जिउँदो-जाग्दो कविता र महेश -दीपकमणी ‘दाजुभाइ’

जिउँदो-जाग्दो कविता र महेश -दीपकमणी ‘दाजुभाइ’


कविता उसको साथी हो ।
त्यसो त ऊ जन्मिएकै कविताका लागि हो ।
उसको जीवनमा कविता सबभन्दा ठूलो आधार बनेको छ । उसको कविता कर्म ऊ जिउँदोजाग्दो हुनुको प्रमाण पनि हो ।
सहरमा अक्सर ठाँटिएर हिँड्ने ऊ कवितामा अझ व्यवस्थित छ । उसले लगाइहिँड्ने आइरनले तिखारिएको धारयुक्त कपडाभन्दा पनि सौन्दर्यशाली छन् उसका कविता । चाहिँदो शब्द र मिलेको वाक्य विन्न्यासले उसका कविता उसको पहिरनभन्दा सुन्दर र चिटिक्क लाग्छन् । कुरा त्यति मात्र होइन, उसको कवितामा आउने प्रेम, जीवन र सपना, तमाम मानिसको विशिष्ट प्रेम, जीवन र सपना नै हो । उसलाई के थाहा छ भने मानिससँग दु:ख छ । र, यो दु:खबाट पार पाउन सकिँदैन । दु:खलाई भुल्न सकिन्छ पार पाउन सकिँदैन । उसको कविता-कर्म यही दर्शनको प्राप्ति हो । सुखउन्मुख मानिसका दु:खलाई उसले कवितामा प्रयोग गरेको छ । जसले गर्दा कविता जिउँदोजाग्दो लाग्छ ।
ऊ अर्थात् महेश रेग्मी । नेपाली कविताको एउटा सबल नाम । महेशप्रतिको हाम्रो आकर्षण भनेकै उसको कविता हो । कवितालाई गम्भीर साथी बनाएर हिँडिरहेको महेश कविताका खातिर नै जीवन बाँचिरहेछ । कहिलेकाहीँ त हामीलाई यस्तो लाग्छ, कविता नभएको भए महेश के जिउन सक्थ्यो होला ? यो प्रश्न हामीले उसलाई सोधेका छैनौँ तर अक्सर आफैंसँग भने हामी पटक-पटक सोधिरहन्छौँ ।
आजको ससन्दर्भ हो, महेश रेग्मीको नयाँ कवितासङ्ग्रह आज तिमीलाई सझिँदा । आज हामी महेशलाई सम्झिरहेछौँ । ठाँटिएर बौद्धिक प्रेम कविता सुनाई हिँड्ने महेश हामीलाई कसोकसो प्रिय लाग्छ । उसको प्रत्येक कविता पढ्दै जाँदा प्रत्येक कविताको आरम्भमा महेश उपस्थित हुन्छ । कविताको मध्यमा उसको दु:ख समुद्रको पानीजस्तो टल्किँदै जान्छ र कविताको अन्तमा त्यो कविता महेशबाट आममानिसमा रूपान्तरित भइसक्छ । हामीलाई लाग्छ, महेशको कविताकर्मको सफलता पनि यही हो ।
अझ महेशका कवितामा रहेको बौद्धिक रोमान्स हामीलाई मन पर्ने कुरा हो । महेश मूलत: रोमान्सेली कवि हो । उसको कवितामा रोमान्सगत तरलता भेटिन्छ । महत्त्वपूर्ण कुरा, महेशको रोमान्स संयोग होइन वियोग हो । वियोग, विछोड र व्यथाका मर्मान्तक भावना महेशका अक्सर कवितामा बौद्धिक लेप र प्रेमिक सन्तुलनका साथ व्यक्त भएका छन् । रोमान्सेली कवितामा बौद्धिक लेप लगाउन महेश खप्पिस छ । त्यही भएर पनि उसका कविता प्रेमका कविता बनेका छन् । शक्तिशाली प्रेमका कविता । महेशका कविता मायाप्रीतिका रुन्चे नाटक होइन । प्रेमको अब्बल कविता हो । प्रेमका मर्मस्पर्शी उद्गार हो महेशका कविता ।
मेरा लागि ऊ अन्तरिम सम्बन्ध बन्छे
र मेरा अङ्गहरूको विघटन गर्न खोज्छे
