अर्थ मन्त्रालयका २० कर्मचारीलाई भारतमा तालिम

अर्थ मन्त्रालयका २० कर्मचारीलाई भारतमा तालिम


भारतको विदेश मामला मन्त्रालयको ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’अन्तर्गत नेपालको अर्थ मन्त्रालयका २० कर्मचारीको दोस्रो टोली सहभागी ‘इन्स्टिच्युट अफ गभर्मेन्ट अकाउन्ट्स एन्ड फाइनान्स’ तालिम गत सोमबार (२८ माघ)देखि भारतमा शुरु भएको छ । कुल ६२ कर्मचारीलाई प्रदान गरिने उक्त तालिम १० दिनसम्म सञ्चालन हुने काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।

तालिमले विद्युतीय भुक्तानी प्रणाली, लेखाविधि तथा रकम व्यवस्थापन, सार्वजनिक ऋण प्रणाली, वैदेशिक ऋण÷अनुदान तथा प्रतिदानको लेखाविधि, पेन्सन भुक्तानी प्रणाली, आन्तरिक लेखापरीक्षण, आर्थिक जिम्मेवारी तथा बजेट व्यवस्थापन आदि विषयमा चलिरहेको विश्वव्यापी अभ्यासबारे क्षमता अभिवृद्धि गर्ने बताइएको छ । प्रथम समूहका २० नेपाली कर्मचारीले केही साताअघि १० दिने तालिम सम्पन्न गरेका थिए ।

यसैबीच भारतका लागि नवनियुक्त राजदूत नीलाम्बर आचार्यले नेपाल र भारत सम्बन्धलाई सुमधुर बनाउने बताएका छन् । राजदूत आचार्यलाई बधाई दिन आचार्यबन्धु समाज नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले आफू भारत गएर द्विपक्षीय सम्बन्ध थप प्रगाढ बनाउँदै नेपालको व्यापार घाटा कम गर्न प्रयास गर्ने प्रतिबद्धता जनाए ।
सो अवसरमा चीनका लागि नेपालका पूर्वराजदूत राजेश्वर आचार्य, उद्योगपति कृष्ण आचार्य, संसद्का पूर्वसचिव मुकुन्द आचार्यले आचार्य समाजका अग्रज व्यक्तित्व राजदूतजस्तो गरिमामय पदमा पुगेकोमा बधाई दिए । मुलुकले भारतका लागि नेपाली राजदूत कूटनीतिक क्षेत्रमा राम्रो दख्खल भएको व्यक्ति पाएको धारणासहित समाजका अध्यक्ष भानुप्रसाद आचार्यले नवनियुक्त राजदूतले नेपाल र भारतको सम्बन्धलाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गरे ।