१७ वर्षपछि हात लाग्दै जग्गाधनी प्रमाणपुर्जा

१७ वर्षपछि हात लाग्दै जग्गाधनी प्रमाणपुर्जा


  • मुक्तिनाथ भुसाल, अर्घाखाँची

दशवर्षे माओवादी द्वन्द्वका कारण भूमि लगतमा पुगेको क्षति तथा सो क्षेत्रको नापजाँच गरी पुनस्र्थापना गर्नेसम्बन्धी निर्देशिका २०७१ जारी भएपश्चात् अर्घाखाँचीमा नापजाँचले तीव्रता लिएको छ । माओवादी द्वन्द्वकालमा भूमि लगत जलेर नष्ट भएपछि अर्घाखाँची नक्साविहीन बन्दा बैंकिङ कारोबारको अलावा यकिन जमिन कति हो भन्ने विषय अन्योलमा परेको सर्वविदित नै विषय हो । तथापि, विभिन्न समस्याका बाबजुद विशेष नापी कार्यालय अर्घाखाँचीले गरेको मिहिनेतस्वरूप १७ वर्षपश्चात् राज्य एवम् पीडित स्थानीय बासिन्दाले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गर्न लागेका छन् ।

जिल्लामा रहेका ६१ वटा वडामध्ये यो समाचार तयार पार्दासम्म २२ वटा वडाका स्थानीयवासीले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरिसकेका छन् । विशेष नापी प्रमुख खिम रानाका अनुसार थप ४ वटा वडाको पनि नापजाँच सम्पन्न भइसकेको कारण एक महिनाभित्रै पुर्जा वितरण हुने बुझिएको छ ।

यसअनुसार जिल्लाको पाणिनी गाउँपालिकाको वडा नम्बर ३, ४, ५, ६, ७ र ८ मा नापजाँच सम्पन्न भइसकेको छ । यसैगरी मालारानी गाउँपालिका १ र २ अनि छत्रदेव गाउँपालिकाको वडा नम्बर ३ र ८ मा नापजाँच पूरा भएको बुझिएको छ । जिल्लाको शीतगंगा नगरपालिकाको वडा नम्बर ७, ८, ९, १०, ११, १३ र १४ अनि भूमिकास्थान नगरपालिकाको वडा नम्बर १, ५, ७, ८, ९, १० र १२ मा समेत विशेष नापीले फिल्डबाट गर्नुपर्ने कार्य पूरा गरिसकेको छ । सन्धिखर्क नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ७ र १२ मा पनि नापजाँच सम्पन्न भएको विशेष नापी प्रमुख रानाबाट बुझिएको छ । नापजाँच समाप्त भएका क्षेत्रहरूमा तयार पारिएको सरकारी तथा सार्वजनिक जमिनका पुर्जाहरू विशेष नापीले विधिवत् कार्यक्रममार्फत आफूहरूलाई दिने गरेको र सरकारी तथा सार्वजनिक जमिनको रक्षाका लागि आफू कटिबद्ध रहेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको भनाइ छ । प्रजिअ लामिछाने सुशासनलाई आफ्नो मूलमन्त्र ठानी दैनिक कार्यसम्पादनमा सक्रियता दर्शाउँदै आएका राष्ट्रसेवकको रूपमा चिनिन्छन् ।

यसरी फिल्डमा नापजाँच सम्पन्न भएपछि विविध समस्याका बाबजुत दर्ता हुन नसकेका जमिनका लागि विशेष नापीले थप १ सय २० दिनको अवसर दिएको र उक्त समयपश्चात् जिल्ला नापी तथा मालपोत कार्यालयलाई सम्पूर्ण श्रेस्ता हस्तान्तरण गर्ने गरेको सहायक क्याम्प प्रमुख कविसिंह कठायतले बताएका छन् । यसै प्रसङ्गमा केन्द्रित भई नेपाल सरकारको पूर्ण स्वामित्वमा सञ्चालित राष्ट्रिय वाणिज्य बैंक सन्धिखर्क शाखाका प्रबन्धक गोपालप्रसाद न्यौपानेसँग नापजाँच सम्पन्न भएका जमिनहरूमा लगानी गर्न कत्तिको सहज भएको छ भनी जिज्ञासा राख्दा हालसाबिक नहुँदासम्म आफूहरूलाई ठूलै चुनौती रहेको जवाफ दिए ।

उता जिल्ला मालपोत कार्यालय अर्घाखाँचीले बैंकिङ प्रयोजनमा प्रयोग गरिएका जमिनहरूको हालसाबिक गर्दा सम्पूर्ण ऋण चुक्ता गरी सम्बन्धित बैंकको पत्रसहित जमिन फुकुवा गर्नुपर्ने सर्तलाई आफनो धर्म बनाएको कारण सेवाग्राहीहरू मर्कामा परेको भुक्तभोगी रामबहादुर सुनारको गुनासो रहेको छ । हालसाबिक गर्दा मालपोतले कुनै झमेला नदिई हालसाबिक गरी पुनः रोक्का गरिदिए हुने थियो भन्ने उनले गुनासो गरे ।

पछिल्लो समय विशेष नापी कार्यालयले सन्धिखर्क नगरपालिका वडा नम्बर ३ मा एक कार्यक्रमको आयोजना गरी जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि तथा नगरप्रमुख कमलप्रसाद भुसालले विशेष नापी परिवारको मिहिनेतलाई प्रशंसा गर्दै व्यावसायिक कृषि पेसामा लाग्न स्थानीयलाई आग्रह गर्दै आवश्यकीय सहयोगमा आफूबाट कुनै कन्जुस्याइँ नहुने बताए । विशेष नापीका निमित्त इकाइ प्रमुख धर्मराज अधिकारीको सञ्चालन, वडाध्यक्ष लीलाराम गौतमको स्वागत मनतव्यमा सम्पन्न उक्त कार्यक्रमलाई नगरउपप्रमुख ठाकुरकुमार विक अनि प्रजिअ प्रेमलाल लामिछानेसहित जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिलगायतले खुलेर विशेष नापी कार्यालय अर्घाखाँचीको मिहिनेतको प्रशंसा गरेका थिए ।