धर्मनिरपेक्षता नेपाललाई सुहाउँदैन– विमल केडिया (उद्यमी एवम् सभासद्)

धर्मनिरपेक्षता नेपाललाई सुहाउँदैन– विमल केडिया (उद्यमी एवम् सभासद्)


antarbicharनेपालको सम्भवतः सबैभन्दा ठूलो परिवारका प्रतिष्ठित सदस्यका रूपमा चिनिनुहुन्छ विमल केडिया । सगोलमा पचहत्तरजनाको परिवार करिब डेढ शताब्दीदेखि एउटा घरको एउटै भान्सामा खाना खाएर उद्यम व्यवसायमा तल्लीन रहेको उदाहरण विश्वमा कतै भएको सुन्न–पढ्न पाइएको छैन । नेपालमा चाहिँ शायद यस्तो अर्को परिवार छँदैछैन भन्न सकिन्छ । केडिया परिवारको एकता र सहकार्यबाट प्रेरित भएर सभामुख सुवास नेम्वाङले एक सार्वजनिक कार्यक्रममा भन्नुभएको थियो, ‘राजनीतिक दलका नेताहरूले केडिया परिवारबाट सहकार्य र सहमतिको कुरा सिक्नुपर्छ ।’
देशको एक प्रतिष्ठित औद्योगिक घराना केडिया अर्गनाइजेसन्सले झन्डै दुई दर्जन बढी उद्यम व्यवसायमा आफूलाई संलग्न गराउँदै आएको छ । सेवा क्षेत्रका बैंकिङ, अस्पताल, बिमा, स्कुललगायतमा संलग्न कोडिया अर्गनाइजेसनद्वारा सञ्चालित औद्योगिक प्रतिष्ठानहरूमा इन्दु शङ्कर चिनी उद्योग (सर्लाही), ब्रिज सिमेन्ट लिमिटेड, सीताराम गोकुल मिल्क तथा डीएभी सुशील केडिया विश्व भारती स्कुल र सिद्धार्थ बैंक लिमिटेड प्रमुख हुन् । त्यस्तो परिवारका एक बहुमुखी प्रतिभासम्पन्न व्यक्ति विमल केडिया २०६४ मा गठित संविधानसभामा तराई–मधेस लोकतान्त्रिक पार्टीका तर्फबाट सदस्य हुनुहुन्थ्यो, यसपटक सद्भावना पार्टीले उहाँलाई सभासद् बनाएको छ ।
उद्यम व्यवसायका अतिरिक्त विभिन्न सामाजिक कार्य, आध्यात्मिक गतिविधि र राजनीतिमा समेत संलग्न विमलले छोटो भूमिकामै भए पनि सिनेमामा समेत खेल्नुभएको छ । एक समय विश्व हिन्दू महासङ्घ र पशुपति विकास कोषमा आबद्ध विमलको श्री रविशङ्करद्वारा प्रतिपादित आर्ट अफ लिभिङमा पनि प्रारम्भदेखि नै संलग्नता रहिआएको छ । युवाहरूको अन्तर्राष्ट्रिय क्लब राउन्ड टेबल नेपालको राष्ट्रिय अध्यक्ष तथा लियो, लायन्स र रोटरीजस्ता संस्थाहरूमा सम्बद्ध विमल केडिया अन्तर्राष्ट्रिय वैश्य महासङ्घको वरिष्ठ उपाध्यक्ष, नेपाल मैदा उद्योग सङ्घको कोषाध्यक्ष तथा सल्लाहकार, नेपाल चिनी उद्योग महासङ्घको महासचिव र उद्यमी व्यवसायीहरूको छाता सङ्गठन उद्योग वाणिज्य महासङ्घमा करिब डेढ दशकदेखि कार्यकारिणी सदस्यका साथै विभिन्न समितिको सभापति र सल्लाहकारको जिम्मेवारी निर्वाह गर्दै हुनुहुन्छ । पत्नी सन्तोष तथा पुत्र अश्विन र पुत्री रिद्धिमाका साथ लौकिक पारिवारिक सुखमा रमाइरहनुभएका विमल देश र समाजका लागि हरेकले केही न केही गर्नैपर्छ भन्ने मानसिकता राख्नुहुन्छ । त्यसैले आर्ट अफ लिभिङको वरिष्ठ प्रशिक्षिका सन्तोषले आर्ट अफ लिभिङमार्फत समाजसेवामा दिनुभएको देनबाट पनि विमल सन्तुष्ट बन्नुभएको छ । भन्नुहुन्छ– ‘मेरी पत्नी सन्तोषको सक्रियताबाट म औधी प्रशन्न छु ।’
