सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सङ्घीयता व्यावहारिक रुपमा कार्यान्वयन गर्न सरकार सफल भएको दाबी गरेका छन् । नेपालगञ्जमा मंगलबार प्रेस सङ्गठनले गरेको पत्रकार भेटघाटमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले सरकार बनेको एक वर्षको अवधिमा मुलुकमा तीनवटै तहमा सरकार सञ्चालन, कर्मचारी समायोजन र विभिन्न कार्यालय स्थापना गरी सङ्घीयता व्यावहारिकरुपमा कार्यान्वयन भएको बताए ।
यो वर्ष सङ्घीयता कार्यान्वयन गर्ने वर्षका रुपमा रहेको उल्लेख गर्दै यो अवधिमा सङ्घीयता कार्यान्वयनका लागि १०९ वटा कानून संशोधन गरेको र ५५ वटा कानून विधेयकका रुपमा संसद्मा पेश भएको जानकारी उनले दिए ।
‘सरकार समृद्धि प्राप्तिको लक्ष्यमा निरन्तर अगाडि बढेको छ, अन्तर्राष्ट्रिय सम्बन्धमा सुधार भएको छ, पारवहन सन्धि, रेल र पानीजहाज कम्पनी खुल्दैछन्, छिमेकी र अन्तर्राष्ट्रिय समुदायसँग राम्रो सम्बन्ध विस्तार भएको छ, अब छिट्टै लगानी सम्मेलन गरिनेछ‘, मन्त्री बाँस्कोटाले भने ।
सरकारले उधारो सपना नबाँडेको दाबीसहित उनले काम गर्दा ढिलो हुन सक्छ तर राम्रा योजनाहरू भइरहेका र ती पूरा गरेरै छोडिने प्रतिबद्धता उनले जनाए ।
सरकार प्रेस स्वतन्त्रता र नागरिक अधिकारका लागि सरकार प्रतिबद्ध रहेको भन्दै मनत्री बास्कोटाले सरकारले राम्रो काम गर्दागर्दै पनि सबै बिग्रियो भनेर नकारात्मक तरिकाले प्रचार गरिएको आरोप लगाए ।
प्रतिक्रिया