सम्पत्तिको नाममा तीनवटा मोबाइल सेट मात्र रहेको देखाउने ‘स्वच्छ छविका इमानदार’ प्रधानमन्त्री सुशील कोइरालाले आफूसँग रहेको ६ करोड रुपैयाँ हराएको बताउन थाल्नुभएपछि काङ्गे्रसभित्र त्यसले तरङ्ग पैदा गरेको छ । पार्टीका कतिपय नेताहरूसँगको भेटवार्ताका क्रममा कोइरालाले महाधिवेशनको लागि भनेर राखेको ६ करोड रुपैयाँ एक समय स्वकीय सचिव रहेका लक्ष्मण ढकालले लगेको बताउन थाल्नुभएको चर्चा चलिरहेका बेला गत साताको बुधबार जनआस्थाले त्यससँग सम्बन्धित एक समाचार प्रकाशित गरेपछि यो विषयले थप चर्चा पाएको छ । ६ करोड रुपैयाँ हराएको भनी प्रधानमन्त्री कोइरालाले पार्टीका आफ्ना विश्वासप्राप्त नेताहरूलाई बताउनुहुँदा कोइरालाले त्यति ठूलो रकम आफूलाई कसरी प्राप्त भएको हो सो भने खुलाउनुभएको छैन । तर, उक्त रकम संविधानसभाको निर्वाचनअगाडि कसैले उपलब्ध गराएको बुझिन आएको छ । सुशील कोइरालाले निकै दुःखले सङ्कलन गर्नुभएको नगद तपाईंले नै हात पार्नुभएको हो त भनी घटना र विचारले लक्ष्मण ढकालको ध्यानाकर्षण गर्दा उनको भनाइ छ, ‘मैले सुशील कोइरालाको सहयोगीका रूपमा डेढ दशक समय अवश्य बिताएको हुँ । यस अवधिमा उहाँलाई कसरी सफल बनाउने भन्नेमा मात्र म तल्लीन थिएँ । रकमकलमका कुरामा मेरो रुचि थिएन, मैले चासो लिँदैनथेँ । कसैसँग कुनै डिल गर्नुछ भने उहाँ आफैँले गर्नुहुन्थ्यो । उहाँले कति नगद जम्मा गर्नुभएको छ या थियो भन्ने मेरो जानकारीमा छैन ।
० तपाईंले ६ करोड लैजानुभएको भन्नेचाहिँ गलत नै हो त ?
– यो कुरा मैले पत्रिका पढेपछि थाहा पाएँ । सुशील कोइरालाजीले मलाई धेरै राम्रोसँग चिन्नुहुन्छ । मेरो परिवारले प्रजातान्त्रिक आन्दोलनका क्रममा पाएको दुःख, कष्ट र हैरानीबारे पनि उहाँ जानकार हुनुहुन्छ । उहाँले त्यस्ता वाहियात कुरा कसैसँग गर्नुभयो होला भन्ने मलाई लाग्दैन, गर्नुभएकै हो भने आतङ्कित मानसिकताको उपज हुनसक्छ । उहाँको सहयोगीको नाताले मलाई उहाँका राम्रा–नराम्रा दुवै पक्षको जानकारी हुने त भइहाल्यो । महाधिवेशनको समयमा मैले मुख खोल्ने त्रासले उहाँ आतङ्कित भएर बर्बराउनुभएको पनि हुनसक्छ । म पनि काङ्गे्रसको जिम्मेवार कार्यकर्ता हुँ, सुशील कोइरालाको स्वकीय सचिवकै रूपमा मात्र चिनिनुपर्ने व्यक्ति म होइन । मेरो पनि आफ्नै राजनीतिक करिअर छ, मेरो छवि धमिल्याउने षड्यन्त्रस्वरूप यस प्रकारको प्रचारबाजी भएको हुनसक्ने मेरो ठम्याइ छ ।
० तपाईंले कोइरालाको लागि नगदको ‘डिल’चाहिँ कसैसँग पनि गर्नुभएन त ?
– मैले मेरो साथी र इष्टमित्रहरूको सहयोगमा सुशील कोइरालाको सचिवालय चलाएको हुँ । त्यसमा लुकेका कुरा केही छैनन्, सबै पारदर्शी छन् । गिरिजाबाबुको देहान्त भइसकेपछि सुशील कोइरालाको जिम्मेवारी बढ्यो र बसोबास पनि स-यो । संविधानसभाको दोस्रो निर्वाचनभन्दा अगाडिको कुरा हो– कसैले खाद्यान्न, कसैले घरभाडा, कसैले इन्धन र कसैले टेलिफोनको बिल तिर्ने व्यवस्था गरिएको थियो । सुशीलजी प्रधानमन्त्री बनेपछि म पनि ६ महिना बालुवाटारमै बसेँ, तर उहाँको भान्साको लागि दाल, चालम पनि मेरै तलबबाट व्यवस्था गरिन्थ्यो । मैले सुशील कोइरालालाई बदनाम हुनबाट सधैँ जोगाउने प्रयास गरेँ, तर नसकिने भएपछि छोडेर हिँडेको हुँ । नातेदार र परिवारका सदस्यलाई बालुवाटारमा भित्याउन थालेपछि म बाहिरिनुपर्ने अवस्था आएको हो । मलाई बदनाम गर्ने षड्यन्त्र पनि उहाँकै नजिकका मान्छेहरूबाट भएकोजस्तो मलाई लाग्छ ।
० तपाईंको लामो सङ्गतमा सुशील कोइरालालाई साँच्चै कस्तो पाउनुभयो ? उहाँ देखिएजस्तै इमानदार र निष्कलङ्कित नै हो त ?
