अब देउवा नै चाहिन्छ– महालक्ष्मी उपाध्यक्ष ‘डिना’ (नेतृ, नेपाली काङ्ग्रेस)

अब देउवा नै चाहिन्छ– महालक्ष्मी उपाध्यक्ष ‘डिना’ (नेतृ, नेपाली काङ्ग्रेस)


antarbichar० पार्टीको महाधिवेशन नजिकिँदै छ, कस्तो तयारी चल्दै छ ?
– पार्टी महाधिवेशनको तयारीमा गाउँ तहदेखि आवश्यक प्रक्रिया चलिरहेको छ । क्रियाशील सदस्यता वितरणका काम अझै चलिरहेको छ, देशभरबाट सदस्यता फर्म केन्द्रमा आइरहेका छन् । यसबीच क्रियाशील सदस्यताको विवरण प्रक्रियागत रूपमा कसरी अघि बढेको छ भन्ने विषयमा मनिटरिङका लागि पार्टीले देशभर केन्द्रीय सदस्यहरू खटाएको छ ।
० यसपाला साधारणभन्दा पनि क्रियाशील सदस्यको सङ्ख्या बढी हुने अवस्था देखाप-यो पनि भनिँदै छ नि ?
– त्यसो त नभनौँ, तर पार्टीमा क्रियाशील सदस्यता दिनेको होडबाजीचाहिँ दिनदिनै बढिरहेको देखिन्छ । विगतमा यस्तो समस्या थिएन । साधारण सदस्यता नलिएका व्यक्तिहरू पनि एकैपटक क्रियाशील सदस्यता लिन दौडधुप गरिरहेका देखिका छन्, यसले त्यस्तो चर्चा जन्माएको हुन सक्छ । जसरी पनि क्रियाशील सदस्यता प्राप्त गर्ने मनसायबाट प्रभावित व्यक्तिहरूबाट पार्टी सचेत रहनुपर्छ भन्ने मलाई लाग्छ ।
० यस्तो प्रवृत्ति किन मौलायो होला ?
– पार्टीको चुनावी प्रयोजनका लागि मात्रै यस्तो भएजस्तो लाग्छ । आमनिर्वाचनमा २५/३० भोट आएको जिल्लामा क्रियाशील सदस्यताको माग सय डेढ सय हुनु त उदेककै कुरा हो नि ! यस्तो त सम्भव नहुनुपर्ने हो । यसरी अप्राकृतिक चलखेल त अमूक–अमूक व्यक्ति केन्द्रमा पुग्नका लागि मात्र भएको हुन सक्छ । यो ट्रेन्ड गलत हो । तथापि, पार्टी सङ्गठनको गतिविधिमा व्यापकता आएर पनि सदस्यता लिने व्यक्तिको बढोत्तरी देखिएको हुन सक्छ ।
० यसको मतलब काङ्ग्रेस पार्टीप्रति आमनागरिकको आकर्षण बढ्दै छ, हो ?
– पार्टी सत्तामा छ, त्यसैले पनि यस पार्टीप्रति आमजनताको आकर्षण बढ्नु अस्वाभाविक हुँदैन । तर, यसरी आउनेहरू काङ्ग्रेसलाई योगदान पु-याउनभन्दा पनि व्यक्तिगत लाभ लिने उद्देश्यले प्रेरित भएका हुन सक्छन् । पार्टी प्रतिबन्धित अवस्थामा रहेको बेला दुःखमा पनि निस्वार्थ भावले अविचलित रहेका काङ्ग्रेसजन आज कता–कता हराएझैँ भइरहेको परिवेशमा स्वार्थी भावले पार्टीमा लागेको घोषणा गर्नेहरूलाई अनावश्यक महŒव दिँदा दीर्घकालीन रूपले पार्टीको हित हुँदैन । पुराना कार्यकर्तालाई वास्ता नगर्ने, तिनका विचार वा धारणा नसुन्ने, तिनको सम्मान नगर्ने प्रवृत्ति जो देखिएको छ, यसमा पार्टीले सुधार गर्नु आवश्यक छ । स्वार्थी तŒवले निष्ठावान व्यक्तिलाई पाखा लगाउने अवस्था किमार्थ आउन दिनुहुँदैन ।
० पुराना कार्यकर्तालाई स्थान दिलाउन के गर्दै छ त पार्टीले ?