सन् १९६३ को जनवरी १३ मा वीरगञ्जमा जन्मनुभएका विमल केडियाको प्रारम्भिक शिक्षा माईस्थान विद्यापीठबाट र उच्च शिक्षा ठाकुराम बहुमुखी क्याम्पसबाट भएको हो । वाणिज्यशास्त्रका स्नातक विमलले विद्यार्थीकालमै पनि राजनीतिमा सक्रियता दर्शाउनुभएको थियो । उहाँ नेपाल विद्यार्थी सङ्घमा आबद्ध भएर विद्यार्थी राजनीतिमा क्रियाशील हुनुहुन्थ्यो । विमल भन्नुहुन्छ, ‘राजनीति नसुध्रिएसम्म देश सुध्रन नसक्ने हुँदा सबै चेतनशील नागरिकले आ–आफ्नो ठाउँबाट सचेततापूर्वक सकारात्मक भूमिका निर्वाह गर्नु उपयुक्त हुनेछ ।’

० तपाईं एक ठूलो औद्योगिक घरानाको मानिस, राजनीति र समाजसेवाका कार्यमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ, कसरी व्यवस्थापन गरिरहनुभएको छ ? र, मूल रूपमा तपाईंको रुचिचाहिँ कतापट्टि हो ?
– एक सचेत नागरिकको रूपमा जिम्मेवारीको बोध भएपछि यस्तो स्थितिमा पुगिँदोरहेछ । यस्तै बोध भएपछि एक औद्योगिक क्षेत्रमा संलग्न भए पनि मलाई लाग्यो कि देशका सबै क्षेत्रको विकास, विस्तारबिना समग्र मुलुकको विकास या समृद्धि सम्भव नहुने रहेछ । राजनीति राम्रो भएन भने औद्योगिक क्षेत्र तहसनहस हुन पुग्छ । समाज राम्रो नभए देश राम्रो हुँदैन । यस्तो विचार सुरुदेखि नै मेरो मनमा खेल्ने गथ्र्यो । कुनै न कुनै रूपमा विभिन्न क्षेत्रमा आफ्नो संलग्नता हुनुपर्छ भन्ने मान्यता मभित्र जाग्ने गरेकैले विभिन्न क्षेत्रमा मैले सक्रिय भूमिका निर्वाह गर्न सकेको हुँ जस्तो लाग्छ ।
० तपाईं विद्यार्थीकालदेखि नै राजनीतिमा रूचि राख्नुभएको रहेछ, तर राजनीतिक सक्रियताचाहिँ धेरै पछि आएर मात्र भयो नि, किन हो ?
– हो, मलाई उसबेलादेखि नै रुचि थियो र त्यो मभित्र कायमै थियो । यसो हुनाले म निरन्तर देशको राजनीतिक अवस्था, क्रियाकलाप वा परिवर्तनहरू नियालिरहन्थेँ । तर, विगतको मूल दश–बाह्र वर्षको समयले देशको राजनीतिमा निकै ठूलो प्रभाव पारेको अनुभूति मलाई भयो । अब आफ्नो रुचिलाई व्यवहारमा उतार्नैपर्छ भन्ने लाग्यो र म राजनीतिक रूपले अलिक सक्रिय बन्न पुगेको हुँ ।
० अब बाँकी जीवनमा उद्यम–व्यवसायमा बढी ध्यान दिनुहुन्छ कि राजनीतिमा त ?
