अक्षम मन्त्रीमा को अगाडि ?

अक्षम मन्त्रीमा को अगाडि ?


सरकारले वर्ष दिन पूरा गरेसँगै मन्त्री फेरबदलको चर्चा पनि शुरु भएको छ । ओली सरकार भ्रष्टाचार, बलात्कारलगायत प्रकरणमा मुछिएर विवादित बनेको अवस्थामा प्रधानमन्त्री ओलीले मन्त्रीहरू फेरबदल गर्न लागेको विषयले यतिबेला चर्चा पाएको हो ।

केही मन्त्रीलाई बिदा र केहीलाई सरुवा गर्ने योजना बनाउँदै गरेका प्रधानमन्त्री ओलीले आपूmले पाएको जिम्मेवारीअनुरूप काम गर्न नसक्ने र सरकारलाई विवादित तुल्याउने मन्त्रीलाई पदबाट बिदा दिन चाँडै मन्त्रिमण्डलको पुनर्गठन गर्न लागेको बताइन्छ ।

कुन–कुन मन्त्रीलाई हटाउन लागिएको हो त्यो अहिलेसम्म गोप्य राखिए पनि हटाइनेमध्ये प्राथमिकतामा परेका चार–पाँच मन्त्रीमा युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), रवीन्द्र अधिकारी, मातृका यादव, लालबाबु पण्डितलगायत परेको बुझिएको छ । यस विषयमा अहिले सिंहदरबारदेखि बालुवाटारसम्म गाइँगुइँ चलेको छ ।

बालुवाटार सूत्रका अनुसार प्रधानमन्त्री ओली खेलकुदमन्त्री सुनारको कार्यशैलीप्रति खासै सन्तुष्ट रहेका छैनन् । नेपाल ओलम्पिक कमिटीको विवाद सुल्झाउन नसक्नु, राष्ट्रिय खेल संघ विवादरहित बनाउनु नसक्नु, खेलकुद विकास ऐन जारी गर्न नसक्नु, आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तोक्न नसक्नु, नेपालमा आयोजना हुने भनिएको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताबारका कुनै किसिमको पहल नगर्नु, राष्ट्रिय खेलकुद परिषदसँग समन्वय गर्नुभन्दा गुटको राजनीति गर्नु र खालि उद्घाटन र समापन कार्यमा मात्रै सीमित हुनुले सुनार बिदा पाउने मन्त्रीमा अग्रपंक्तिमा परेको सूत्रको दाबी छ ।