– त्यसका लागि अभियान सुरु गरेका छौँ । पुराना साथीहरूको खोजीनिती लिएर तिनलाई भेला गर्ने र संस्थागत रूपमा पुनर्ताजगीका साथ काम गर्ने परिवेश तयार गर्न पार्टीले सोच बढाएको छ । यसो गर्न सकिएन भने त पार्टीमा स्वार्थीहरूको प्रभाव बढ्ने खतरा रहन्छ, जसले पार्टीलाई तहसनहस पार्न सक्छ ।
० काङ्ग्रेसभित्र पैसाको बोलवाला चल्न थालेको आरोप छ, के आर्थिक रूपले कमजोर व्यक्ति तलको तल पर्नुपर्ने अवस्था निम्तिएको हो र ?
– हामी पार्टीलाई संस्थागत रूपमा लैजाने कुरा गर्छौं, तर त्यसको ठोस खाका तयार गर्न सकिरहेका छैनौँ । कतिपय काम–कुरा त विधानभन्दा बाहिर गएर गर्ने प्रवृत्तिसमेत देखिएको छ । यसलाई आत्मसात् गर्नैपर्छ । अधिवेशनमा मात्र जमात तयार हुने त्यसपछि निष्क्रिय हुने देखिन्छ । यसले सङ्गठनलाई निकै घात गर्छ । प्रत्येक वर्ष सदस्यता नवीकरण हुनुपर्ने विधानमा लेखिएको छ । साङ्गठनिक क्रियाकलाप गर्ने, प्रशिक्षण दिने, कमिटी निर्माण गर्ने र त्यसलाई केन्द्रले मनिटरिङ गर्ने भन्ने विधानमा छ । तर, केन्द्रबाट मनिटरिङ नै भएको देखिँदैन । ध्यान नै नदिने गर्नाले अहिले समस्या देखिएको छ । यसले गर्दा जब महाधिवेशन आउँछ, अनि पैसाको चलखेल हुन सक्छ । पैसाको बोलवाला चल्नु अत्यन्त घातक कुरा हो । यस प्रवृत्तिलाई निस्तेज गर्न समयमै नेतृत्वले ध्यान पु-याउनुपर्छ भन्ने मान्यताको पक्षधर हुँ म ।
० पार्टी विधानअनुसार नचलेकाले समस्या भएको हो कि ?
– त्यो पनि हो । विधानअनुसार चल्न नसकेकाले अहिले पार्टीमा समस्या देखिएको हो । विधानअनुसार चल्न सक्यौँ भने पार्टीका थुप्रै समस्या र विवाद स्वतः अन्त्य भएर जान्छन् । केन्द्रीय समितिको आकार ठूलो भए पनि काङ्ग्रेसमा केही व्यक्तिहरूको मात्र बाहुल्य रहेजस्तो देखिन्छ । नीति निर्माण र निर्णयमा सीमित व्यक्ति हाबी हुनु ठीक होइन । केही व्यक्तिले आफूखुसी निर्णय लिने र ‘ल यस्तो निर्णय भयो है’ भनी सुनाउने प्रवृत्ति बढेको छ । केन्द्रीय सदस्य सबैलाई कुनै खास जिम्मेवारी दिइएको छैन । सही रूपले पार्टीको शक्ति परिचालन भएको छैन । पार्टीलाई शक्तिशाली बनाउन पनि पार्टीमा रहेको शक्ति परिचालन गर्न सक्नुपर्छ । कामको पहिचान र साथीहरूको कामको मूल्याङ्कन गर्नुपर्छ । तर, केन्द्रीय समिति नै यो बाटोमा हिँडेको छैन । आवश्यक परेको बेलामा ह्वार्र मिटिङ बोलाउने र यो–यो भयो भनेर सुनाउने काम गरिन्छ । फेरि जे–जे कुरा बोलेको छ, त्यो पनि लागू हुँदैन । आफूलाई जे चाहियो त्यही निर्णय हुने गर्छ । यस्ता कमजोरी धेरै छन् । पार्टीमा जति पनि भद्रगोल भएको छ, त्यो नेतृत्वको अक्षमताकै कारण हो । नेतृत्वले गम्भीरतापूर्वक नलिएकै कारण यस्तो भएको हो ।
० अब सक्षम नेतृत्व रोज्ने बेला आएको हो त ?