– समग्र रूपमा व्यक्तिको जीवन सन्तुलित रहनुपर्छ भन्ने मेरो मूल मन्त्र छ । राजनीतिक, आर्थिक या उद्यम–व्यवसाय सबै कुराको सन्तुलनले नै व्यक्तिलाई निरन्तर आफ्नो काममा गति प्रदान गरिरहन मद्दत पु-याउँछ । यसर्थ, कुनै एक विशेषमा एग्रेसिभ भएर लाग्ने होइन कि सबै कुरालाई समान रूपले व्यवस्थित गर्दै अघि बढ्ने सोचमा छु म ।
० उद्योग–व्यवसाय, धार्मिक तथा सामाजिक विषयका अलावा तपाईं त सिने–कलाकारितमा पनि संलग्न हुनुभएको रहेछ, बहुमुखी प्रतिभाका धनी व्यक्ति भन्न मिल्ला तपाईंलाई ?
– आजसम्म मलाई चिन्नेजान्नेहरूलाई पनि हेक्का नभएको मेरो जीवनको एक पाटोको विषयमा प्रश्न राख्नुभएकोमा धन्यवाद । कुनै सिनेमामा एक छोटो भूमिकामा मैले काम गरेकै हुँ । जीवनलाई सन्तुलनमा राख्ने अभिप्रायअन्तर्गतकै कुरा थियो यो । एकबारको जुनीमा मिलेसम्म सबै कुराको अनुभव किन नलिने भन्ने सोचबाट अभिप्रेरित भएर नै मैले सिनेमामा अभिनय गर्ने अवसर छोपेको हुँ ।
० आफूले गरेको कामको प्रशंसा भयो या निरन्तर प्रस्ताव आयो भने सिने–अभिनयलाई निरन्तरता दिने कि नदिने नि ?
– खुलस्त भन्नुपर्दा आफूलाई चित्त बुझ्ने भूमिकामा प्रस्ताव आयो र समय पनि मिलाउन सकियो भने एक विशेष पहिचान अभिनयको क्षेत्रमा पनि बनोस् भन्ने मेरो अन्तस्करणमा रहेकै छ, तर यो अन्तर्वार्ता पढेपछि घरका सदस्यहरूसँग ‘झगडा’ पर्ने सम्भावना पनि उत्तिकै छ भन्ने बुझ्नुस् ।
० घर–परिवारले सिनेमा खेलेको मनपराउँदैनन् भन्न खोज्नुभएको हो ?
– मनै नपराउने भन्ने भन्दा पनि ‘कता–कता मात्र हात हालेको ?’ भन्ने प्रश्न तेस्र्याउँछन् भन्न खोजेको मैले ।
० धार्मिक क्रियाकलापमा तपाईंको संलग्नता उत्तिकै प्रशंसनीय छ । नेपाल हिन्दूराष्ट्र हुनुपर्छ भन्ने धारणाबाट तपाईं प्रेरित रहनुभएको अनुभूति गरिएको छ । नेपाल हिन्दूराष्ट्र बन्ने सम्भावना देख्नुहुन्छ कि हुन्न तपाईं ?
– हिन्दूराष्ट्र भनेको नेपालको सन्दर्भमा एउटा जीवनपद्धति नै हो । गहिरिएर हेर्दा–बुझ्दा यो संसारकै सबभन्दा पुरानो सनातन जीवनपद्धति भएको बुझिन्छ । यो परिप्रेक्ष्यमा भन्नुपर्दा नेपाल हिन्दूराष्ट्र रहँदा विश्वमै नेपालको एक विशिष्ट पहिचान थियो । देश हिन्दूराष्ट्र रहँदा यहाँ सबै धर्म–सम्प्रदायबीच आपसी सौहाद्र्रता पनि कायम थियो । यस्तो परिवेशमा कसरी अचानक मुलुकको विशिष्ट पहिचानलाई मेटाउने खालको निर्णय गरियो भन्ने कुरा मेरा लागि अहिले पनि खुल्दुलीकै विषय बनेको छ । मलाई लाग्छ कि यो विषयमा पुनर्विचार हुनैपर्छ ।
० तपाईं यतिबेला जुन पार्टीमा आबद्ध हुनुहुन्छ, त्यो पार्टीलाई यसबारे तपाईंले कन्भिन्स गर्न सक्नुभएको छैन भनी भन्न मिल्छ कि मिल्दैन ?
