आईसीसीले पठायो क्रिकेट खेलाडीको २ वर्षको तलव

आईसीसीले पठायो क्रिकेट खेलाडीको २ वर्षको तलव


अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाली खेलाडीको रोकिएको दुई वर्षको तलब एकमुष्ठ पठाएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनमा परेसँगै नेपाली खेलाडीले दुई वर्षदेखिको तलब पाएका थिएनन् । राष्ट्रिय खेलकूद परिषद्को पहलमा आइसिसीले दुई वर्षको खेलाडीको तलब एकमुष्ठ १ करोड २७ लाख ८७ हजार ७८२ रुपैयाँ पठाएको राखेपले जनाएको छ ।

‘हामीले आइसिसीबाट तलब पाउँदै आएका २१ खेलाडीसँग सम्झौता गरेर आइसिसीमा पठाएका थियौं । हिजो मात्र पैसा आएको छ’ राखेप सदस्य सचिव केशव विष्टले भने ।

सन् २०१७÷१८ मा नेपालका लागि खेलेका क्रिकेटरलाई ए, बी र सी गरी तीन श्रेणीमा राखिएको छ । त्यसअनुसार राखेपले प्रत्येक खेलाडीहरुसँग सम्झौता गरेर तलबका लागि आइसिसीमा पत्र पठाएको थियो । आइसिसीले ‘ए’ श्रेणीका लागि मासिक ३५ हजार, ‘बी’ श्रेणीका लागि २५ हजार र सी श्रेष्णीका खेलाडीलाई १५ हजार रुपैयाँ मासिक तलब उपलब्ध गराएको छ ।

‘ए’ श्रेणीमा कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने छन् । दुई वर्षको तलब एक मुष्ट लिँदा ‘ए’ श्रेणीमा पर्ने खेलाडीले जनही ८ लाख ४० हजार रुपैयाँ पाउनेछन् ।

त्यसैगरी श्रेणी ‘बी’ मा आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार साह, रोहित पौडेल, ललित राजवंशी र शक्ति गौचन छन् । उनीहरुले दुई वर्षको एकमुष्ठ ६ लाख पाउनेछन् । यसैगरी सी श्रेणीमा सुवास खकुरेल, सागर पुन, दिलीप नाथ, सुनिल धमला, सुसन भारी, प्रदीप ऐरी र विनोद भण्डारी छन् । उनीहरुले मासिक १५ हजारका दरले दुई वर्षको तलब तीन लाख रुपैयाँ पाउनेछन् ।

राखेपका अनुसार टोली व्यवस्थापक रमन शिवाकोटी र मुख्य प्रशिक्षक जगत टमाटाले पनि दुई वर्षको पारिश्रमिक पाउनेछन् । उनीहरुको पारिश्रमिक खुलाइएको छैन । क्यान विवादले उग्ररुप लिँदै गर्दा आइसिसीले २०७३ वैशाखदेखि क्यानलाई सरकारी हस्तक्षेप र निष्पक्ष नभएको भन्दै प्रतिबन्ध लगाउँदै आएको छ । विसं २०७३ वैशाखमा क्यान निलम्बन भएपछि अहिलेसम्म नेपाली खेलाडीले अभिभावकबिनै ठूला प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन् ।