– हो, सक्षम नेतृत्व खोज्ने अवसर आएको छ । यसमा प्रस्ट पार्नुपर्ने कुरा के छ भने एउटा व्यक्ति सक्षम भएर मात्र पनि काम चल्दैन । एउटा व्यक्ति राम्रो भएपछि सबै राम्रो हुन्छ भन्ने होइन । तर, मूल व्यक्ति यस्तो हुनुप-यो, जो अधिकार विभाजनमा विश्वास राखोस् । सबै अधिकार आफैँ राख्ने अनि कामचाहिँ केही नगरी निरङ्कुश प्रवृत्ति दर्शाउने खालको नहोस् नेतृत्व । सबैलाई विश्वास गरेर अघि बढ्ने सोच राखोस् । पार्टीमा पक्ष–विपक्ष त हुन्छ । तर, त्यो क्षणिक हुनुपर्छ, चुनावको बेलामा मात्र हुनुपर्छ । समग्र पार्टीको विश्वास लिने र सबैलाई विश्वास गर्न सक्ने खालको नेतृत्वले मात्र काङ्ग्रेसको विरासत धान्न सक्छ । आज यस्तो नेतृत्वको आवश्यकता छ ।
० यस्तो नेतृत्व दिन सक्ने व्यक्ति छ त काङ्ग्रेसमा ?
– किन छैनन् ? छन् । त्यस्ता नेता जति पनि छन् । पार्टीलाई कोइराला परिवारले लिडिङ गरे पनि सुरुमा बीपीको आदर्शको कुरा थियो । सबैले त्यसलाई आत्मसात् गरेर अघि बढ्यौँ । पार्टी पनि सोहीअनुसार अघि बढ्यो । अघि बढ्ने क्रम त अहिले पनि जारी छ । तर, बीपीको विचारमाथि आज खेलबाड भएको महसुस गरिँदै छ । बीपीको विचारलाई सही हिसाबले लागू गर्नु जरुरी छ । त्यो लागू गर्न हामी मरिमेटेर लागिपरेका छौँ । त्यतिबेला पार्टीका नेताहरूले दिने निर्देशन कार्यकर्ताले शिरमा राख्थे, आज त्यस्तो छैन । एकप्रकारको अराजकता बढेको छ । यसमा नेतृत्वकै कमजोरीले काम गरेको छ ।
० वर्तमान नेतृत्वले कार्यकर्ताको आवाज सुन्दैनन् कि कसो ?
– सुनेको देखिँदैन । गणेशमान, किसुनजी, गिरिजाप्रसादसँगै रहेर काम गर्दाको अनुभव छ मसँग । उहाँहरू कार्यकर्ताको कुरा राम्ररी सुनेर मात्र निर्णय गर्नुहुन्थ्यो । त्यसरी लिइएको निर्णयलाई सबैले आत्मसात् गर्थे । आज परिस्थिति अर्कै छ । न नेता ठोस डिसिजन दिन सक्छन् न कार्यर्ताको कुरा सुन्छन् । निकै अन्योलको वातावरण छ । स–साना काम–कुरालाई पनि बेस्सरी लिङ्गरिङ गर्ने प्रवृत्ति छ । यसले पार्टी र देशकै लागि पनि अहित गरिरहेको छ ।
० अबको महाधिवेशनले त्यस्तो नेतृत्व जन्माउला ?
– जन्माउनुपर्छ । हामी आशावादी छौँ । तर, यहाँनेर अन्योल किन छ भने अस्वस्थ प्रतिस्पर्धा निकै बढेर गएको छ । हिजो त्यागको राजनीति थियो, आज लाभको राजनीति छ । कसरी माथिल्लो स्थानमा पुगौँ र लाभ लिउँm भन्नेहरूको बिगबिगी छ । त्यसैले यसपटक पनि के हुन्छ भन्न सकिन्न । पैसाको राजनीति हाबी भएकाले यस्तो दूरावस्थालाई चिर्न इमानदार र अनुशासित साथीहरू एकपटक जुर्मुराउनुपर्छ ।
० यस्ता विषयमा पार्टीको बैठकमा चाहिँ छलफल हुँदैन ?