– मुलुकको परिस्थितिका आधारमा विगतमा दलहरूले आ–आफ्ना घोषणापत्र जारी गरेका छन् । त्यसरी जारी गरिएका मेनुफेस्टोका आधारमा दलहरूलाई अहिले बोल्न अप्ठ्यारो पर्न सक्छ । तर, व्यक्तिगत रूपमा कुरा गर्ने हो भने मेरो पार्टी मात्र नभई कम्युनिस्ट पार्टीका नेताहरूले समेत आज धर्मनिरपेक्षताको विषय अत्यन्त संवेदनशील भएकोले गम्भीरताका साथ सोचविचार गरेर मात्र निर्णय लिनुपर्छ भन्ने गरेका पाएको छु मैले । किनकि, मुलुक धर्मनिरपेक्ष घोषणा भएयता सामाजिक एकताको अवस्थामै परिवर्तन आएको अनुभूति मैले गरेको छु । विभिन्न धर्म–सम्प्रदायले आ–आफ्नै हिसाबले समाजलाई अगाडि बढाउन खोज्ने हो भने त आपसी सद्भाव खल्बलिएर सामाजिक व्यवस्था नै धरासयी हुन पुग्छ र देशको पनि अहित हुन्छ भन्ने मेरो मान्यता छ ।
० त्यसो भए संविधान बनेको दिन त्यसमा ‘हिन्दूराष्ट्र नेपाल’ लेखिने सम्भावना छ कि छैन होला, के लाग्छ तपाईंलाई ?
– अहिलेको राजनीतिक परिवेश जे–जस्तो देखिँदै छ, यसका आधारमा हेर्दा त संविधानमा ‘हिन्दूराष्ट्र’ लेखिएला भन्नेमा विश्वस्त हुन सकिन्न । तर, म पुनः दोहो-याएर भन्न चाहन्छु कि देशका हरेक पार्टी, कार्यकर्ता र जनताले यो विषयमा गम्भीरतापूर्वक विचार गरेर मात्र निर्णय लिनुपर्छ । धर्मनिरपेक्षता नेपाललाई सुहाउने कुरा हो भन्ने मलाई लाग्दैन ।
० तपाईंले कुनैबेला संसद्मा ‘पानी अभियान’को कुरा गर्नुभएको थियो, प्रस्ट्याइदिनुस् न के हो यो पानी–अभियान ?
