गत अगस्टमा अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई हटाउन आन्दोलन गरेको समूहले बङ्गलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनलाई राजीनामा दिन दबाब परेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
‘छुप्पु’ भनेर चिनिने ७४ वर्षीय शहाबुद्दीन सन् २०२३ मा अपदस्थ पूर्वप्रधानमन्त्री हसिनाको अवामी लिगको बहुमत रहेको संसद्बाट निर्वाचित भएका थिए । यो पद संवैधानिक भएपनि उनको पदबाट हट्ने सम्भावनाले संवैधानिक शून्यताको डर पैदा गरेको छ ।
‘राष्ट्रपतिलाई हटाउनेबारे कुनै पनि निर्णय राजनीतिक सहमतिका आधारमा हुनेछ’, हसिनाको भारत पलायनसँगै घोषणा भएको राजिनामापछि बनेको अन्तरिम सरकारका प्रेस सल्लाहकार शफिकुल आलमले सोमबार भनेका छन् ।
अन्तरिम सरकारको नेतृत्व नोबेल शान्ति पुरस्कारविजेता मोहम्मद युनुसले ‘मुख्य सल्लाहकार’का रूपमा गरिरहेका छन् । सरकारका प्रवक्ता सैयदा रिजवाना हसनले शहाबुद्दीनलाई हटाउने विषयमा छलफल भइरहेको बताएका छन् ।
हसनले आइतबार पत्रकारहरूसँग भने, ‘क्रान्तिपछि बनेको सरकारले फासीवादी सरकारले छानेको राष्ट्रपतिलाई कायम राख्ने कि नराख्ने भन्ने विषयमा विचार गर्नुपर्छ।’
‘उहाँलाई हटाउनुपर्ने माग आन्दोलनको भावनासँग मेल नखाने दाबीका आधारमा आएको हो’- उनले भने । यसै महिनाको सुरुमा शहाबुद्दीनले हसिनाको राजीनामा पत्र आफूले कहिल्यै नदेखेको बताएपछि चर्को विरोध भएको थियो ।
गत हप्ता राष्ट्रपति भवनपरिसरमा आक्रमण गर्न खोज्ने सयौंको भीडसँग प्रहरीबीच झडप हुँदा ३० जना अधिकारी र प्रदर्शनकारी घाइते भएका थिए ।
प्रतिक्रिया