जसरी यो गुण्डा सहर
मेरो जिब्रो थुत्न खोज्छ
खोज्न खोज्छ मेरो वीर्य
ए मेरो अन्तिम स्त्री,
म अन्तिम नायक हुन चाहन्न ।
-पेज नं. ८७ (मेरी अन्तिम स्त्री)
महेश कवितामा इमानदार छ । प्रेममा ऊ इमानदार छ हामी भन्न सक्दैनौँ । तर, कवितामा उसले लिएर आएको प्रेममा ऊ इमानदार छ । कवितामा उसले उठाएको सम्बन्धमा ऊ इमानदार छ । कवितामा उसले देखेको सपनाप्रति ऊ इमानदार छ । र, कवितामा उसले खोजेको आकाशप्रति ऊ इमानदार छ । उसका कविता उसको जीवनबाट सुरु भएका छन् । तर, सबैको जीवनको प्रतिविम्ब बनेको छ । महेश दु:खलाई दु:खकै रूपमा बुझ्ने कवि हो । दु:खलाई त्याग्न सकिँदैन भन्ने दर्शनबाट ऊ दीक्षित छ । त्यही भएर पनि दु:खलाई गहना बनाएर ऊ कवितामा रमाउँछ । दु:ख महेशको कविताको सौन्दर्य पनि हो । महेशका कविताबाट दु:खलाई हटाइदियो भने कविताको सौन्दर्य मर्छ । महेशको काव्य दु:खहरूको भर्‍याङ चढ्दै मानव ढुकढुकीमा समाहित हुन्छ । उसका कविता अत्यन्त फ्रेस र मौलिक छ । ऊ पुराना विम्बहरूबाट जोगिएको छ । आफ्नैपनको विम्ब र मिथकका बीच उसले शक्तिशाली कविता लेखेको छ । तर, महेशको कवितामा एउटा खालीपन सदैव विद्यमान रहन्छ । त्यो खालीपन मनसँग जोडिएको छ । त्यो रिक्तता प्रेमको पनि हुनसक्छ, सपनाको पनि हुनसक्छ र मीठो साथको पनि हुन्ासक्छ ।
महेशको कविताको अर्को सबल पक्ष भनेको राज्यसँगको विद्रोह नै हो । ऊ अक्सर कवितामा राज्यको विरोध गर्छ । उसलाई थाहा छ- यो राज्यले कसैलाई केही दिँदैन । आफ्ना सामान्य जिम्मेवारीहरू पनि पूरा नगर्ने सरकार र गुण्डामा केही फरक छैन । सरकारमा बस्नेहरूमा भन्दा बजारमा भेटिने वेश्यामा बढी इमानदारी छ भन्ने महेशले बुझेको छ । त्यही भएर पनि ऊ कवितामा राज्यविरुद्ध खनिएको हो । राज्यविरुद्धको उसको यो आक्रोश स्वाभाविक छ । ऊ राज्यबाट केही मागिरहेको छैन । मात्र राज्यलाई उत्तरदायी हुन आह्वान गरिरहेछ ।
नेपाल सरकार
म थानकोट काट्न सक्दिनँ
थानकोटबाहिर मेरा सपनाहरू बरि्जत छन् । (पेज नं. ७७ )नेपाल सरकार)
किन यो देश युवालाई भड्काइरहेछ ? उसको कविताको चिन्ता यति हो । राज्य नै बफादार नभएको यो समयमा कस-कसको वफादारी खोज्ने, ऊ हैरान छ । सत्तामा बस्नेहरू नै बेइमान भएको बेला को-कोबाट इमानदारी खोज्ने, ऊ अन्योलमा छ ।
महेश भन्छ, ‘आफुले बाँचेको समाज, यसको परिवेशसँग प्रतिक्रिया गर्दा एउटा दृष्टिकोण बन्छ र लेखनलाई बल प्रदान गर्छ । समयसँग संवाद र जीवनसँग प्रतिक्रिया मेरो कविता लेखनको उद्देश्य हो । अहिले म भत्केका सपनाको अवशेष वरिपरि छु । म आशावादी मान्छे, कसैलाई परास्त गर्न भनेर हिँड्दिनँ । म शत्रुलाई पनि प्रेम गर्छु, ‘
नभएको भए कविता-
के महेश रेग्मी अहिले यसरी बाँचिरहेको हुन्थ्यो ?