– कुनै पनि मुलुकका पछाडि धेरै चुनौतीहरू हुन्छन् । सामाजिक कुरा गर्दा त्यसभित्रै हजारौँ चुनौती हुन्छन् भने आर्थिक विषयमा कुरा गर्दा त्यसभित्र पनि त्यस्तै चुनौती रहन्छन् । यस्ता सबै चुनौतीमाथि एक व्यक्तिले ध्यान पु-याउन सक्ने प्रश्नै रहँदैन । मेरो विशेष ध्यान पानीमा किन पुग्यो भने योसँग जोडिएर रहेका अनेक विषय छन् । पानीसम्बन्धी समस्याहरू हल हुँदा एकैचोटि समाज या देशका अनेक चुनौती निमिट्यान्न हुन सक्छन् । यो सोचेर मैले संसद्बाटै पानी–अभियानको कुरा गर्नुपरेको हो । विश्वपरिवेशमा नियाल्दा र सबभन्दा नजिकको छिमेकी देश भारतमै पनि मैले पानीका विवादबारे अनेक सन्दर्भ सुन्ने या बुझ्ने मौका पाएको छु । अन्तर्राष्ट्रिय जगत्मा ‘ओयल पोलिटिक्स’को कुरा निकै सुनिन्छ, यसैगरी ‘वाटर पोलिटिक्स’का कुरा पनि अब चर्कैसँग उठ्न सक्ने परिवेश निर्माण हुँदै गरेको मेरो बुझाइ छ । प्राणीजगत् र विशेषगरी मानव–जीवनका लागि पानी कति महत्वपूर्ण छ र यसका कति आयाम छन् भन्ने कुरा मैले बुझाइरहनै पर्दैन । पानी यस्तो महत्वपूर्ण कुरा रहेको र हाम्रो देशभित्र पानीको अपार स्रोत हुँदाहुँदै पनि त्यसलाई सही रूपमा सदुपयोग गर्न नसकिरहेको सन्दर्भमा पानीको उपयोगसम्बन्धी राज्यले विशेष नीति नै निर्माण गर्नुपर्छ भन्ने लागेर मैले पानी–अभियानको सन्दर्भ उठाएको हुँ ।
० संविधानसभाको कार्यकाल तीन वर्षजति अझै बाँकी छ । बाँकी अवधिमा संविधान निर्माण हुनेमा तपाईं कति विश्वस्त हुनुहुन्छ नि ?
– विश्वास त पक्कै छ । तर, यहाँनेर मैले के भन्नैपर्छ भने व्यक्तिगत रूपमा एक सभासद् हुनुको नाताले संविधान निर्माण कार्यमा आफूलाई लगाउनु कर्तव्य र दायित्व मेरो पनि हो । तथापि, ६ सय एक सभासद्को सामूहिक दायित्वको कुरालाई उपेक्षा र अवमूल्यन गर्दै सीमित दलविशेषका नेताविशेषबीच संविधान निर्माणको विषय समेटिन पुगेको छ, जसले गर्दा संविधान निर्माण कहिले होला भनी किटेर भन्न नसकिने अवस्था सिर्जना भएको छ ।
० यसको मतलब सीमित नेताहरूले संविधानसभा नै कब्जा गरेका छन्, होइन त ?
– कब्जा भन्ने शब्द प्रयोग गर्दा बढी नै नकारात्मकजस्तो लाग्न सक्छ । कुरो के भने प्रत्येक सभासद्को एक–एक सुनुवाइ हुनुपर्ने निकाय हो संविधानसभा, तर यस हिसाबबाट काम भएको छैन । सिङ्गो दलको प्रतिनिधित्व केही नेताहरूले गरेकाले सभासद्हरूको अवमूल्यन भएको छ ।
० संविधान बन्न नसक्नुको कारण दलीय नेतृत्वमा देखिएको समस्या मात्रै हो त त्यसो भए ?
– नेतृत्व वर्गमा दूरदर्शिताको कमी त हुँदै हो । यसमा धेरै कुरा जोडिएर आउँछन् । ‘जनयुद्धकाल’पछि संविधानसभासम्बन्धी जुन राजनीतिक समझदारी भयो, त्यसले संविधानसभा गठन गरायो । यसरी संविधानसभा किन गठन गर्नुप-यो त भन्ने मूल उद्देश्यलाई नै बिर्सने अवस्था निम्तिएकाले संविधान निर्माण प्रक्रिया नै खतरामा पर्न गएको हो । विगतमा संविधानसभा गठन गर्ने समझदारी किन भयो, त्यसबेला अब बन्ने संविधानमा के–के कुरा एड्रेस गर्ने सहमति भएको थियो, र अहिले किन त्यो सहमतिअनुसार काम हुन सकेको छैन ? प्रश्न यो छ । यस्तो अवस्थामा बन्ने संविधानको वास्तवमा औचित्य नै के रहन्छ र ? एक लाइनमा भन्नुपर्दा विगतका सहमति–समझदारी तोड्ने–तोडिने अवस्था पैदा हुनु नै संविधान बन्न नसक्नुको मूल कारण हो ।
० यसको मतलब दुईतिहाइ बहुमतबाट संविधान जारी गर्ने जुन प्रयास अहिले भइरहेको छ, यो ठीक होइन भन्नुहुन्छ तपाईं ?
