‘विज्ञ अर्थमन्त्री हुँदापनि बैंकको व्याजदर घटेन’

‘विज्ञ अर्थमन्त्री हुँदापनि बैंकको व्याजदर घटेन’


पूर्व अर्थसचिव युवराज भुषालले लामो समयपछि मुलुकमा स्थायी सरकार गठन भएकोले सरकारले सोहीअनुसारको संरचनात्मक वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले भने,‘सरकार साना तिना कुरामा नअल्भिएको भए हुन्थ्यो ।’

उनले वर्तमान अर्थमन्त्री आँफै विज्ञ र लामो समय यो क्षेत्रमा काम गरेर खारिएर आएको व्यक्ति भएकोले अहिले देखिएको बैंकहरुको व्याजदरको समस्या समाधान गर्न पहल गर्नुपर्ने सुझाव दिए । उनले भने,‘अर्थमन्त्री आँफैमा विज्ञ हुनुहुन्छ, अब उहाँभन्दा जान्ने अरु को होला र ? बैंकहरुको व्याजदरको समस्या सुन्दा कर्णप्रिय लागेको छैन् ।’ राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षण पनि कमजोर बनेकाले समस्या भएको उनको तर्क छ । ‘नियमन फितलो भयो की भन्ने मेरो बुझाई हो ।’

नेपालमा नीति निर्देशिका स्पष्ट नभएको सुनाउँदै भुषालले यसतर्फपनि सरकारले सोच्नुपर्ने धारणा राखे । उनले भने,‘अहिले देखिएको बैंकहरुको व्याजदरको समस्याको समाधान गर्न अर्थ मन्त्रालय, राष्ट्र बैंक, उद्योग वाणिज्य महासंघ र बैंकर्स एशोसिएशन चार वटै पक्ष एक ठाउँमा बसेर टेबलु टक गर्नुपर्छ ।’

नेपालको निर्यातको अवस्था अत्यन्तै चिन्ताजनक रहेको पनि उनले सुनाए । उनले भने,‘हाम्रो टोटल एक्सपोर्टले त हामीलाई फ्युल ल्याउनपनि पुग्दैन् ।’ उनले सरकारले भ्यु–टावर नबनाएको भए हुन्थ्यो भन्ने धारणा पनि राखे ।

फागुण १ गतेबाट प्रधानमन्त्री रोजगार कार्यक्रम लागु हुन लागेको सुनाउँदै तामझाम नगर्न पनि भुषालले सुझाए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले बैंकको व्याजदर नघटे उद्योगी–व्यवसायीहरु यसैलाई ईस्यु बनाएर आन्दोलित हुनुपर्ने अवस्था आउनसक्नेतर्फ सरकारको ध्यानाकार्षण गराए ।

उनले भने,‘विराटनगरबाट सुरु भएको असन्तुष्टि अहिले देशको सबै ठाउँमा देखिएको छ । उद्योगी तथा व्यवसायीहरु आन्दोलित हुने अवस्था सिर्जना भएको छ । भर्खरै हामीले विराटनगरमा उद्योगमन्त्री मातृका यादव र प्रदेश नम्बर १ का मन्त्री र एक नम्बर प्रदेशका १६ वटै जिल्लाका उद्योग व्यवसायीहरुको उपस्थितिमा छलफल गर्यौं । माघ मसान्तभित्र सहमतिको वातावरण बनाउने भनिएको छ । अब सरकारले छिट्टै यो समस्या समाधान गर्न पहल गरोस् ।’

प्रधानले मुलुकमा व्यापार घाटा आकाशिएको भन्दै चिन्ता व्यक्त गरे । उनले भने,‘नेपाललाई चाहिने विस्कुट र चाउचाउ देशकै उत्पादनले पुग्छ, तर बाहिरबाट आयात भैरहेको छ । घरेलु र स्वदेशी उद्योगलाई प्रर्वद्धन गर्नुपर्छ । यतातर्फ सरकारले सोच्नुपर्छ ।’ देशको आर्थिक अवस्था यस्तै रहि रहे नेपाल असफल राष्ट्र बन्नेपनि उनले खतरा औंल्याए । उनले भने,‘आर्थिक अवस्था यस्तै रहीरहे नेपाल ‘फेलियर–स्टेट’ हुन्छ । त्यतातर्फ सबैले ध्यान दिन जरुरी छ ।’

उनले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनुपर्ने सवालमा नेपाल सरकारकै मन्त्रीहरुवीच कुरा बाझिएको प्रति टिप्पणी गर्दै भने,‘कुन मन्त्रीले के बोल्ने ? भन्ने कुरा पोलिसी लेभलमै राख्नुपर्छ ।’

मार्चमा लगानी सम्मेलन हुन लागिरहेको सुनाउँदै उनले योभन्दा अघि भएको लगानी सम्मेलनको प्रतिफल के आयो ? भन्नेबारेपनि फलो–अप गर्नुपर्ने बताए ।

उनले भने,‘विदेशी लगानी भित्र्याउनु राम्रो कुरा हो । त्यसको लागि नेपालमै लगानीको वातावरण बनाउनुपर्छ । यहाँकै उद्योगीहरुलाई प्रोत्साहित गर्नुपर्छ ।’

उनले नेपालमा औषधी उत्पादन प्रशस्त भएको सुनाए । प्रधानले थपे,‘नेपालमा अधिक औषधी उत्पादन भएका छन् । तर, अण्डर टेबल रिलेशनका कारण स्वदेशी उत्पादन खपत हुन सकिरहेको छैन ।’ नेपाल कृषि प्रधान देश भनिएपनि १०० अर्बभन्दा बढिको भारतबाट कृषिका वस्तुहरु नेपाल आयात हुने गरेको उनको भनाई थियो । उनले आफ्नो मुलुकमा साना तथा मझौला उद्योग (एसएमई) हरूको विकास र तिनको प्रवर्द्धनका लागि ध्यान दिनुपर्ने सुझाव दिए ।

प्रधानले सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने धारणा राखे । उनले भने,‘अनिमात्रै आर्थिक विकास हुन्छ । समृद्धिको सपना पूरा हुन्छ । दुवै पक्षबीच विश्वासको वातावरण बनाउनुपर्छ ।’