क्रिकेटर बोहराको गृहनगरमा भव्य स्वागत

क्रिकेटर बोहराको गृहनगरमा भव्य स्वागत


हालै संयुक्त अरब इमिरेट (युएई) मा सम्पन्न टी–२० क्रिकेटमा ‘म्यान अफ दी सिरिज’ को उपाधि जित्न सफल अभिनाश बोहरालाई उनको गृहनगर नेपालगञ्जमा भव्य स्वागत गरिएको छ । बोहरालाई स्वागत गर्ने क्रममा नगर परिक्रमा पनि गराइएको थियो ।

बाँके जिल्ला क्रिकेट संघको अगुवाइमा पुष्पलाल चोकबाट शुरु भएको नगरपरिक्रमा धम्बोझी, बीपी चोक हुँदै त्रिभुवन चोकमा पुगेर समापन भएको क्रिकेट संघका बाँकेका अध्यक्ष दुर्गाबहादुर थापामगरले जानकारी गराएका छन् ।

सम्मान तथा स्वागत कार्यक्रममा बाँकेका खेलप्रेमी, समाजसेवी, खेलाडी नगरवासीहरूको उल्लेख्य सहभागी रहेको थियो । सम्मान कार्यक्रममा प्रदेश सांसद सुरेन्द्र हमालले आफू पनि पूर्वखेलाडी भएकोले खेलाडीको समस्यामा सधैँ हातेमालो गरेर अगाडि जाने बताए ।

कार्यक्रम नेपालगञ्ज उपमहानगरपालिकाकाका उपप्रमुख उमा थापामगरले नगरपालिकाको तर्फबाट पनि बोहरालाई सम्मान कार्यक्रमको आयोजना गर्ने बताइन् । थापामगरले अहिले कार्यविधि निर्माणको क्रममा रहेकाले छिटै सम्मानको कार्यक्रम राख्ने बताइन् ।

बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गा थापामगरको सभापतित्वमा भएको कार्यक्रममा क्यानका केन्द्रीय सदस्य सञ्जयराज सिंह, खेल खेलकुद विकास समिति अध्यक्ष आतंक बस्नेत, प्रशिक्षक दीपेन्द्रप्रताप सिंहलगायतको सहभागी रहेको थियो ।

बोहरा पहिलोमा १, दोस्रोमा ३ र तेस्रो खेलमा २ विकेट लिँदै डेब्यु खेलमै ६ विकेट लिएर ‘म्यान अफ दी सिरिज’ घोषित भएका थिए । बोहराले बाँके जिल्लाको हुँदै मध्यपश्चिमको प्रतिनिधित्व गरेर थुप्रै राष्ट्रिय प्रतियोगिता खेलेका छन् । बोहरा स्थानीय नेपाल टाइगर क्रिकेट क्लबबाट खेल्दै आएका छन् ।