सडकदौडमा अजित र हुमी बाजी मारे

सडकदौडमा अजित र हुमी बाजी मारे


पिनाकलका अजितकुमार यादव र शहीद रामनाथकी हुमी बुढामगर दोस्रो टाइम्स सडकदौडमा पहिलो भएका छन् । ५ किलोमिटर दूरीको स्पर्धामा अजित ब्वाइज तथा हुमी छात्रामा पहिलो भएका हुन् । गत संस्करणमा पनि दुवै पहिलो भएका थिए ।

द टाइम्स इन्टरनेसनल कलेजद्वारा आयोजित दौडको निर्धारित दूरी अजितले १६ मिनेट २५ सेकेन्डमा पूरा गरका थिए । यो स्पर्धामा अजितको व्यक्तिगत उत्कृष्ट समय १४ मिनेट ५२ सेकेन्ड रहेको छ । ३ किलोमिटर दौडमा भने अजितको नाममा ८ मिनेट ४४ सेकेन्डको जुनियर राष्ट्रिय कीर्तिमान छ । पिनाकलकै उमेश मगर दोस्रो तथा बाढीनालिका उमाविका सन्तोषनाथ योगी तेस्रो भए । उमेशले १७ मिनेट २१ सेकेन्ड तथा सन्तोषले १७ मिनेट २२ सेकेन्ड समय खर्चे ।

त्यस्तै हुमीले २१ मिनेट ३२ सेकेन्डमा निर्धारित दूरी तय गरिन् । हुमीको ५ किलोटिमरमा व्यक्तिगत उत्कृष्ट टाइमिङ १९ मिनेट ४० सेकेन्ड रहेको छ । २२ मिनेट २० सेकेन्ड समय निकालेकी गणेशमान सिंह बहुमुखी क्याम्पसकी रशिला तामाङ दोस्रो तथा २३ मिनेट ०३.९ सेकेन्ड समयका साथ मेगा नेसनल कलेजकी काजोल विष्ट तेस्रो भए ।

छात्र र छात्रा दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कारसहित गिफ्ट ह्याम्पर पाए । विजेतालाई राष्ट्रिय खेलकुद परिषदअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का पूर्वनिर्देशक डा. प्रकाश प्रधान, टाइम्सका प्रबन्ध–निर्देशक दीपक न्यौपाने, टाइम्सका प्रिन्सिपल शंकरप्रसाद गैरे, कार्यक्रम संयोजक सोनु थापा, टाइम्स क्लबका इन्चार्ज राजनप्रसाद पोखरेललगायतले पुरस्कृत गरेमन थिए । दौडमा १ सय ७५ प्रतिस्पर्धी सहभागी थिए ।