आज अर्थात फागुन १ गते तत्कालीन विद्रोही नेकपा माओवादीले सशस्त्र विद्रोह थालेको दिन । विभिन्न पार्टीमा विभाजित नेपालका माओवादीले विभिन्न कार्यक्रम गरी २४ औँ जनयुद्ध दिवस मनाउँदै छन् ।
तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज २४ औँ जनयुद्ध दिवस भव्यताका साथ मनाउने तयारी गरेको छ । तर, यसपटक कार्यक्रमको नाम परिवर्तन गरेर ‘जनआन्दोलन तथा जनयुद्धका शहीदहरुप्रति श्रद्धाञ्जली’ राखिएको छ । तत्कालीन नेकपा (माओवादी)ले फागुन १ गतेबाट सुरु गरेको जनयुद्धको स्मृतिमा जनयुद्ध दिवस मनाउँदै आएको थियो । माओवादी केन्द्र र नेकपा एमालेबीच एकतापछि सामूहिक रूपमा जनयुद्ध दिवस मनाउन लागेको हो । नेकपाको मुख्यालय धुम्बाराहीमा यस वर्ष जनयुद्ध दिवस मनाइने छ ।
तत्कालीन माओवादीका सर्वोच्च कमाण्डर रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुन् । उनकै पहलमा नेकपाले जनयुद्ध दिवसलाई पार्टी्भित्र मनाउने तयारी गरेको हो । ‘२०७५ फागुन १ गते केन्द्र, प्रदेश र जिल्ला पार्टी कार्यालयहरूमा जनआन्दोलन तथा जनयुद्धका शहीदहरूको सम्मानमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने निर्णय भएको छ ।

अहिले विहान १० बजे धुम्बाराहीमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको । कार्यक्रममा अध्यक्ष प्रचण्ड सहभागी हुदैछन् भने अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने आजको कार्यक्रममा सहभागी नहुने बुझिएको छ । प्रधानमन्त्री ओली रोजागर कार्यक्रममा जानुपर्ने भएकाले पार्टी कार्यालयमा उपस्थित हुन नसक्ने जानकारी गराएको नेकपाले जनाएको छ । यसअघि कार्यक्रममा पार्टीका दुवै अध्यक्षहरू प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी बताइएको थियो ।
२०५२ साल फागुन १ गतेदेखि तत्कालीन माओवादीले जनयुद्ध घोषणा गरेको थियो । तत्कालीन विद्रोही नेकपा माओवादीले संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा आक्रमण गरेर नेपालमा सशस्त्र विद्रोहको सुरुवात गरेको थियो ।
२०६३ साल मंसीर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि सशस्त्र विद्रोह औपचारिक रूपमा अन्त्य भएको थियो । सशस्त्र विद्रोह सुरु भएको दिनलाई माओवादीले जनयुद्ध दिवसका रूपमा मनाउँदै आएको छ । शान्ति प्रक्रियामा आएपछि माओवादी पार्टी विभाजन भएर विभिन्न पार्टी बनेका छन् । विभिन्न पार्टी र समूहमा विभाजित माओवादी पार्टीहरूले आज विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाउँदै छन् ।
प्रतिक्रिया