– छलफल हुन त पार्टीको बैठक बस्नुप-यो नि । पार्टीमा सुनुवाइ गर्ने प्रवृत्तिमा ह्रास आएको छ । नेतृत्व–विकासमा पार्टीले ध्यानै दिएको छैन भन्दा हुन्छ । कोसँग पैसा छ, को कुन पेसामा छ भन्ने व्यक्तिको मूल्याङ्कन गर्न थाल्यो पार्टी–नेतृत्वले । सही र इमानदार कार्यकर्ता पछि पर्न थाले । राजनीतिक नियुक्ति भनेको राजनीति गरेका र स्थान नपाएकालाई नियुक्ति दिने प्रक्रिया हो, तर आज राजनीतिक नियुक्तिमा पार्टीले जस्ता व्यक्तिलाई सिफारिस गरेको छ, यो हेर्दा इमानदार, पुराना र पीडित काङ्ग्रेसजनलाई नै शरम लाग्ने अवस्था निम्तिएको छ । के पार्टीका निष्ठावान कार्यकर्ता नै छैनन् त ? यो त पार्टीको शक्तिको चरम दुरुपयोग हो ।
० अबको महाधिवेशनमा तपाईं पनि कुनै पदमा उम्मेदवारी दिँदै हुनुहुन्छ कि ?
– हाल म केन्द्रीय सदस्य छु । पार्टीमा निकै योगदान पु-याउने चाहना बोक्ने मजस्ताले फेरि पनि उम्मेदवारी दिन खोज्नु अस्वाभाविक कुरा हुँदैन । अवश्य पनि चुनाव लड्छु म । जिल्ला घुम्ने अभियान सुरु गरिरहेकी छु । विभिन्न जिल्लाका साथीहरूसँग भेट गरिरहेकी छ । यसबारे पार्टीका नेताहरूसँग छलफल पनि चलिरहेको छ । कुन ओहोदामा उम्मेदवारी दिने भन्नेचाहिँ निधो भइसकेको छैन । महामन्त्री र सभापतिमा अहिले लड्ने कुरा भएन, त्यसबाहेक अन्य कुनै पनि पदमा उम्मेदवारी दिन सकिन्छ । एमालेको जस्तो बहुपदीय कुरा पनि उठेको छ । त्यो भएमा राय–सल्लाह गरेर कुनै न कुनै पदमा उठिन्छ ।
० पार्टी सभापतिमा चाहिँ कसलाई सपोर्ट गर्नुहुन्छ नि ?
– यसमा कुरा चपाउनुपर्ने केही कारण नै छैन । प्रस्ट छ– म शेरबहादुर देउवालाई समर्थन गर्छु । उहाँले सभापतिमा उम्मेदवारी दिँदै हुनुहुन्छ, उहाँलाई पार्टीको शीर्ष नेतृत्वमा स्थापित गर्न हामी लागिपरेका छौँ ।
० देउवालाई नै समर्थन गर्नुपर्ने कारण के हो नि ?
– पार्टीभित्र काम गर्ने सहज वातावरण जसले पनि खोज्छ । व्यक्तिगत कुरा गर्नुपर्दा विद्यार्थी राजनीति गरेदेखि नै पार्टीका शीर्ष नेताहरू गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा सँगसँगैै धेरै घुलमिल भएर काम गर्ने अवर पाएँ । विद्यार्थी राजनीतिमा प्रमोट गर्नेहरूमा शेरबहादुर देउवा, गिरिजाप्रसाद कोइराला, शैलजा दिदी, विमलेन्द्र दाइहरू हुनुहुन्थ्यो । उहाँहरूमध्ये शेरबहादुर दाइले आजसम्म पनि निरन्तरता दिइरहनुभएको छ । अर्को कुरा देउवा निकै सहज व्यक्ति पनि हुनुहुन्छ । पार्टीका साथीहरूलाई छिटो विश्वास गर्नुहुन्छ । हो, उहाँलाई धेरैले घात गरेका छन्, तर तिनै साथीहरूले पछि आएर ‘फेरि म तपाईंलाई सहयोग गर्छु’ भन्यो भने उहाँ कुनै तुष नराखी विश्वास गर्नुहुन्छ । नेतामा हुनुपर्ने यो सर्वश्रेष्ठ गुण हो । उहाँजस्तो व्यक्तिलाई पार्टी सभापति बनाउँदा पार्टीले फड्को मार्न सक्छ ।