प्रदेश ५ मा हुने आठौँ राष्ट्रिय खेलकुदको प्रदेश छनोट प्रतियोगिता फागुन पहिलो सातादेखि हुने भएको छ ।
आठौँ राष्ट्रिय खेलकुद कार्यकारी समितिका अध्यक्षसमेत रहेका राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टको अध्यक्षतामा सातदोबाटोमा बसेको बैठकले प्रदेश छनोट फागुन ३ देखि १७ गतेसम्म आयोजना गर्ने निर्णय गरेको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जनाएका छन् । प्रत्येक प्रदेश छनोटको उदघाटनसमेत सम्बन्धित प्रदेशको जिल्लामा हुनेछ ।
बैठकले आठौँ राष्ट्रिय खेलकुद सञ्चालनका लागि खर्च हुने करिब ४७ करोड बजेट पनि विनियोजनका लागि युवा तथा खेलकुद मन्त्रालयमार्फत नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । त्यस्तै खेलाडी दुर्घटना बिमा पनि गरिने भएको छ ।
ओलम्पिक टर्चलाई प्रदेश १ को विराटनगरदेखि परिक्रमा गराई प्रत्येक प्रदेशमा ओलम्पियनहरूलाई समेत सहभागी गराई नेपालगन्जसम्म पु¥याउने निर्णय भएको छ । प्रदेश छनोटको खेलस्थल पनि बैठकले टुंगो लगाएको छ ।
प्रतिक्रिया