शोक मनाउन पाँचथरका सबै स्थानीय तहमा बिदा

शोक मनाउन पाँचथरका सबै स्थानीय तहमा बिदा


पाँचथरको फाल्गुनन्द गाउँपालिकाका प्रमुख अमरकुमार नेम्वाङको निधनमा शोक मनाउन बुधबार पाँचथरका सबै स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।

जिल्लाका सात गाउँपालिका र एक नगरपालिकाले सार्वजनिक बिदा दिएका हुन् । उनको निधनमा जिल्लाका फालेलुङ, याङवरक, हिलिहाङ, फाल्गुनन्द, कुम्मायक, तुम्बेवा र मिक्लाजुङ गाउँपालिका तथा फिदिम नगरपालिकाले सार्वजनिक बिदा दिने घोषणा गरेका हुन् । नेम्वाङको निधनले जिल्लालाई अपूरणीय क्षति पुगेका कारण शोक मनाउन बिदा दिने निर्णय गरिएको हिलिहाङ गाउँपालिकाका प्रमुख भुवानीप्रसाद लिङदेनले जानकारी दिए ।

गत शनिबार फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपमा आयोजित कार्यक्रममा सम्बोधन गरेलगत्तै बेहोस भई ढलेका प्रमुख नेम्वाङको उपचारका लागि इलाम जिल्ला अस्पताल लैजाने क्रममा निधन भएको थियो । नेम्वाङको आजै अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।