– मलाई लाग्छ– संविधान भनेको सहमतिको दस्तावेज नै हो या हुनुपर्छ । संविधानमा सारा कुरा एक–एक मिहिन रूपले लेखिने त होइन, मूलभूत दिशा निर्देश गर्ने दस्तावेज मात्रै हो यो । यस्तो दस्तावेज हामी ६ सय एक सभासद् या कुनै वर्गविशेषका लागि मात्र निर्माण गर्ने नभई समस्त देशवासीका लागि बनाउने हो । समस्त देशवासी या देशलाई समेट्ने हो भने त्यो संविधानमा विगतमा भएका सहमझदारी समेटिनु आवश्यक छ । बहुमतको आधारमा मात्र संविधान बनाउने हो भने सम्पूर्ण जनता या सिङ्गो देशलाई संविधानले समेट्न सक्दैन । त्यस्तो संविधान दिगो पनि हुँदैन ।
० प्रसङ्ग बदलौँ, तपाईंले छोटै समयमा धेरै प्रकारका अनुभव हासिल गरिसक्नुभएको छ, उद्यमीको रूपमा सबभन्दा ठूलो समस्या के रहेछ र एउटा राजनीतिकर्मीका लागि ठूलो समस्या के रहेछ यो देशमा ?
– कुनै पनि देश समृद्ध बन्न उद्यम–व्यवसायलाई सहज वातावरण उपलब्ध हुनुपर्छ भन्ने तथ्यलाई राजनीतिक तह या राज्यले अनुभूत नै गर्न नसक्नु नेपालको सन्दर्भमा व्यावसायिक क्षेत्रको एउटा ठूलो समस्या हो । निजी क्षेत्र नै ‘ग्रोथ’को प्रमुख इञ्जिन हो भन्ने भाषण त सबैले गर्छन्, तर व्यवहारमा त्यो लागू गर्न नखोजेको आधारमा भन्नुपर्दा खोजिएको देखिन्न । अर्को कुरा निजी क्षेत्र भन्नेबित्तिकै यहाँ केही उद्योगी या केही व्यवसायी मात्र ठानिन्छ जस्तो मलाई लागिरहेको छ । तर, एकजना किसानले आफ्नो खेतमा फसल उत्पादन गर्छ र त्यो बजारमा लैजान्छ । यस्तै आ–आफ्नो क्षेत्र हुन्छन् । यस हिसाबमा मलाई त लाग्छ– सिङ्गै देश नै निजी क्षेत्र हो । किसान पनि निजी क्षेत्र हो र उद्यमी–व्यवसायी पनि । यहाँ त निजी क्षेत्रको व्यापकतालाई नै सङ्कुचित बनाएर बुझ्ने गल्ती गरिएको छ । निजी क्षेत्रको परिभाषा नै अपूरो छ यहाँ । यस्तै, राजनीतिकर्मीको समस्या मैले व्यक्तिगत रूपमा भन्नुपर्दा आज देशका समस्त नागरिकमध्ये राजनीतिमा सक्रिय रूपले चासो राख्ने या संलग्न हुनेको सङ्ख्या जम्माजम्मी पाँच प्रतिशत मात्रै छ भन्ने मेरो ठहर छ । यसरी पाँच प्रतिशत मानिसले ९५ प्रतिशतलाई काबुमा राख्ने जुन क्रियाकलाप छ, यो अत्यन्त दुःखद् पक्ष हो । यहाँनेर अब भन्नैपर्ने हुन्छ कि राजनीतिकर्मीमा दूरदर्शिता र दृष्टिकोणको कमी छ, यही नै राजनीतिकर्मीका लागि आफैँमा एउटा समस्या बनेको छ ।