फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ११६ पुग्यो, ३९ अझै बेपत्ता

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ११६ पुग्यो, ३९ अझै बेपत्ता


गत हप्ता फिलिपिन्समा आएको ट्रामी नाम दिइएको आँधीले निम्त्याएको बाढी तथा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ११६ जना पुगेको छ । आँधीका कारण ३९ जना अझै बेपत्ता रहेको फिलिपिन्सको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन परिषद्ले जनाएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार ट्रामीले फिलिपिन्सका १७ वटा क्षेत्रमा ६७ लाखभन्दा बढी मानिसहरूलाई प्रभावित बनाएको छभने अझै बाढी पहिरोका प्रभावितहरूको खोजी कार्य जारी रहेको छ ।

यस वर्ष फिलिपिन्समा आएका चक्रवातमध्ये ट्रामी ११ औँ चक्रवात हो र यसले विशेष गरी बिकोल, क्यालाबारजोन र मध्य तथा दक्षिणी फिलिपिन्सका क्षेत्रहरूमा तुलनात्मक रुपमा बढी क्षति गरेको भएपनि फिलिपिन्सभरि प्रभाव पारेको थियो । आँधीसँगै आएको बाढीले राजमार्ग, पुललगायतका संरचना ध्वस्त पारी यातायात अवरुद्ध भएको छ ।

शुक्रबार ट्रामी फिलिपिन्सबाट बाहिरिए पनि पीडितहरू अझै खाना, पानीलगायतका आधारभुत आवश्यकता आपुर्तिको पर्खाइमा रहेका छन् । शनिबारदेखि बाढीपहिरोको प्रवाव कम भएपछि केही पीडितहरू आफ्नो घर फर्कन थालेका छन् ।

यद्यपि, परिषद्ले करिब दश लाख विस्थापितहरू अझै पनि निकासी केन्द्रमा वा आफन्तहरूसँग बसिरहेको जनाएको छ ।

चक्रवात ट्रामीले पूर्वाधारमा अनुमानित क्षति २६.३५ मिलियन अमेरिकी डलर तथा कृषिमा ४३ मिलियन अमेरिकी डलर बराबरको क्षति पुगेको जनाइएको छ ।

फिलिपिन्सले अर्को उष्णकटिबन्धीय चक्रवात, कङरेको सामनाको तयारी गरिरहेको छ, जुन लुजन टापुबाट ७५५ किलोमिटर पूर्वमा फिलिपिन्स सागरमा सोमबार बिहान अवतरण भएको छ । यो चक्रवात पनि तीव्र गतिसहित आउने हुँदा विनासकारी बन्नसक्ने मौसम विभागले चेतावनी दिएको छ ।