछिन् ।
च्याम्पियनसिपमा ६९ राष्ट्रका ४ सय २५ खेलाडी सहभागी भएको प्रशिक्षक लामाले जानकारी दिए । सन् २०२० मा जापानको टोकियोमा आयोजना हुने ३२औँ गृष्मकालीन ओलम्पिकको छनोटका रूपमा वल्र्ड च्याम्पियनसिपलाई हेरिएको छ ।