नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि चिनियाँ राजदूत होउ यानछीले बुधबार खनालनिवास डल्लुमा शिष्टाचार भेटवार्ता गरेकी छिन् ।
भेटका अवसरमा नेता खनालले नेपाल आर्थिक विकास र सामाजिक रूपान्तरणको नयाँ युगमा प्रवेश गरेको कुरामा जोड दिँदै नेपाल र चीनबीच परापूर्वकालदेखि नै रहेको सम्बन्ध र आपसमा सहयोग हुँदै आएको अवगत गराए । उनले आगामी दिनमा चीन सरकार र जनताको तर्फबाट नेपालको समृद्धि र विकासको लागि अझ फराकिलो दायरामा सहयोग प्राप्त हुने कुरामा आफू विश्वस्त रहेको धारणा व्यक्त गरे ।
नेता खनालले नेपाल एक चीन नीतिमा दृढ रहेको र यो भूमिलाई कुनै पनि चीनविरोधी क्रियाकलापमा प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।
राजदूत यानछीले आफ्नो कार्यकालमा सहयोगको अपेक्षा गर्दै नेपाल–चीन सम्बन्धलाई थप उचाइमा पुऱ्याउन तथा द्विपक्षीय सहयोग अभिवृद्धिमा सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
प्रतिक्रिया