– समग्रमा सुशील कोइराला के हो त्यतापट्टि म अहिले जान चाहन्न । समय आएपछि धेरै कुरा खुल्न सक्छन्, तर प्रधानमन्त्री हुनुभन्दा अघिसम्म त्यति खराब मानिस भएको महसुस मैले गरिनँ । इमानदार ठानेर नै मैले उहाँलाई सहयोग गरेको हो । तर, उहाँको डिलिङ कोसँग कसरी हुन्थ्यो त्यसमा चाहिँ मैले कहिल्यै चासो राखिनँ ।
० प्रधानमन्त्री बन्नुअघि चाहिँ तपाईंलाई परिवारका सदस्यले सहयोग गरेका थिए ?
– होइन, सुशील सभापति बन्नुअघि कोइराला परिवारभित्र उहाँ उपेक्षितजस्तै हुनुहुन्थ्यो । सभापति भइसकेपछि एकपटक उहाँलाई सशांक कोइरालाको घरमा लगेर थन्क्याउने योजना पनि बनेको थियो । तर, सुशीलजीले त्यसबेला ‘लक्ष्मणजी म सशांककोमा सर्छु त भनिरहन्छु तर सर्नचाहिँ सर्दिनँ’ भन्नुभयो र मैसँग बसिरहनुभयो । प्रधानमन्त्री भइसकेपछि उहाँ आफैँ नातेदार र परिवारका सदस्यतिर लहसिन थाल्नुभयो । म बालुवाटारमा रहिन्जेल दलाल र भ्रष्टहरूलाई बालुवाटारमा छिर्न नदिएकै हो ।
० बालुवाटार छोडेपछि तपाईंमाथि अनेक आरोप लाग्न थाल्यो, होइन ?
– हो, मैले बालुवाटार छोडेको दुई महिनापछि सुशीलजीको पुरानो बासस्थानबाट बाह्र लाख रुपैयाँ हराएको भन्ने कुरा आयो । त्यसबेला मलाई बदनाम गर्ने षड्यन्त्र भएको मैले ठानेका थिएँ । तर, तीनवटा मोबाइल फोन मात्र भएका व्यक्तिले बाह्र लाख कहाँबाट ल्याए भनी प्रश्न उठ्न थालेपछि प्रधानमन्त्री आफैँले त्यस्तो समाचारको खण्डन गर्नुभयो । अहिले ६ करोडको कुरा आएको छ । यस विषयमा तत्काल छानबिन गरिनुपर्छ । छानबिनको दायरामा मलाई राख्नुप-यो, सुशील कोइराला र उहाँका नातेदार तथा परिवारका सदस्यमाथि पनि छानबिन हुनुप-यो । ६ करोड हराएकै हो भने अरू कति पैसा जोगिएको छ, कोठाको या सेफको साँचो कोसँग छ भनेर राम्ररी अनुसन्धान गर्ने हो भने सबै कुरा सार्वजनिक जानकारीमा आइहाल्छ नि । त्यसैले म भन्छु तुरुन्त छानबिन हुनुप-यो ।
० तपार्इंले सुशील कोइरालाबाट धोखा पाउनुभएको बुझियो, तर उहाँबाट धोखा हुनसक्छ भन्ने अनुमान र आशङ्का तपाईंले कहिल्यै गर्नुभएन ?
– हेर्नुस्, मेरो परिवारले प्रजातान्त्रिक आन्दोलनमा धेरै दुःख पाएको थियो । मेरो बाबा, आमा र परिवारका अरू सदस्यले पञ्चायतकालमा दुःख पाएको भए पनि एउटा निष्ठाका लागि भएकोले हामीले हाँसी–हाँसी सह्यौँ । मेरो बाबाले मलाई सधैं सत्य, निष्ठा र इमान नछोड्न भन्नुहुन्थ्यो । सुशीलको व्यवहारले अहिले मेरा बाबालाई धेरै चित्त दुःखेको छ । जहाँसम्म धोखाधडीको कुरा हो, मैले सुशीलजीबाट धोखा पाउने सोचेको थिइनँ, तर गिरिजाबाबुले चाहिँ एकपटक मलाई सचेत गराउनुभएको थियो । शैलजा दिदी (शैलजा आचार्य) बित्नुभन्दा एक–डेढ वर्षअघि सुशील कोइरालालाई दिदीसँग भेट गराएको थिएँ । गिरिजाबाबुले थाहा पाउनुभएछ, मलाई बोलाएर ‘किन भेटाउनुपरेको’ भनी रिसाउनुभयो र त्यसबेला उहाँले मलाई सम्झाउँदै भन्नुभएको कुरा मेरो कानमा अहिले पनि गुञ्जिरहेको छ । गिरिजाबाबुले भन्नुभएको थियो, ‘लक्ष्मण, मलाई थाहा छ तिमी इमानदार छौ, तर सुशीललाई चिनेका छैनौ । त्यो मान्छे धोखेबाज हो, तिमीले धोखा पाएपछि चिन्ने छौ ।’ त्यसबेला मैले उहाँको कुराको पर्वाह नै गरिनँ । म सुशीलजीको सहयोगीका रूपमा रहनेबित्तिकै सुरुवाती दिनहरूमा मेरो शुभचिन्तकहरूले ‘तँ अब काशीवासमा जाने भइस्’ भन्थे । सुशीलजीकै सहोदर भाञ्जाले के भनेका थिए त्योचाहिँ अहिले नभनौँ ।
प्रतिक्रिया