आठौँ राष्ट्रिय खेलकुद अभिमुखीकरण कार्यक्रम

आठौँ राष्ट्रिय खेलकुद अभिमुखीकरण कार्यक्रम


पाँच नम्बर प्रदेशमा आयोजना हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई पारदर्शी, कम लागत तथा भव्य रूपमा सम्पन्न गर्न आठौँ राष्ट्रिय खेलकुद सचिवालयले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेल परिसरमा आठौँ राष्ट्रिय खेलकुद अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राखेपका सदस्यहरू, विभागीय प्रमुखहरूका साथै ७ प्रदेशका संयोजक, कार्यालय प्रमुख र लेखा प्रमुखहरू र राखेपका कर्मचारीको उपस्थिति रहेको थियो ।

आठौँ राष्ट्रिय खेलकुदलाई पारदर्शी, कम लागत, विवादरहित भव्य रूपमा सम्पन्न गर्न आइपर्ने विभिन्न कठिनाइ तथा प्रतियोगिताका लागि निर्माण गरिएको आर्थिक निर्देशिका तथा प्राविधिक विषयबारे छलफल भएको थियो । उक्त कार्यक्रमका उपस्थित व्यक्तिले प्रतियोगिताका दौरान आइपर्ने विभिन्न कठिनाइलाई समाधान गर्ने र निर्देशिकामा रहेका प्रावधानहरूमा देखिएका त्रुटिबारे औँल्याएका थिए ।

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव विष्टले आठौँ राष्ट्रिय खेलकुदलाई विगतभन्दा फरक ढंगले सञ्चालन गर्न र उक्त प्रतियोगितालाई पारदर्शी, कम लागत र विवादरहित भव्य रूपमा सम्पन्न गर्न प्रदेश संयोजक, कार्यालय प्रमुख र लेखा प्रमुखहरूलाई निर्देशन दिएका थिए ।

एकदिने उक्त कार्यक्रममा कोष तथा लेखा निर्देशन कार्यालय, त्रिपुरेश्वरका प्रमुख भोजराज पौडेल तथा महालेखा परीक्षणका निर्देशक जयराम घिमिरेलगायतका उपस्थित व्यक्तिलाई आर्थिक दायरामा बसेर कार्य गर्नुका साथै लेखा चुस्तदुरुस्त राखी समयमै पेस्की फस्र्योटसम्बन्धी कार्य गर्न सुझाएका थिए ।